बाँसका तामा चोरीका कारण किसानहरु पीडित « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

बाँसका तामा चोरीका कारण किसानहरु पीडित


यलम्वर टाइम्स
२२ श्रावण २०८०, सोमबार १०:२७

अर्जुनधारा । भन्दा पत्याउनै गाह्रो तर दिनहुँ भइरहेको घटनाले बाँस रोपन गर्ने कृषकहरु निकै मार्कामा परेका छन् ।

झापा जिल्ला बाँसको खेती गरिएको जिल्ला पनि हो । यसै जिल्लाबाट सालमा २÷३ सय टूक बाँस काठमाण्डौं लगायत अन्य जिल्लामा पुग्ने गर्छ ।

सहारा नेपालको हेवीट्याड र हेफर ईन्टरनेशनल जस्ता संस्थाले बाँसबाट हुने फाईदाका विषयमा कृषकहरुलाई ज्ञान छरेपछि झापामा बाँसको व्यवसायिक खेती शुरु गरिएको हो ।

खेतका डिल तथा खोलाले कटान गर्ने क्षेत्रमा बाँस रोपन गरेपछि सर्लक्कै सप्रेर आएको र कृषकहरुलाई आयआर्जनमा सहयोग पुगेको थियो ।

त्यसैले गाउँबस्तीतिर प्रत्येक घरले लगाउने हुँदा बाँस लगाउनेहरुको संख्या पनि बढ्दै गएको देखिन्छ । तर हिजोआज लगाइएका बाँसका बोटहरुमा मुना अर्थात् तामा पलाउँदै गर्दा दुले चोरहरुले तामा चोरेर झ्याङ्गनै उजाड बनाइदिएपछि कृषकहरु पीडामा परेका छन् ।

तामा तरकारी खाने पारखीहरुका लागि असाध्यै मिठो र स्वस्थ्य तरकारीका रुपमा लिइन्छ । त्यसैले बजारमा प्रतिकेजी रु १२० देखि १५० सम्म बिक्रि हुने गरेको छ ।

बिशेषतः दुव्र्यसनीमा लागेका युवाहरु र केही दैनिक हातमुख जोर्न धौधौ भएका युवाहरुले रातीराती छिमेकीको बाँस घारीमा तामा काटिदिने र नजिकका तरकारी बजारमा रु ४० देखि ५० सम्म बेच्ने गरेको खुलासा छ ।

दुले चोरले अर्काको बारीबाट बाँसका तामा चोर्नु र सस्तो पाए भनेर सब्जी दोकानेले पनि सोधपुछ नगरी तामा किन्नु दुवै एउटै ड्याङ्गका मुला भएपछि तामा चोरहरुले स्थान पाइरहेको आम गुनासो छ ।

आजभन्दा ३, ४ वर्षअघि दाउरेहरुले जंगलमा गएर तामा ल्याई बजारमा बेच्न राख्थे । घरघरमा जंगली तामा भन्दै बेच्न डुलाउँथे । तर आजकल जंगलमा बाँस मासिदै गएको कारण तामा पाउन मुस्किल देखिन्छ ।

दाउरेहरु वैकल्पिक व्यवसायमा लागे । तामा चोर्ने दुले चोर र रातीनै सस्तोमा तामा किन्ने तरकारी व्यपारीकै कारण बाँस मासिदै गएको हुँदा स्थानीय सरकार, सचेत नागरिक, प्रहरी प्रशासनले पनि दुले चोरका कारणबाट कृषकहरुले दुःख पाएको गुनासो सुन्न र बुझ्न जरुरी छ ।

सस्तो पाए भन्दैमा व्यापारीहरुले कस्ता मान्छेबाट तामा खरिद गर्दैछु भन्ने कुरा बुझ्न जरुरी छ । तामा त्यसै पनि अवैधानिक व्यपार हो । वन विभागको स्वीकृती बिना बेच्न र किन्न पाईदैन । तर गाउँ बस्तीकै किसानहरुले लगाएको बाँसको तामा चोरीचोरी बेच्छन् र व्यपारीहरुले किन्छन् भने त्यो भन्दा अर्को अपराध हुनै सक्दैन । त्यसतर्फ सम्बन्धित निकायको ध्यान पुगोस् ।