[सञ्जोग लाफा मगर]
शिर्षक पढ्ने वित्तिक्कै सबैले एकपटक गोरेबहादुर खपाङ्गी मगरलाई पक्कै सम्झिने छन् । किनभने २०४७ सालमा एम. एस. थापा मगरसंग मिलेर नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा (हाल राष्ट्रिय जनमुक्ति पार्टी) स्थापनापछि माक्र्सले रुपको मात्र व्याख्या गरेको रुप भनेको भौतिक Materialism हो । भौतिक द्धन्दवाद Materialism Conflict लाई प्रमुख रुपमा जोड दिएकोले नामको आध्यात्मिक (धार्मिक, जातीय, वैचारिक अन्तरविरोध) Metaphysics हो । माक्र्सवाद युरोपमा भौतिक द्धन्दवाद हुन्छ । एसियामा जाति र धर्मको नाममा विभेद छ । त्यसैले नेपालमा जातीय अन्तरविरोध प्रमुख समस्या हो भन्ने निक्र्यौल गरी नेपालमा जातिवादी शासनले जरो गडेको ब्राम्हणवाद विरुद्ध जनचेतनाको पैरवी, जनवकालत गर्दै भाग्यवाद विरुद्ध आगो ओकल्ने गोरेबहादुर खपाङ्गी मगरलाई विशेष गरी पुरातन बामपन्थी नेता र रुढिवद्ध वुद्धिजीविहरुले बाहुन विरोधीको ट्याग झुण्ड्याई दिएका थिए । उनीहरुले भनेजस्तै साँच्चै बाहुन विरोधी हुन् त खपाङ्गी मगर ? उहाँको अभिव्यक्ति, विचार सम्प्रेषण अनि मृत्युपर्यन्त संगतको साक्षीले सातौं स्मृति दिवस सन्दर्भमा विमर्श गरेको छु ।
बाहुन, ब्रम्हत्व
मुखबाट जन्मिएको कारण बाहुन सर्वश्रेष्ठ जाति हो भन्ने स्वघोषित मनुस्मृतिको भनाईलाई भारतमा हरिजन महिलाहरुले ठाडै चुनौति दिंदै प्रतिदिन प्रतिप्रश्न गरिरहेका छन् मान्छे जन्मने अंग सबैलाई थाहा छ । मुखबाट थुक र खकार मात्र निस्कन्छ भनेर । बाहुन आर्यन भएकोले फारसीहरुले “डराएर भागी आएका कायरहरु, लुच्चा–फटाहा, काला, चोर, ठग, डाँकु र कमारा” आदि अपशब्दले दुत्कारेको रजनीकान्त शास्त्रीले हिन्दु जातिका उत्थान और पतन चर्चित पुस्तकमा लेखेका छन् । हरिजन नेताहरु ब्राम्हणप्रति आक्रोशित मुद्रामा राजनैतिक मुद्धाको नारा नै छ बाहुन र सर्प एकै चोटी भेटे पहिला बाहुनलाई मार्नु । उनीहरुको तर्क छ बाहुनले डसेर हामीलाई क्षणक्षणमा मारिरहेका छन् । सर्पले कुल्चिंदा मात्र डस्ने हो । नेपालमा धर्मरत्न यमीले बाहुनलाई ‘तिन फूके’ भन्ने गर्थे । नेकपा मालेका नेताहरुसंग जातिलाई हेर्ने सवालमा खपाङ्गी सरको मतभेद बढेपछि “मालेमा ब्राम्हणहरुको वर्चस्व रहेछ” भनेर पहिलो पटक जनमञ्च साप्ताहिक –(वर्ष १, अंक ७ मंसिर २०, २०४७) पत्रिकामा अन्तरवार्ता दिएर माले परित्याग गरेका थिए । आजभोलि भ्रष्टचारी र राष्ट्रघातिको पहिचान बनाएका बाहुनप्रति खपाङ्गीले कहिल्यै व्यक्ति र जातलाई दुवर्चन बोल्नु भएन । बरु उल्टै बाहुन विरोधीको लाहाछापले डामिए ।
बाहुनको ब्रम्हणत्व पक्षमा खुलेर बोल्ने ब्रम्हणत्वको बिरुद्धमा कोही पनि जानु हुँदैन भन्थे । बाहुनले टुपी पाल्नु, जनै लगाउनु, एकादशीको दिन मारकाट नगर्नु, गाईलाई माता मान्नु, नाक चुच्चो हुनु, चर्पी जाँदा जनै कानमा सिउरिनु, भात खानु अघि भातको सिता वरिपरि अवस्ती गर्ने चलन आदि बाहुनको ब्रम्हणत्व हो । उनीहरुको जिवनपद्धति, संस्कार र पहिचान पनि हो । केही बुज्रुकहरुले ब्रम्हणत्वको अन्त्य नै ब्राम्हणवादको अन्त्य बुझेकाले त्यसो होइन भन्थे सोही कुरा टिभि अन्तरवार्तामा बोलेर स्पष्ट पार्थे ।
ब्राम्हणवाद र प्रवृति
बाहुन विरोधीको पगरीले गुथ्याँए पनि खपाङ्गी बाहुन विरोधी नभई ब्राम्हणवादको कटर आलोचक र विरोधी थिए । नेपालमा बर्गीय समस्याभन्दा पनि जातीय समस्या प्रमुख हो । ’तिब्र जातीय अन्तरविरोध भएको मुलुकमा सुकुम्वासी, सर्वहारा वर्गका भएतापनि भिन्न–भिन्नै जातिहरुको समाजमा वर्गीय एकता कायम हुन सक्दैन ।‘…..’जातीय अन्तरविरोध समाप्त भएपछि पुंजीवादको विकासमा मात्र वर्ग संघर्ष हुन्छ ।‘ (लेनिन संकलित रचना भाग–६) लेनिनको विचारलाई प्रमाण जुटाउँदै सारमा नेपालमा जातिवाद भन्नुनै एकल जातिवाद ब्राम्हणवाद त्यसमा पनि हिन्दुवाद हो भनेर हिन्दूहरू भित्रको विविध सामाजिक, राजनीतिक, आर्थिक कारणबाट उपेक्षित मधेसतिर चमार जात पहाडतिर सार्कीले गोरुको मासु खान्छन् । यसबाट के बुझिन्छ भने हिन्दुले गोरुको मासु खाँदो रहेछ बाहुनले नखाँदो रहेछ । त्यसैले हिन्दुवाद भन्नुको अर्थ पनि ब्राम्हणवाद नै हो ।
चारवटा वेद, त्यसको खण्डहरू, यी वेद बाहेकका उपनिषदहरू अनेकौ स्मृतिहरू, स्तोत्रहरू, मनुस्मृति, रामायण, महाभारत, सुखसागर, स्वस्थानी, गीता, यज्ञवल्य, वृहस्पति आदि ब्राम्हणवादका स्रोत हुन् । यी सबै ग्रन्थहरुको आधारमा नै नेपालमा जति पनि बनेका एकल जातिवादी संविधान, मुलुकी ऐन, कानुनको स्रोत पनि त्यहि हो । वाद भनेको समष्टिमा सबै ठाउँमा सर्वव्यापी हुन्छ । भूगोल, वातावरण र राजनीति नमिले पनि अमेरिका, पाकिस्तानमा बस्ने बाहुनले मन्दिर खडा गर्छ र पुजारी बाहुनै राख्छ । टुपी पाल्ने अरू जातको मान्छेलाई पुजारी राख्दैन । यो ब्राम्हणवादको नमुना हो ।
बाहुनले सबैलाई टुपी पाल्न अनिवार्य लाद्नु, सबै नियम मान्न उर्दी जारी गर्नु, अरूले छोएको नखानु, सबैलाई जनै लगाउन दबाब दिनु, एकादशीको दिन सबैलाई मासु खान बर्जित गर्नु आफ्नो समुदायको कुरा चित्त नबुझिकन अरूलाई थोपर्नु पनि ब्राम्हणवाद हो । बाहुनले गोरु खाँदैन भन्दैमा तीन करोड नेपालीलाई गोरु खान बन्देज लगाउनु ब्राम्हणवादी साेंच हो । अन्तरिम संविधान २०६३ र नेपालको संविधान २०७२ मा राष्ट्रिय जनावर गाई लेख्नु भनेको यो मुलुकमा ब्राम्हणवादको दबदबा हो भन्थे । यसको अन्त्य नभएसम्म ब्राम्हण आश्रमबाट जनजातिहरु बाहिर निस्कन राष्ट्रियता (जाति) तर्फ जान सक्दैनन् र जातमै बसिरहने तर्फ इङ्गित गरेर भनेका थिए ‘मान्छेले छोएको नखाने, मुसाले छोएको खाने व्यवस्थामा बसिरहनु हो ।
नेपालमा आदिवासी जनजातिलाई राष्ट्रमा पुग्न नदिने मुख्य कडी ब्राम्हणवाद हो भन्थे । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रमा ब्राम्हणवादको स्वरुप बदलिएर नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, नेकपा माओवादी, जसपा (हालसालै स्थापना भएको विवेकशिल साझा पार्टी, नेकपा समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टी) यी सबै ब्राम्हणवादमा आधारित राजनीतिक दलहरू हुन् जो यहाँका आदिवासी जनजातिलाई राष्ट्रमा पुग्नबाट बञ्चित गर्न खोलिएको पार्टी हुन् । बगेको खोलाको पानी माथि पट्टि बसेर दलितले पिउन नहुने निर्घिन सोंच ब्राम्हणवादको छ । यसबाट मुक्त नहुञ्जेलसम्म दलित, आदिवासी जाति
(राष्ट्र) मा पुग्न सक्दैनन् । त्यही भएर आदिवासी आन्दोलनका नेताहरुले ब्राम्हणवाद भनेको प्रवृत्ति हो भन्ने भ्रम बोकेका छन् भनेर सभा, सम्मेलनमा तार्किक प्रस्तुत गर्दथे ।
एकपटक नेपाल मगर संघको कार्यक्रममा सुरेश आले मगरको प्रस्तुत कार्यपत्रमा ब्राम्हणवादको व्याख्या गर्दै ब्राम्हणवाद प्रवृत्ति हो भनेपछि फ्लोरबाट प्रश्न सोधियो, ‘यदि ब्राम्हणवाद प्रवृत्ति हो भने माक्र्सवाद के हो ?’ जवाफमा उहाँले ‘माक्र्सवाद दर्शन हो’ भने । यही विषयमा दुईजनाको घनिभूत छलफल भएको अहिले सम्झिन्छु । माक्र्सवाद एउटा व्यक्तिसँग गाँसिएको छ । तर ब्राम्हणवाद व्यक्तिसँग होइन, एउटा जात र समुदायसँग सम्बन्धित कुरा हो । ‘माक्र्सवादलाई दर्शन र ब्राम्हणवादलाई प्रवृत्ति’ भन्नु गलत हो भन्थे खपाङ्गी । प्रवृत्तिलाई सरल बुझ्ने भाषामा स्पष्ट पार्दै गाउँघरमा कुलत, विकृत मानसिकता भएको मान्छेहरु जुवाडे, जड्याहा, झगडिया समुह, गुटमा हुन्छन् । जस्तै पाँचदेखि दशजनाले सधैँ जुवा खेल्छ, जाँडरक्सी पिउँछ, निहुँ खोजेर झगडा गर्छन् भने त्यो प्रवृत्ति हो । यदि सिंगो ब्राम्हणवादी शासनबाट पाँचजना मात्रै आदिवासी जनजाति पीडित छन् भने त्यसलाई प्रवृत्ति भन्न सकिन्छ तर सिंगो आदिवासी जनजाति समुदाय नै पीडित छन् भने त्यो प्रवृत्ति नभएर दर्शन नै हो ।
खगेन्द्र संग्रौलाले ‘ब्राम्हणवादको साटो पुरेतवादको प्रयोग गर्न उपर्युक्त देखिन्छ’ भनेर दिएको सुझावलाई पुरेत्याई कर्मकाण्डले मात्रै आदिवासी जनजातिलाई पीडित बनाइएको भए यसलाई पुरेतवाद मान्न सकिन्थ्यो । पुरेत त ब्राम्हण समुदायको एउटा सम्प्रदाय हो । कर्मकाण्डको प्रतिष्ठालाई पुरा गर्छ । सबै ब्राम्हणले पुरेत्याई गरेको पाइदैन । ब्राम्हणवादलाई पुरेतवाद भन्नु प्रवृत्ति मान्नु भनेको लेनिनकै भाषामा ‘मूल बाटो छोडेर बङ्ग्याइयो भने त्यो संसोधनवाद हो’ भनेका थिए ।
आजभोली आदिवासी नेता, बुज्रुक बुद्धिजीविहरुले ब्राम्हणवाद आदिवासी जनजातिभित्र पनि छ भनेर काइते तर्क गर्न थालेका छन् । पत्रकार अरुण बरालले बाहुनवाद पुस्तकको पेटबोलिमा लेखेको त्यही कुराप्रति खपाङ्गीले दाह्री मुसार्दै भनेका थिए जनजातिले पनि दलितले छोएको खाँदैन । सोही बिषयलाई लिएर बाहुनहरूले जनजातिभित्र पनि बाहुनवाद छ भन्नु सर्वथा बेठिक छ । धनि आदिवासीले आनो आदिवासी समाजभित्र त कसैलाई बार्दैन । प्रतिप्रश्न गर्दै सोधे आदिवासी जनजातिको कुन दर्शन राज्यको मुल कानुन, ऐन, नियम बनेर शाषन गरेको छ ? आदिवासी जनजातिभित्र बाहुनवाद छ भन्नुको तात्पर्य ‘मूल विषयलाई बङ्ग्याइएर दिग्भ्रमित पार्नु हो ।’ त्यसैले आदिवासी जनजाति नेता कुहिरोका काग झैं रुमल्ली रहेका छन् ।
(भदौ ११ गते गोरेबहादुर खपाङ्गी मगरको सातौं स्मृति दिवस सन्दर्भमा ।) [email protected]