महारानीगञ्जको सामाजिक परीक्षण सार्वजनिक « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

महारानीगञ्जको सामाजिक परीक्षण सार्वजनिक


यलम्वर टाइम्स
७ भाद्र २०८०, बिहीबार ०७:२३

सालबारी । महारानीगञ्ज माध्यमिक विद्यालयले ०७९।०८० को सामाजिक परीक्षण सार्वजनिक गरेको छ ।

विद्यालय हाताभित्र बुधबार शिक्षक, अभिभावक, समाजसेवी, जग्गादाता र सञ्चारकर्मी बीच सामाजिक परीक्षण सार्वजनिक गरेको हो ।

शिक्षक अभिभावक संघका अध्यक्ष तथा सामाजिक परीक्षण समितिका संयोजक सूर्यप्रसाद भट्टराईको सभापतित्वमा भएको सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि सामाजिक समिति अर्जुनधारा नगर संयोजक कौशिकलाल परियार रहेका थिए ।

उनले परीक्षणको उद्घाटन गर्दै अभिभावक र शिक्षक बीचको एकताबाट महारानीगञ्ज विद्यालय सञ्चालनमा आएको हुँदा पारदर्शीको उच्चतम् अभ्यास भएको भनी प्रशंसा गरे ।

नगरबाट हुने सहयोग विद्यालयलाई जुटाउन आफू लागि पर्ने बताउँदै प्रमुख अतिथि परियारले सबै विद्यालयमा सामाजिक परीक्षण यसरी नै गर्नुपर्ने सन्देश दिए ।

विशेष अतिथि वडा नं. ११ का वडाध्यक्ष खगेन्द्र इङनामले वडाको नमूनाको रुपमा रहेको यस विद्यालय आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा प्राविधिक प्रतिवेदन सूर्यप्रसाद सापकोटाले वाचन गरेपछि घनिभूत रुपमा छलफल भएको थियो ।

विद्यालयको भौतिक सामग्रीदेखि लिएर आर्थिक गतिविधि समेत बैंक दाखिलामार्फत सञ्चालन, बालबालिकाको दिवा खाजादेखि लिएर स्मारिका प्रकाशन समेतको विषय प्रस्ट्याइएको थियो ।

सार्वजनिक कार्यक्रममा सामाजिक परीक्षण प्रतिवेदन चन्द्रप्रसाद सुवेदीले वाचन गरेका थिए भने प्रतिवेदनमाथि भएको छलफलमा विद्यालयका प्रअ मनबहादुर लिम्बूले प्रस्ट्याएका थिए ।

विद्यालय व्यवस्थापन समितिका संयोजक बोलप्रसाद कोइराला, बुद्धिजीवि जगत राना मगर, पूर्व अध्यक्ष रोहित ढकाल, महिला नेतृ लक्ष्मी राई तामाङ, श्याम गिरी लगायतले आ–आफ्ना विचार राखेका थिए ।

कार्यक्रमको सञ्चालन शिक्षक मणिकलाल खड्काले गरेका थिए ।