[सन्तोष नेम्वाङ]
म लिम्बूको छोरा । मेरो धर्म किरात हो । सनातनी हिन्दू धर्म जस्तै हामी किरातीहरुको पनि आफ्नै धर्म छ, संस्कार छ । त्यही अनुरुप जन्म संस्कारको आफ्नै प्रकृया छ भने मृत्यु संस्कारमा पनि आफ्नै संस्कार छ । हुन सक्छ भौगोलिक स्थिति अनुसार केही केही ठाउँमा संस्कारमा तलमाथि होला तर मेरो पूर्खाले गर्दै आएको संस्कार र मैले जानको संस्कार यतिका समयसम्म कायम नै रहेको छ । समयको परिवर्तनसँगै मृत्यु संस्कारमा गरिने नियमहरु परिस्कृत गर्दै लैजाँदा धेरै मात्रामा परिवर्तन हुँदै जाँदैछ । कतै खर्चको मितव्ययीताको कारण र सभ्य समाजको परिकल्पनाको कारणले पनि यो परिवर्तन आवश्यक रहेको छ ।
उदाहरण मेरो परिवारबाट पनि लिन सकिन्छ । २०३६ सालताका मेरी आमाको स्वर्गवास भयो । मलाई आज पनि स्मरण छ, नारायण चोकबाट केही उत्तरमा एउटा ठूलो बाँसघारी थियो । नजिक भएको कारणले गाउँका किरातीहरुको त्यही नै अन्त्येष्टि हुन्थ्यो । तर आज आएर त्यस ठाउँमा विशाल चियाको कारखाना सञ्चालनमा आएको छ । त्यही ठाउँमा आमाको मृत देहलाई सदगद गरेर त्यही रहेको खोलामा नहाएर त्यही नै केश मुण्डन गरी सेतो कपडा बेरेर घरतर्फ फर्किएका थियौं र घरको एक कुनामा चोखो पारी राखिएको स्थानमा हामी कुरुवा बस्यौं ।
हामी किराती धर्म अनुसार लोग्ने मानिसको ४ दिनमा र महिलाको ३ दिनसम्म कुरुवा बार्ने चलन अनुसार अन्य मानिसलाई नछोइ आमाको स्मरणमा ३ दिनमा चोखिने कार्य गरियो । यसलाई लिम्बू भाषामा ‘फराक्लो’ भनिन्छ । त्यस दिन आफन्त, छरछिमेक लगायत फेदङ्वा ‘पूजारी’ ले पञ्चहरुलाई ‘अबबाट नुनतेल लगायत बाहिर गएर आफू गरीखान पाइन्छ कि पाइदैन ?’ भनेर प्रश्न गर्छन् र पञ्चले ‘हुन्छ, अबबाट फुकुवा भयो’ भन्ने उत्तर दिएपछि अदुवा खोर्सानी पकाएर ल्याएको एक–एक चोक्टा खाए पश्चात चोखिने कार्य समाप्त हुन्छ । र आफूले पहिरिएको सेतो कपडा खोलेर साधारण कपडा पहिरिए हुन्छ, तर सेतो टोपी चाही सुध्याईका दिनसम्म लगाइन्छ ।
यति भए पश्चात सुध्याईका लागि खर्च जोहो गर्न पर्याप्त समय मिल्थ्यो । परिवारजन आफन्तको अपसरी छलफलको परिणाम अनुसार गच्छेका आधारमाले सुध्याई कार्य तोकिन्छ । यदि आर्थिक कमजोर छ भने धेरै समय (१२ महिनासम्मको मिति) तोकिन्थ्यो । यदि आर्थिकले भ्याउँछ भने चाँडै पनि गर्न मिल्छ । त्यो सुध्याई कार्य आर्थिक अवस्था कमजोर भएका लागि फलामको चिउरा चपाए सरह हुन्थ्यो । कारण घ्याम्पाका घ्याम्पा जाँड, रक्सी अनि राँगा, सुँगुर खरीद गर्नुपर्ने हुँदा ऋणमा डुब्ने समेतको अवस्था आईलाग्थ्यो । यदाकदा खेतबारी पनि बन्दगी राख्ने बाध्यता आईलाग्थ्यो । यसरी सुध्याईको नाममा जीवनभर ऋणको भारी बोकेर बाँच्न बाध्य हुनुपर्ने रहेछ ।
सुध्याईको अघिल्लो दिन नै कुरुवाहरुलाई नुहाउन लगाएर शुद्ध भई सेतो कपडा बेरेर टाँउकामा पनि सेतो कपडा बेरेर सफा कोठामा एकान्तवास राखिन्छ । सुध्याईको दिन घरको पूर्व पट्टि बाँसको टेका लागएर स्याउलोले छाएर ‘साम्दाखुम’ बनाइन्छ र दिनभर आफन्तले ल्याएको अनेकन खानेकुरा सबै चढाइन्छ । जब सुध्याईको कार्य सम्पन्न हुन्छ तब किरीयापुत्रीहरुको केश खौरिएर नयाँ कपडा टोपी लगाएर पाहुना समक्ष गएर सबैलाई ढोगभेटको कर्म गरिन्छ । तत्पश्चात सुध्याईको कर्म समाप्त हुन्छ । त्यसपछि निम्ता दिइएका कुटुम्ब, आफन्त, छरछिमेकहरुलाई सँुगुरको मासुभात, घ्याम्पाका घ्याम्पा जाँड छानेर बाँडिन्छ र अन्त्यमा रातभर फेदङ्वाहरुले आफ्नो कर्म गरे पश्चात मृतकको आत्मालाई स्वर्गको बास होस् भनि अन्तिम तिलाञ्जली दिइन्छ ।
यसरी एउटा मृत व्यक्तिको जीवनभरको सपना र उसको कर्मलाई शुद्ध साथ सुध्याई गरेर त्यो घर र घरका परिवारका अन्य सदस्यहरुबाट सदाका लागि बिदा गरिन्छ । तर अहिले त्यो बेलाको सुध्याईको खर्चमा कटौती भइसकेको छ । म याक्थुङ चुम्लुङ नगर समितिको उपाध्यक्ष भर जिम्मेवारी सम्हालेर नगरभित्रका सुध्याईमा उपस्थित भई ‘सरौ’ सहयोग जिम्मा दिँदाको दृश्य देख्दा त्यो समयको सुध्याईको खर्च र यो समयको सुध्याईको खर्चमा आकाश जमिनको अन्तर देखे । यो परिवर्तन आउनुको मुख्य कारण प्रायः हामी लिम्बूहरु ‘सत्यहाङमा’ धर्म अंगाल्नुको कारण नै हो जस्तो लाग्छ ।
तर यसमा पनि हामी लिम्बू समुदायमा अन्यौलको अवस्था आइरहेको देखिरहेको छु । केही ‘साम्दाखुम’ बनाएर ‘फेदाङ्वा’ फलाकी रहेको देखेको छु त कतै होमादी गर्दै चरु पोल्दै पवित्र सेतो पहिरनमा ‘सेवासावा’हरु मन्त्र पढ्दै गरेको देखेको छु । यतिमात्र कहाँ हो र, एउटै घरमा दुवै तरिकाले एउटा मृतकको सुध्याई भइरहेको पनि देखेको अवस्था छ । अर्को प्रसंग अन्त्येष्टि गरेर फर्केको दिन नै केश खौरेर सेतो कपडा बेरेर कसैसँग छुवाछुत नगरी एकान्तमा बस्ने परम्परालाई तोडेर आफूले दैनिकी लगाउने कपडा लगाएर अन्य मानिसको बीचमा कुराकानी गर्दै कुरुवा बसेको दुश्य पनि देखें । यो सबै देखेर मैले प्रश्न गरे, ‘के तरिका हो यो ?’ स्वभाविक नै हो प्रश्न गर्दा जवाफ प्राप्त हुन्छ । जवाफ आयो ‘यो सत्यहाङमा तरिका हो ।’
म आश्चर्य चकित भएँ । मैले सत्यहाङमाको ‘सेवासावा’हरुलाई देखेको छु । उहाँहरु सेतो वस्त्र अनि सेतै टोपी पहिरिनु हुन्छ । उहाँहरु कर्मकाण्डी गर्दा पनि शुद्ध र सादगी तरिकाले आफ्नो कर्म गर्नुहुन्छ । तर, उहाँकै अनुयायीको मृत्युमा यस्तो किन हेलचेक्रायी ? मेरो मथिङ्गलमा प्रश्नको ओइरो लाग्न थाल्यो । एउटा मृतकको आत्मालाई बिद ागर्न केही कष्ट सहेर चोखो मन र चोखोतन लगाएर कर्म गर्नुपर्नेमा लथालिङ्ग तरिकाले कुरुवा बसेको देख्दा साँच्चै मानिसले परिवर्तन चाहेको रहेछन् भन्ने निष्कर्ष निकाले । कुनै धर्म अंगाल्नु नौलो र नराम्रो होइन तर धर्म अंगाल्दा आफ्ना पूर्खाले मानिआएको संस्कार र परम्पराको ठीक विपरीत त गर्ने होइन नि ! होला पहिलो पुस्ताबाट मान्दै आएको संस्कारमा केही खराबी थियो तर, त्यसलाई परिष्कृत गर्दै नराम्रा पक्षलाई पन्छाउदै, राम्रा र नयाँलाई अंगाल्दै आफ्नो संस्कारलाई अगाडि डोहोर्याउनु पर्ने होइन र ? प्रत्येक शताब्दीमा कुनै नयाँ नयाँ धर्म प्रचारकको उदयसँगै त्यसको अनुयायी बन्दै आफ्नो पूर्खाको संस्कार मास्दै नयाँ नयाँ धर्म र त्यो धर्मको कर्म अंगाल्दै जाने हो भने एक दिन व्यक्तिको जात बिर्सेर नामको पछाडी लेखिने जात मात्र नरहला भन्न सकिन्न ।
परिवर्तन अनिवार्य हो । समयसँगै यो रीत अनवरत चलिरन्छ । तर परिवर्तनको अर्थ यो होइन कि कुनै दीवंगत आत्माको अपमान होस् । संस्कारसँगै इतिहास मेटियोस् । हामी सामाजिक प्राणी हौ । समाजको बीचमा पच्ने संस्कारलाई अंगाल्नुपर्छ मेरा यी शब्दहरु विरोधको रापमा सेकेर पोखिएको होइन । यो शब्दहरु अन्यौलताको उपज हो । मेरा लागि त्यो कार्य केही असहज लागेको थियो । मेरो अन्तरमनले त्यो दृश्य पचाउन धेरै गाह्रो मान्यो र समाजको सामुन्ने केही अन्यौलता प्रष्ट्याउने प्रयासमात्र गरेको हो । किनकी हामीले र हाम्रा सन्ततीहरुले अन्यौलतामा रुमल्लिएर संस्कार नअलमलियोस् । अनि उनीहरुले यो नसोचोस कि पूर्खाहरुले गर्दै आएको संस्कार गरौं या मैले देखेको जस्तो संस्कार गरौं ।