स्थानीय मिडियाको संरक्षण स्थानीय सरकारबाटै हुनुपर्ने « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

स्थानीय मिडियाको संरक्षण स्थानीय सरकारबाटै हुनुपर्ने


यलम्वर टाइम्स
६ जेष्ठ २०८१, आईतवार १०:५९

सुरुङ्ग । स्थानीय मिडियाको संरक्षण स्थानीय सरकारबाट हुनुपर्ने झापाको कनकाइ नगरपालिका स्थित जामुनखाडीमा आयोजित मिडिया सम्मेलनले जोड दिएको छ ।

नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा संघीयतामा सञ्चारः नीति, अवस्था र चुनौती विषयमा आयोजित मिडिया सम्मेलनले उक्त कुरालाई जोड दिएको हो ।

संघीयतामा सबैभन्दा नजिकको सरकार स्थानीय सरकार भएको बताउँदै उनीहरुले गरेको नीति, विकास लगायतका पक्षमा पत्रकारले निष्पक्ष भएर वकालत गर्नुपर्ने बताइएको थियो ।

सम्मेलनमा स्थानीय सरकारसँग कुम जोडेको भरमा उनीहरुले गरेका नराम्रो कामलाई ढाकछोप गर्नु पत्रकारिताको मर्मभित्र नपर्ने बताउँदै स्थानीय सरकारले पनि आफ्ना मान्छेलाई मात्र संरक्षण गर्न नहुने बताइयो ।

मिडिया सम्मेलनमा संघीयतामा सञ्चारः नीति, अवस्था र चुनौतीसँगै डिजिटल पत्रकारिता अवसर र चुनौती साथै पत्रकारिता र बिज्ञापनका बिषयमा समेत जानकारी गराइएको थियो ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष शिव गाउँलेले सहजीकरण गरेको संघीयतामा सञ्चारः नीति, अवस्था र चुनौतीका बिषयमा आन्तरिक मामिला तथा कानुन मन्त्री कोशी प्रदेशका लीलावल्भव अधिकारी, सूचना तथा प्रशारण बिभागका निर्देशक भरत गौतम, महोसंघका पूर्व केन्द्रिय अध्यक्ष धमेन्द्र झा, महासंघका बरिष्ठ उपाध्यक्ष रमेश बिष्ट, स्थानीय सरकार प्रमुख कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले प्यानल डिस्कशन गरेका थिए ।

त्यस्तै डिजिटल पत्रकारिता अवसर र चुनौती बिषयमा बिज्ञ अरुण कार्की र पत्रकारिता र बिज्ञापनका बिषयमा बिज्ञापन बोर्ड नेपालका अध्यक्ष लक्ष्मण हुमागाईले सहजीकरण गरेका थिए ।

यस्तै मिडिया सम्मेलनले १० बुँदे घोषणा पत्र पनि जारी गरेको छ । सञ्चार नीतिमा उल्लेख भएअनुसार विकेन्द्रीत नीतिलाई कार्यान्वय गर्न, सम्मेलनमा श्रमजीवि पत्रकारिता ऐन पूर्ण कार्यान्वन, संघीयतालाई कार्यान्वय गर्ने सन्दर्भमा बढ्दै गएको विकृति र गिर्दो आचरणलाई सुधार गर्न, प्रविधिको बढ्दो विकाससँगै धरासायी बन्दै गएको पत्रकारिता क्षेत्रलाई संस्थागत गर्नका लागि राज्य पक्षबाट सञ्चार नीतिलाई कार्यान्वयन गर्न, सञ्चार नीतिमा उल्लेख भएको लैंगिक, भाषिक, भौगोलिक र जातीय प्रतिनिधित्व हुने गरी नीति गत समावेशीतालाई स्थानीय तहसम्म कार्यान्वयन सम्मेलनले माग गरेको छ । महासंघ कोशी प्रदेश कोषाध्यक्ष बिमल लामिछानेको संयोजकत्व केशव भट्टराई, लीला अनमोल र सन्तोष शर्मा सदस्य रहेको गठित घोषणापत्र जारी समितिले उक्त मागसहित १० बुँदे घोषणापत्र जारी गरेको हो ।

त्यस्तै लोक कल्याणकारी विज्ञापनलाई पुनः परिभाषित गरी यसलाई बहुउपयोगी बनाउन, आम सञ्चार र पत्रकारिता क्षेत्रलाई विषय बनाएर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई यसै क्षेत्रमा क्रियाशील बनाउने वातावरण सिर्जना गरी सञ्चार क्षेत्रमा आकर्षित गर्न, पत्रकार महिलाको पेशागत तथा भौतिक सुरक्षाका लागि विशेष प्याकेजको प्रबन्ध गर्न, सञ्चार माध्यमको दर्ता, वर्गीकरण, विज्ञापन नीति, संघीय, प्रादेशिक र स्थानीय तहको अलग–अलग ऐन तत्काल ल्याउन र कार्यान्वयनका लागि र कनकाई नगरसहित समग्र झापाका पर्यटकीय क्षेत्रको प्रबद्र्धनसँगै पर्यटन पत्रकारितालाई जोड्न मागसहितको घोषणा पत्र जारी सम्मेलनले जारी गरेको छ ।

महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको मिडिया सम्मेलनमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रामबहादुर राना, महासंघका निवर्तमान अध्यक्ष बिक्रम लुइटेल, महासंघका कार्यबहाक अध्यक्ष लवदेव ढुङ्गानालगायतले शुभकामना मन्तव्य राखेका थिए । स्वागत महासंघ झापा शाखाका उपाध्यक्ष केशव भट्टराईले गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।