अर्जुनधारामा वडास्तरीय यू–१८ फुटबल हुने « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

अर्जुनधारामा वडास्तरीय यू–१८ फुटबल हुने


यलम्वर टाइम्स
२३ पुष २०८०, सोमबार ०८:२८

अर्जुनधारा । अर्जुनधारामा यस वर्ष पनि १८ वर्षमुनिका खेलाडीबीच वडास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।

शनिश्चरे फुटबल क्लबले माघ १९ गतेदेखि वडास्तरीय फुटबल प्रतियोगिताको दोस्रो संस्करण गर्न लागेको हो ।

स्थानीयस्तरमा फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

माघ २८ गते हुने फाइनलको विजेताले नगद ३० हजार र ट्रफी पाउने प्रतियोगिता आयोजक समितिका संयोजक सुरेन राईले बताए ।

अर्जुनधारा नगरपालिकामा ११ वटा वडा रहेका छन् । प्रतियोगिताको विजेताले नगद २० हजारमा चित्त बुझाउनु पर्नेछ । प्रतियोगितामा प्लेयर अफ दी टुर्नामेन्ट, बेस्ट गोलकिप्पर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्ड, हाइ स्कोरर, राइजिङ प्लेयरलगायतका विधाका उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरिने प्रतियोगिता आयोजक समितिका सचिव पेमा तामाङले जानकारी दिए ।

झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहने उक्त प्रतियोगिता सम्पन्न गर्न अनुमानित चार लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजक क्लबका सचिव हरि गुरुङले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न अर्जुनधारा नगरपालिका, वडा कार्यालयहरु, विभिन्न दातृ संस्था र दाताहरुसँग समन्वय गरिने बताइएको छ ।

प्रतियोगिता आयोजक समितिका संयोजक राईको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेती, अर्जुनधारा ७ का वडाध्यक्ष गोविन्दप्रसाद खतिवडा, नगरसभा सदस्यद्वय मदन लिमेल मगर र भीम राई, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले ‘मामा’लगायतले प्रतियोगिता सफल पार्न प्रतिबद्धता व्यक्त गरे ।