[सन्तोष नेम्वाङ]
दशैं आयो खाउला, पिउला
कहाँबाट ल्याउला, चोरी ल्याउला
भाग बुढी भाग
भन्दै साना साना औंला भाँचेर साना साना नानीहरुले गाउने गीतको वाक्यांशहरु हुने खाने र हुँदा खाने परिवारको बीचको सीमा रेखाझैं लाग्दछ । हुने खानेका लागि यो शब्द कविता नै लाग्ला तर हुँदा खानेहरुका लागि यो शब्द बिडम्बना स्वरुप यथार्थमा रचिएको शब्दझैं लाग्दछ । नेपालीहरुको वर्षमा एक पटक आगमन हुने बडा दशैंको प्रतिक्षा सबैलाई रहन्छ । हुने खानेका लागि त दशैंको जोहो गर्न त्यति चिन्ता रहन्न तर हुँदा खानेहरुका लागि दशैं अभिषाप त होइन तर पनि जोहो गर्न पहाड नै लाग्छ । हुने र नहुनेको लागि दशैंको आगमनको प्रतिक्षा एकै प्रकारको हुन्छ । चाँड मनाउनु आफ्नो गच्छे अनुसार हुन्छ । कसैले छाक नबिराई खाला त कसैलाई मीठोमसिनो खान पाहुना नै पर्खिनु पर्ला । त्यो कुरा आफ्नो ठाउँमा छ । तर दशैंको रोनक सबै नेपालीहरुको आँगनमा एकै नाशले आएको हुन्छ । तर त्यो रौनकता घरभित्र प्रवेश गर्न भने आ–आफ्नो गच्छे अनुसार हुने रहेछ । अनि त्यो गच्छे भित्र्याउने जिम्मा घरका मूलिकको हुन्छ ।
मलाई आज पनि स्मरण छ हामी सानो छदा साना–साना औंला भाच्दै ‘दशैं आयो ! खाउला, पिउला’ भन्दै साथीहरुसँग खेलथ्यौं । भदौरे घाममा आँगनभरी पाटा सुकाएको दृश्य देखेर अब चाहिँ हाम्रो दशैंको नाना लगाउन पाइने भइयो भनेर ढुक्क हुन्थ्यौं । मनको खुसी थाम्न नसकेर खेतमा गएर सेतो लागेको धानको गह्रामा सन्ठी गाड्दै दशैंको प्रतिक्षा गथ्र्यौं । आलीमा उम्रिएको कालो दालको झाडीको शीतले खुट्टा भिजेको हुन्थ्यो । खाली खुट्टा आलीमा दौडदा हाफपाइन्ट पनि लुथ्रुक्कै भिजेको हुन्थ्यो । शीतको चिसोले खाली खुट्टा कठ्याङ्ग्रीएर पाइताला चाउरी परेको हुन्थ्यो । बिहान र बेलुका बेग्लै प्रकारको सुगन्ध वातावरणमा छरिएझैं लाग्थ्यो । साथमा दशैंको आगमनको रोमाञ्चकताले गर्दा मनमा बेग्लै आनन्द छाएको हुन्थ्यो ।
दिदी बहिनी र छिमेकीका साथ लागेर हातमा सानो कुटो बोकेर सुखानी जंगलमा रातो माटो लिन लस्कर लागेर जाँदा खाली खुट्टामा न त ढुंगाले बिझाउँथ्यो न त जंगलमा काँडाले नै घोच्थ्ये । गाईको बाच्छाझैं बुर्कुसी मारेर दौडदा ढुंगामा चिप्लिएर लड्नु त स्वाभाविक नै थियो । त्यो रातो माटो घरमा ल्याएर भिजाएर टाटीको भित्तामा रंग्याउँदा मन त रमाउने छदैछ आँखा पनि रमाएर आउँथ्यो ।
दशैंमा हामी केटाकेटीहरुलाई केवल पाउनुको मात्र ध्येय हुन्थ्यो । सुरुमा नयाँ कपडा लगाउन पाउनु, त्यसपछि मासु भात खान पाउनु अनि दशैंमा रातो अक्षता दहीमा मुछेर आशीर्वादसहित पाउने दक्षिणाको त कुरै छाडौं । दक्षिणा पाउनुका सपनाहरु आजको यो समयमा आइपुग्दा केटाकेटीहरुको नैसर्गीक अधिकार नै हो जस्तो लाग्न थाल्यो । दशैंको रौनकता त केटाकेटी भएको घरमा धेरै थपिन्छ । यदि कुनै घरमा केटाकेटी नभएर रौनकताले बिर्सिएको घरमा ज्येष्ठ नागरिकहरु दशैंमा दुई छाक चिची मात्र खाएर धुमधुम्ती कुनामा बसेर दशैं मनाइरहेको मेरो यही आँखाले देखेको छु ।
आज आफू घरमूलीको जिम्मेवारी सम्हालेको अवस्थामा दशैंको रौनक केही पृथक नै हुने रहेछ । दशैंको आगमनसँग दिनु केवल दिनुमात्र हुने रहेछ । त्यो बालापन सबै भुलेर घरको जिम्मेवारी सम्हाल्नुको अनुभव मात्र पनि एक नौलो अनुभूति हुने रहेछ । दशैं प्रारम्भ भएसँगै छोराछोरीहरुलाई कपडा किनेर दिनु, त्यस पश्चात मीठामीठा भोजनको व्यवस्था मिलाई दिनु चीरञ्जीविको आशीर्वादसँग टिका लगाईदिनु अनि हातमा गच्छे अनुसारको दक्षिणा राखिदिनु, बालक र प्रौंढमा यही फरक रहेछ । लिनु र दिनु नै मुख्य अन्तर रहेछ ।
दशैंको आगमनसँगै परदेशमा रहेका आफन्तहरुको घर फिर्नेको लर्को देख्दा एक प्रकारको रोमाञ्चक थपिदोरहेछ । बढेमानको सुटकेशहरुले घरको बरण्डा भरिदा छिमेकीहरु आशा भरिएको नजर लिएर आँगनमा भेला हुँदा रमझम त त्यसै बढ्ने नै भयो । साथै परदेशीको परिवारको ओठमा सन्तुष्टिको मुस्कानले घरै झिलमिलाउने भयो । यस्तोमा वर्षभरी छिमेकीसँग भएका मनमुटावहरु भुलेर, आफूले अंगालेको धर्म भुलेर चाहेँ त्यो कृश्चियन हो या मुसलमान यी सबैले दशैंको चाडलाई सांकेतिक रुपमा भए पनि मनाइरहेका हुन्छन् । विदेशमा रहनेहरु पनि घर फिर्न नपाएपछि आफ्नै कर्म क्षेत्रमा आफ्नो देशको माटो मुछेर एक अर्कालाई टीका लगाउँछन् । भारतमा रहेको भारतीय मूलका नेपालीहरु पनि हर्षोउल्लासका साथ दशैं मनाइरहेका हुन्छन् ।
दशैं एउटा यस्तो चाड हो, जुन रिसाएका आफन्तहरु पनि चाडभरीमा एक पटक आफूभन्दा ठूलाको घरमा टीका थापी आशीर्वाद लिन अवश्य आउँछन् । त्यसैले यो चाडलाई मिलनको चाड पनि भनिन्छ । यो चाड सदियौंकालदेखि मनाउँदै आएका छन् र अनन्तकालसम्म मनाइरहने छन् ।
अन्त्यमा २०८० सालको विजय दशमीले हामी सबैको आँगनमा पाइला टेकेको छ । देशको परिस्थिति अनुसार मेलमिलापसहित आफ्नो परिवारको बीचमा खुसी साथ दशैं मनाउनु होला । साथै देशविदेशमा बस्ने सम्पूर्ण नेपालीहरुमा विजय दशमीको हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु ।