लम्पी रोगबाट दूधालु वस्तुहरु धामाधम मर्दै, ३० हजार खोप आवश्यक रहेको विज्ञहरुको भनाई « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

लम्पी रोगबाट दूधालु वस्तुहरु धामाधम मर्दै, ३० हजार खोप आवश्यक रहेको विज्ञहरुको भनाई


यलम्वर टाइम्स
२१ असार २०८०, बिहीबार ०५:४९

अर्जुनधारा । लम्पीले किसानहरुको दूधालु वस्तु मर्न थालेपछि त्यसको विरुद्ध ३० हजार ४५६ खोप आवश्यक रहेको छ ।

कोशी प्रदेशमै सबैभन्दा बढी खोप झापामा आवश्यक रहेको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ ।

निर्देशनालयले असार १४ गतेसम्ममा संकलन गरेको विवरणमा हालसम्म प्रभावित पशुहरूमध्ये ८० हजार ४२ वटामा खोप अभाव भएको छ ।

झापापछि इलाममा २२ हजार ५१८, पाँचथरमा ११ हजार ६५०, ताप्लेजुङमा ४ हजार ५०, खोटाङमा४ हजार, ओखलढुंगामा ३ हजार ५० वटा पशुमा खोपको आवश्यकता रहेको बताइएको छ । संखुवासभा, तेह्रथुम, भोजपुर र सुनसरीमा भने खोप लगाउनु पर्ने पशुको संख्या नरहेको निर्देशनालयले जनाएको छ ।

कोशी प्रदेशमा हालसम्म लम्पी स्किन रोगबाट ३ हजार ६ सय १४ वटा पशुको मृत्यु भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ । जसमा सबैभन्दा बढी इलाम प्रभावित भएको छ ।

इलाममा मात्रै हालसम्म लम्पी स्किनबाट १ हजार ७३९ वटा पशुको मृत्यु भएको छ । जसमा २ वटा भैँसी छन् भने अरू सबै गाई र गोरी रहेको निर्देशनालयले जनाएको छ ।

यस्तै प्रदेशभरमा हालसम्म १ लाख ५९ हजार ४२९ वटा पशु यो रोगबाट प्रभावित भएका छन् । जसमा सबैभन्दा बढी इलामकै रहेका छन् ।

इलाममा २९ हजार ८८, पाँचथरमा २५ हजार ९ सय, झापामा २० हजार १४, उदयपुरमा १५ हजार ५ सय, धनकुटामा १५ हजार ४०६ र सुनसरीमा ८ हजार ३५५ वटा पशुमा लम्पी स्किन देखिएको छ ।