जनताको मन जित्दै खुदुनाबारी–अर्जुनधारा खानेपानी « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

जनताको मन जित्दै खुदुनाबारी–अर्जुनधारा खानेपानी


यलम्वर टाइम्स
७ भाद्र २०८०, बिहीबार ०६:४६

सिस्ने । राज्यको पर्याप्त सहयोग बिना नै जनतालाई स्वास्थ्य पानी पिउने वातावरणमा संस्था अगाडि बढिरहेको बताइएको छ ।

झापाको साविक खुदुनाबारी–३ मा २०५१ सालमा स्थापना भएको खुदुनाबारी–अर्जुनधारा खानेपानी उपभोक्ता समूहले यस्तो अठोट गरेको हो ।

संस्थापक अध्यक्ष रामबहादुर निरौलाले संस्था स्थापना गर्दा भोगेको कष्ट सुनाउँदै त्यही कष्ट जीउँका तीउँ रहेको हुँदा राज्यको ध्यान शुद्ध खानेपानी दिलाउने पक्षमा नरहेको बताए ।

सुरुवाती समयमा यस क्षेत्रमा पाँच सय उपभोक्ता थिए । हाल यो संख्या बढेर दुई हजार २०६ हुँदा पनि समूहको समस्या हिजो जस्तो थियो आज पनि त्यस्तै रहेको बताइयो ।

समूहका अध्यक्ष विष्णुप्रसाद प्रसाईका अनुसार अझ प्रभावकारी शुद्ध पानी उपभोक्ताहरुलाई दिलाउन खानेपानी ट्यांकी निर्माण गर्न जरुरी रहेको बताए । उनले इलामको रोङ गाउँपालिकाको वडा नं. १ र २ बाट पानी संकलन गरी हालका उपभोक्ताहरुलाई पिलाउँदै आएको सुनाए ।

स्थापना समयदेखिका कार्यालय कर्मचारी त्रिवेन्द्र काफ्लेले सरकारको अनुदान भने जस्तो नआउँदा संस्थाले भनेको जस्तो प्रगति गर्न नसकेको बताए । संस्थालाई उभ्याउन र भवन बनाउन तेजप्रसाद कोइरालाको ठूलो योगदान रहेको पनि काफ्लेले बताए ।

काफ्लेले भने, ‘राज्यबाट अरु खानेपानी संस्थालाई सहयोग र अनुदान दिए जस्तै खुदुनाबारी–अर्जुनधारा खानेपानीलाई पनि प्रदान गरे हामी परिणाममुखी काम गरेर देखाउने थियौं । अझ सस्तो र सरलमा पानी जनतालाई दिलाउने थियौं ।’

समूहका उपाध्यक्ष मदन दनुवारका अनुसार पानी भण्डारण गर्ने स्थान वा ट्यांकीकै अभावले माग अनुसारको पानी उपलब्ध गराउन सकिएको छैन । उनले भने, ‘हामीले क्षमता अनुसार अर्जुनधारा वडा नं. १, ४, ५ र ७ मा पानी विस्तार गरेर सेवा दिँदै आएका छौं ।’ सम्बन्धित वडाहरुले ट्यांकी निर्माणमा सहयोग गरे अझ धेरै स्थानमा पानी पुर्याउन सकिने उनले सुनाए ।

उपाध्यक्ष दनुवारका अनुसार ०७९÷०८० मा स्थानीय सरकारबाट सहयोग जुटेन । सहयोग गर्ने आश्वासन आए पनि प्राप्त नहुँदा संस्थाले भनेको स्थानमा पानी संरक्षण गर्न पाएन ।

उपभोक्ता समितिका अर्का सदस्य सोमनाथ दाहालले बाटो निर्माणका क्रममा जेसीबीले पानीका पाइप फुटाइ दिने र खोलाजन्य सामग्री उत्खनन् गर्दा मुहान तोडिने हुँदा मर्मत सम्हारमा खर्च बढ्ने गरेको बताउँछन् ।

संस्थाले संघ सरकार समक्ष सहयोग माग गर्दा संघले नगरमार्फत १२ लाख दिए पनि नगरले ८ लाखमात्र प्रदान गरेको हुँदा सोही रकमबाट यो बर्खामा मुहान संरक्षणका कामहरु भएको उपाध्यक्ष दनुवारले बताए ।

संस्थाका पूर्व सचिव तथा वडा नं. १ का वडाध्यक्ष उपेन्द्र बस्नेतका अनुसार खानेपानी संस्थाका लागि २३ करोडको डीपीआर भएको बताए ।

डीपीआर अनुसार रकम आए हामी अर्जुनधारा नगरपालिकाका आधा वडाहरुमा शुद्ध खानेपानी पिलाउन सक्छौं । संस्थाले दश हजार लिटर बराबर ९० रुपैयाँ मात्र रकम लिने गरेको छ ।

नयाँ सदस्यका लागि रु १० हजार रकमबाट पानी जडान गर्दै आएको छ ।