कलाकारहरुलाई सम्मान गर्दै अर्जुनधारामा उभौली साकेला समापन « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

कलाकारहरुलाई सम्मान गर्दै अर्जुनधारामा उभौली साकेला समापन


यलम्वर टाइम्स
१५ जेष्ठ २०८०, सोमबार ११:२०

अर्जुनधारा । किरात राई यायोक्खा अर्जुनधारा नगर समितिले आज सोमबार साकेला नाच टोलीका कलाकारहरुलाई सम्मान गर्दै यस वर्षको उभौली साकेला समापन गरेको छ ।

यायोक्खाले आफ्नै कार्यालयमा साकेलामा सहभागि कलाकारहरुलाई प्रशंसापत्रले सम्मान गर्दै यस वर्षको उभौली साकेला समापन गरेको हो ।

बैशाख पूर्णिमाबाट सुरु भएको साकेला नाचमा सहभागी बनेर राई जातिको संस्कार संस्कृति जर्गेना गर्न महत्वपूर्ण योगदान पुर्याएकाले उनीहरुलाई सम्मान गरिएको अध्यक्ष बिजय राईले बताए ।

कार्यक्रममा अतिथि किरात राई यायोक्खा दक्षिण कोरियाका सूचना विभाग प्रमुख अर्जुन साम्पाङ राईले आफ्नो संस्कार संस्कृति प्रतिको माया परदेशीएपछि मात्र थाहा हुने बताउँदै आफ्नो संस्कृति भूल्न नहुने बताए ।

उनले पूर्खाहरुले जोगाए ल्याएको संस्कार संस्कृतिप्रति चासो राख्दै दरपुस्ता हस्तान्तरण गर्दै जानुपर्ने बताए ।

सोही अवसरमा कोरिया सूचना विभाग प्रमुख राईले राई जातिको संस्कार संरक्षण, प्रवद्र्धनमा किरात राई यायोक्खा अर्जुनधाराको सक्रियता सदैव रहोस् भन्दै यायोक्खा सांस्कृतिक विभाग प्रमुख ढाकबहादुर राईलाई नगद रु. ५ हजार सहयोग प्रदान गरेका थिए ।

सांस्कृतिक विभाग प्रमुख ढाकबहादुर राईको संयोजन तथा यायोक्खा अध्यक्ष विजय राईको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला सदस्य मानबहादुर वान्तावा राई रहेका थिए भने सल्लाहकार भरतसिंह राई, मिश्राकुमारी राई, किरात राई पत्रकार संघ झापा अध्यक्ष राजन साम्पाङ लगायतको आतिथ्य रहेको थियो ।

सचिव सिंहबहादुर राईले सञ्चालन गरेको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष भुपा राईले गरेको सदस्य राज खम्बूले जानकारी दिए ।