विन्ध्यवासिनीमा चैत १० गतेबाट राधिका दासीबाट प्रवचन « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

विन्ध्यवासिनीमा चैत १० गतेबाट राधिका दासीबाट प्रवचन


यलम्वर टाइम्स
७ चैत्र २०७९, मंगलवार ०७:०६

रातेखाल । यो वर्ष पनि विन्ध्यवासिनी सिंहदेवी मन्दिरमा सातौं धार्मिक अनुष्ठान हुने भएको छ ।

जलाशय भएको क्षेत्रमा विन्ध्यवासिनी सिंहदेवी मन्दिर भएको र प्राकृतिक दृष्टिकोणले पनि सुन्दर स्थान भएको कारण मन्दिरलाई पर्यटकीय क्षेत्रमा उभ्याउँदै यस क्षेत्रको विकासका लागि चैत १० गतेबाट अनुष्ठान हुन लागेको हो ।

मंगलबार मन्दिर परिषरमा पत्रकार सम्मेलन गर्दै आध्यात्मिक प्रवचनसँगै जीवन उपयोगी मार्ग निर्देशक गर्ने अभिप्रायले नेपालकै चर्चित प्रखर प्रवक्ता राधिका दासीको मुखाराबृन्दबाट श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुन लागिएको बताइएको छ ।

धाम अध्यक्ष मनोज जोशीका अनुसार विद्वान व्यक्तिहरुको अभिव्यक्तिबाट समाज रुपान्तरणमा मद्दत पुग्ने भएको हुँदा यो पटक चर्चित राधिका दासीको उपस्थिति रहने सँगै भक्तिमय संगीत कार्यक्रम समेत रहेको बताए ।

पुराणबाट संकलित रकमले धामको चौतर्फी विकाससँगै गरिब असहायहरुको स्वास्थ्य उपचारका लागि कोष खडा गरिने बताइएको छ ।

अरु अनुष्ठानभन्दा भिन्न तरिकाबाट सञ्चालन हुन लागेको पुराणमा विभिन्न समिति समेत गठन भएको जनाइएको छ ।

समितिले आर्थिक समितिमा चिरञ्जीवि शिवाकोटी, प्रचार समितिमा एकदेव खनाल, खाद्य व्यवस्थापन समितिमा गोपाल राउत, धान्याञ्चलमा दशरथ गौतम, पूजा सञ्चालन समितिमा नरमाया थापा, स्वागतमा मनोज जोशी र किर्तनमण्डलीमा प्रेम कार्की, स्वास्थ्यमा रोशन बस्नेत र सुरक्षामा समिर निरौला रहेका छन् ।

पत्रकार सम्मेलनमा अर्जुनधारा वडा नं. ४ का वडाध्यक्ष अम्बर कटुवाल, अर्जुनधाराका गुरु अग्नी सिग्देलले विन्ध्यवासिनीको विषयमा आफ्ना धारणा राखेका थिए भने कोषाध्यक्ष चिरञ्जीवि शिवाकोटीले पुराणको खर्च विवरणका विषयमा र समग्र व्यवस्थापनको विषयमा सचिव एकदेव खनालले राखेका थिए ।