अर्जुनधारामा सभामुखको बजेट विनियोजन « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

अर्जुनधारामा सभामुखको बजेट विनियोजन


यलम्वर टाइम्स
२८ जेष्ठ २०८०, आईतवार ११:३७

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन र यसै निर्वाचन क्षेत्रबाट निर्वाचित जनप्रतिनिधि तथा सभामुख देवराज घिमिरेको पहलमा नगर विकासका लागि संघीय सरकारबाट ७ करोड ८४ लाखको योजना छनौट भएको छ ।

अर्जुनधारा नगरपालिकाको समग्र विकासका लागि प्राप्त बजेटबाट २१ योजना सम्पन्न गर्ने नगरपालिकाका प्रेस संयोजक आकाश खतिवडाले जानकारी दिए । यो सुरुवाती योजना भएको र बाँकी योजनाहरु पनि क्रमशः आउने सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिए ।

विकासको पर्खाइमा रहेको अर्जुनधारावासी माथि उल्लेखित २१ योजना परेर काम अगाडि बढे सभामुख घिमिरेले गरेको प्रतिवद्धता कायम रहन सक्ने छ । छुटिएको योजना सर्वपक्षिय ढंगबाट कार्यन्वयन गर्न सके दीगो विकासका लागि उत्तम हुने स्थानीयवासीहरुको भनाई छ ।

संघीय सरकारबाट प्राप्त बजेटबाट नगरपालिकाले खोला तटबन्धन, स्वास्थ्य भवन निर्माण, कुलो पैनी निर्माण, सिचाईं, सडक विस्तार तथा स्तरोन्नति, खेलकुद, खानेपानी लगायतका क्षेत्रमा काम गर्ने योजना रहेको छ ।

उक्त योजना अनुसार अर्जुनधारा वडा नं. १ मा बिरिङ खोला तटबन्धन सहित चेक ड्यामका लागि ५० लाख, नेते खोलामा पुल निर्माणका लागि ५० लाख, तिलहारे सडक निर्माणका लागि १० लाख, ठूलो नेते खोलामा तटबन्धनका लागि ७० लाख छुट्याइएको छ ।

यसै गरी वडा नं. २ मा लाप्चेटार टाङटिङ खोलामा ३० लाख छुट्याइएको छ भने, वडा नं. ३ अन्तर्गत सुखानी खोला तटबन्धनका लागि ५० लाख, कैदले पर्यापर्यटनका लागि १५ लाख बजेट रहेको छ ।

यसरी नै वडा नं. ५ को मुखनी टोल उत्तर, कप्तनबारी सडक निर्माणका लागि ५० लाख, अर्जुनधारा जलेश्वर धाम हुँदै पाण्डारपुर–लक्ष्मीपुर सडकका लागि ३० लाख रहेको छ ।

वडा नं. ७ को २७ विघे पैनी निर्माणका लागि ५० लाख, खेलकुद पूर्वाधार निर्माणका लागि १६ लाख रहेको छ भने वडा नं. १० अन्तर्गत हिले खोला सेतीपानी सिचाईंका लागि ५० लाख, वडा नं. ११ का लागि स्वास्थ्य भवन, जरुवा संरक्षण गर्न ३० लाख, अर्जुनधारा खानेपानीमा एक लाख, लाहुरे टोल जुनकिरी सडक निर्माण ५ लाख, स्टाफ चोक जोड्ने हिले खोलामा पुल ४७ लाख रहेको छ ।

यसरी नै अर्जुनधारा नगरपालिका भरीका लागि डिप ट्युवेल ३० लाख, महानन्द चोकबाट माता मन्दिर, लक्ष्मी मावि हुँदै प्रणामी मन्दिर जोड्ने सडक विस्तार तथा नाला निर्माण ९० लाख, झापा जिल्ला अर्जुनधारा नपा लक्ष्मीपुरबाट कप्तनबारी–कञ्चनबारी हुँदै फुलमति सडक स्तरोन्नतिका लागि १५ लाख, अर्जुनधारा नपा ११ मिलडाँडा उत्तर दुर्गा चोकदेखि शान्तिनगर चोक हुँदै दुर्गा मन्दिरसम्म सडक स्तरोन्नतिका लागि २० लाख र शनिश्चरे खानेपानी र लटरे खानेपानी आयोजना स्तरोन्नति तथा विस्तारका लागि ७५ लाख रहेको छ ।