अर्जुनधारा कृषकहरु सम्मानित हुँदा हर्षित « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

अर्जुनधारा कृषकहरु सम्मानित हुँदा हर्षित


यलम्वर टाइम्स
३ असार २०८०, आईतवार ०९:११

सालबारी । अर्जुनधारा नगरमा व्यावसायिक रुपले पशुपालन गरिरहेका उत्कृष्ट किसानलाई पुरस्कृत गरिएको छ ।

अर्जुनधारा नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाले बिहीबार उत्कृष्ट किसानलाई नगद पुरस्कार प्रदान गरेको हो ।

लामो समयदेखि पशुपालन क्षेत्रमा लागेर आफ्नो आर्थिकस्तर बृद्धि गर्दै उदाहरणीय किसान बनेका विभिन्न व्यवसायका ६ जना र एउटा कृषक समूहलाई पुरस्कृत गरिएको पशुपंक्षी तथा मत्स्य विकास शाखाका प्रमुख पदमलाल राईले जानकारी दिए ।

उनका अनुसार पुरस्कृत हुनेमा गाईपालन र बाख्रापालनतर्फ २–२ जना, बंगुर र माछापालनतर्फ १–१ जना रहेका छन् ।

गाईपालनतर्फ पहिलो बनेका अर्जुनधारा ६ मा रहेको कन्काई कृषि फर्मका सञ्चालक सुबोध ढुंगेललाई नगद १२ हजारसहित पुरस्कृत गरियो । यस्तै, दोस्रो बनेका अर्जुनधारा ९ मा रहेको कृष्ण गाईपालन फर्मका सञ्चालक चन्द्रप्रसाद अधिकारीलाई नगद १० हजारले पुरस्कृत गरिएको छ ।

यसैगरी, बाख्रापालनतर्फ अर्जुनधारा ९ मा रहेको आरके कृषि फर्मका सञ्चालक कमल कडरियाले नगद १२ हजार पुरस्कार पाए । यस्तै, दोस्रो भएको जुकेखाडी कृषि फर्म अर्जुनधारा ३ की सञ्चालक मनकला राईले नगद १० हजार पुरस्कारवापत पाइन् ।

बंगुरतर्फ अर्जुनधारा ३ का आइतबहादुर लिङदेनले उत्कृष्ट व्यवसायी बन्दै नगद १२ हजार पाउन सफल भए । यसैगरी, माछापालनतर्फ अर्जुनधारा ४ का विकास खड्का उत्कृष्ट घोषित भए । उनले पनि नगद १२ हजार पुरस्कार पाए ।

यस्तै, समूहतर्फ अर्जुनधारा २ मा रहेको खुदुनाबारी कृषक समूहले उत्कृष्ट समूह बन्दै नगद १२ हजार पाएको छ । नगद समूहका उपाध्यक्ष तुलसी ढकाललाई प्रदान गरियो । यो समूह नगरपालिकाले दूग्ध पकेट क्षेत्र घोषणा गरेपछि पहिलो समूह बनेको थियो ।

यसैगरी, दुग्ध क्षेत्रबाटै व्यावसायिक रुपमा अघि बढ्नका लागि प्रेरक व्यक्तित्वका दरिएका समूहका संस्थापक तिलकबहादुर थापालाई विशेष सम्मान प्रदान गरिएको थियो ।

दूग्ध पकेट क्षेत्रमा उनको योगदान स्मरणीय रहेको बताइन्छ । नगरमा गाईपालन ४४ वटा, बाख्रापालन १०८ वटा, बंगुरपालन ५५ वटा, माछापालन ४१ वटा र दुग्ध डेरी समूह २० वटा शाखामा सूचीकृत भएका छन् । सूचीकृत भएका फर्म, समूहको अनुगमनपछि पुरस्कृत गरिएको नगर उपप्रमुख खड्गमाया पराजुलीले बताइन् ।

उनले सबै किसानले मिहेनत गरेर कृषि कर्ममा लागेको बताउँदै सबैलाई पुरस्कार दिन मन भए पनि वर्षभरिको मूल्यांकनको आधारमा यसवर्ष पुरस्कार तथा सम्मानको कार्यक्रम राखिएको सुनाइन् ।

नगरमा अहिले चार वटा वडामा दुग्ध डेरी नगरसँगको साझेदारीमा सञ्चालनमा छन् । जसमा नगरको ७० प्रतिशत लगानी रहेको छ भने किसानले पालेका गाईभैँसीलाई औषधि उपचार पनि उपलब्ध गराइएको शाखाले जनाएको छ । यस्तै, वडा नम्बर ४ मा निजीस्तरबाट पनि दुग्ध डेरी सञ्चालनमा आएका छन् ।

गाउँघरमै रहेर कृषि पेसाबाट कर्म गरिरहेका किसानलाई प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले पहिलोपल्ट पुरस्कार तथा सम्मानको कार्यक्रम राखिएको शाखा प्रमुख राईले जानकारी दिए । आर्थिक विकास समितिकी संयोजक गौरीमाया चिमरियाले स्वागत गरेको कार्यक्रमको प्रमुख अतिथि पूर्वप्रदेश सांसद बृख प्रधान थिए ।

कार्यक्रममा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, ७ नम्बर वडाध्यक्ष गोविन्द खतिवडा, महिला उद्यमी देवकला प्रसाई, पार्टी प्रतिनिधिहरु इन्दिवर खड्का, दिपेन्द्र लम्साल, अर्जुन मेचे, पूर्वजनप्रतिनिधि भोला गौतमलगायतले किसानका पीर मार्का र खेती लगाउँदा आवश्यक सामग्रीको अभावले छटपटिरहेका बेला वडास्तरबाट किसानलाई सहज बनाइदिन अनुरोध गरेका थिए ।

यस्तै, पुरस्कृततर्फ सुबोध गौतम र सम्मानिततर्फ तुलसी ढकालले कृषकको अवस्था र शाखा (नगर)का तर्फबाट भइरहेका समन्वयका बारेका आफ्नो अनुभव राखेका थिए ।