जुकेखाडीलाई नमूना वनको रुपमा लैजान उपभोक्ताको मन जित्ने विधान ल्याउन आवश्यक « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

जुकेखाडीलाई नमूना वनको रुपमा लैजान उपभोक्ताको मन जित्ने विधान ल्याउन आवश्यक


यलम्वर टाइम्स
३० श्रावण २०८०, मंगलवार १०:४३

जुकेखाडी । सचेत र सक्षम उपभोक्ता बसेको जुकेखाडी सामुदायिक वन नेपालकै नमूना वनको रुपमा स्थापित हुनुपर्छ भन्ने सुझाव यस क्षेत्रका बुद्धिजीवि तथा राजनीतिक दलका प्रतिनिधिहरुले राखेका छन् ।

मंगलबार विधान संसोधन उपसमितिले तयार पारेको विधानमाथि सुझाव दिदै वनको सुरक्षा र उपभोक्ताहरुको भावनालाई सम्बोधन गर्न विधान बनिनु पर्ने राय राखेका थिए ।

अर्जुनधारा–३ स्थित रहेको जुकेखाडी सामुदायिक वन २०५२ सालमा स्थापित भएको हो । त्यसैको मातहतमा रहेको कैदले पर्यापर्यटनको ग्रिनेरी हलमा भएको भेलाले वन नियमावली अन्तर्गत रहेर आम उपभोक्ताहरुको भावना र वन संरक्षण साथै त्यसभित्र रहेको वन्यजन्तु, पंक्षी, उभयचरको सुरक्षा हुन जरुरी छ ।

आउने विधानमा गरिबीका रेखामुनी रहेका सदस्यलाई सर्वसुलभ रुपमा सदस्यता प्रदान गरिनुपर्ने, अनुगमनलाई चुस्त दुरुस्त बनाउनुपर्ने, पर्यटनलाई मात्र जोड होइन वनभित्र फलफूल, आयुर्वेदीक बोट विरुवा र बाँस रोपन गरेर आयआर्जनको बाटो बनाउनुपर्ने सुझाव दिएका थिए ।

वन महासंघ अध्यक्ष वेद प्रकाश भण्डारीले उत्कृष्ट सामुदायिक वनभित्र पर्ने जुकेखाडी सामुदायिक वन यस क्षेत्रका उपभोक्ताहरुको भावना र वुद्धिजीविले दिएका सुझाव अनुसार कार्यान्वयन गरे अझ उत्कृष्ट भएर जाने सुझाव राखे ।

उनले सामुदायिक वनभित्र थुप्रै आयआर्जनको बाटो र पर्यटकहरुलाई भित्र्याउने थुप्रै बाटोहरु भएको हुँदा समिति त्यसतर्फ केन्द्रीत हुन सुझाव दिए ।

नेकपा एमालेका नगर उपाध्यक्ष लोकमान श्रेष्ठले विधि र प्रक्रियालाई अपनत्व गरी अगाडि बढ्न सुझाव दिए ।

नेपाली कांग्रेसका जीवन भण्डारीले कर्मचारी नियुक्तिका कार्यविधि आवश्यक भएको औल्याउँदै समानुपातिक ढंगबाट समितिलाई सञ्चालन गर्न आग्रह गरे ।

अर्जुनधारा वन महासंघका अध्यक्ष दिव्य कट्टेलले राज्यबाट वन समितिलाई हेर्ने दृष्टिकोण पेचिलो बनेको हुँदा आम उपभोक्ताहरुलाई भने जस्तो सुविधा दिन नसकेको बताए ।

कार्यक्रममा पत्रकार दिपीन राई, भोला बराल, विदुर भट्टराई, युवराज पौडेल, लक्ष्मीप्रसाद चौम्लगाई, वेदप्रकाश घिमिरे, मेघराज गिरी, वडा सदस्य नारायण चापागाई, रामकुमार महत, शुक्रराज दुलाल लगायतले सुझाव राखेका थिए ।

विधान संशोधन उपसमितिका संयोजक दुर्गाप्रसाद न्यौपानेले जनभावना अनुसारको विधान आएको बताए ।

सामुदायिक वनका अध्यक्ष झरिन्द्रकुमार खड्काको सभापतित्वमा भएको कार्यक्रममा सञ्चालन तथा टिप्पणी नर्बदा दियालीले गरेको कोषाध्यक्ष मनिला जवेगु इङ्नामले यलम्वर टाइम्सलाई बताइन् ।