सुकुम्बासीलाई धनीपूर्जा वितरण गर्दै भूमि समस्या समाधानको बाटोमा अर्जुनधारा « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

सुकुम्बासीलाई धनीपूर्जा वितरण गर्दै भूमि समस्या समाधानको बाटोमा अर्जुनधारा


यलम्वर टाइम्स
११ आश्विन २०८०, बिहीबार ०६:२८

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले ६ भूमिहिन तथा अव्यबस्थित सुकुम्बासीहरुलाई जग्गाको धनीपूर्जा वितरण गर्दै भूमि समस्या समाधानको बाटोमा अघि बढेको छ ।

प्रतिनिधिसभा सभामुख देवराज घिमिरेको उपस्थितिमा नगरपालिकाले धनीपूर्जा वितरण गर्दै भूमि सम्बन्धि समस्या समाधानका विषयमा नगरपालिका एक कदमअघि बढेको हो ।

नगरले पहिलो पटक वडा नं. ११ का ६ जनालाई भूमिहिन तथा अव्यबस्थित सुकुम्बासीहरुलाई धनीपूर्जा वितरण गरेको थियो ।

कार्यक्रममा अव्यवस्थित बसोबासी ७ हजार ६ सय, भूमिहिन दलित २ सय, भूमिहिन सकुम्बासी एक हजार २ सय गरी ९ हजार बढीको निवेदन परेको नगर प्रमुख बलदेवसिंह गोम्देनले बताए । त्यसमध्ये नगरपालिकाले २०७१ जनालाई धनीपूर्जा वितरणका लागि निस्सा प्रदान गरिसकेको छ ।

उनका अनुसार वडा न १, ५ र ११ मा निस्सा वितरण गरिसकिएको छ । त्यसैगरी वडा न २, ६, ७ र ८ मा निस्सा वितरणको लागि तयारी अवस्थामा रहेको जानकारी दिए ।

कार्यक्रममा वडा नं. ११ का दुर्गाराज थापा, मदनकुमार भट्टराई, सुनैना गुप्ता, गणेशबहादुर श्रेष्ठ, भवानीप्रसाद मैनाली र डम्बरबहादुर बस्नेतलाई जग्गाको धनीपूर्जा कार्यक्रमका प्रमुख अतिथि सभामुख घिमिरेले वितरण गरेका थिए ।

नगर प्रमुख गोम्देनको सभापतित्वमा भएको कार्यक्रममा पूर्वमन्त्री केशवकुमार बुढाथोकी, राष्ट्रिय भूमि आयोग जिल्ला समिति झापाका अध्यक्ष तिलकसिं पाण्डे, आयोगका सदस्य ताराप्रसाद उपाध्याय, नगरका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, पूर्व प्रदेश सभा सदस्य बिर्खबहादुर प्रधान, वडाका जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

नगर उपप्रमुख खड्गमाया पराजुलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगरका कर्मचारी सौजन कटुवालले सञ्चालन गरेका थिए ।