अर्जुनधाराकी प्रमुख प्रशाकीय अधिकृत राईको अवकासपछि बिदाई « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

अर्जुनधाराकी प्रमुख प्रशाकीय अधिकृत राईको अवकासपछि बिदाई


यलम्वर टाइम्स
२४ श्रावण २०८०, बुधबार १२:०५

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गिताकुमारी राईलाई एक कार्यक्रमका बीच विदाई गरिएको छ ।

२०४४ सालदेखि निजामती सेवामा प्रवेश गरेकी अधिकृत राईले अनिवार्य अवकास पाएपछि नगरपालिकाका कर्मचारीले विदाई कार्यक्रम राखेका हुन् ।

३६ वर्षको कर्मचारी सेवामा करिब २० महिना अर्जुनधारा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएकी राई यसअघि झापाकै शिवसताक्षी नगरपालिकामा थिइन् । त्यहाँ १५ महिना रहेकी राई झापा जिल्लाकै पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत पनि हुन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख बलदेवसिंह गोम्देनले प्रमुख प्रशासकीय अधिकृत राईको विधि र नीति सम्वत काम गर्ने शैलीको अन्य कर्मचारीले अनुशरण गर्नुपर्ने बताए ।

निडर, कर्तव्यनिष्ठ राष्ट्रसेवक कर्मचारीको छवि बनाएर सेवानिवृत्त हुन लागेकी राईलाई सामाजिक क्षेत्रमा नेतृत्व भूमिकामा देख्न पाउँ भन्दै उनले सफलताको शुभकामना दिए ।

नगरको विकास र समृद्ध नगरको परिकल्पना पूरा गर्न जनप्रतिनिधि एक्लैको प्रयास सम्भव नहुने भन्दै नगर प्रमुख गोम्देनले कर्मचारी संयन्त्रको भूमिका महत्वपूर्ण रहने भएकाले सेवा प्रवाह चुस्त प्रदान गर्न सुझाए ।

नगरकी उपप्रमुख खड्गमाया पराजुलीले कर्मचारीको अभिभावकको रुपमा रहँदा प्रमुख प्रशासकीय अधिकृत राईसँग कुनै पनि मनमुटाव नभएको सुनाइन् । बरु सुझाव आदानप्रदान र समन्वयकारी भूमिका सम्झनयोग्य रहेको उनको भनाइ थियो ।

विदाई कार्यक्रममा प्रमुख प्रशासकीय राईले सकेसम्म जनताको काम छिटो र सरल ढंगबाट गरिदिन आफूबाट सक्दो प्रयास भएको बताइन् । जनप्रतिनिधिसँग पनि सहकार्य गरेको स्मरण गर्दै उनले कर्मचारीबाट सेवा प्रवाहमा कुनै पनि ढिलासुस्ती र उल्झन नल्याउन कर्मचारीलाई सुझाव दिइन् ।

कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष सीताराम भट्टराई, वडा नं. १० का वडाध्यक्ष भुपेन्द्र न्यौपाने, पशुपक्षी तथा मत्स्य विकास शाखाका प्रमुख पदमलाल राई, कर्मचारी हित संरक्षण मञ्चका अध्यक्ष चिरञ्जीवी खवासलगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा नगर प्रमुख गोम्देन, उपप्रमुख पराजुली, शिक्षा शाखा प्रमुख तोयानाथ रेग्मीले प्रमुख प्रशासकीय अधिकृत राईलाई मायाको चिनो प्रदान गरेका थिए ।