पालिका तथा प्रदेश सरकार मातृभाषामा सहयोग गर्न मौन
बिर्तामोड । आफ्नो मातृ भाषा सजिलै सिक्न आमाबाबुको पनि ठूलो भूमिका हुन्छ । बाल्यकालमै अभिभावकले आउने सन्ततीहरुलाई भाषाको ज्ञान दिलाउन सकिएन भने धेरै बकुल्लाहरु बीच एक्लो काग भए जस्तै हुन पुगिन्छ ।
झापा कनकाई नगरपालिका ९ कि एक युवतीले आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाद्वारा आयोजित एक विचार गोष्ठीमा आफू आफ्नो मातृ भाषाबाट बञ्चीत भएको पीडा पोखिन् ।
शिक्षामा बहुभाषिकता र आदिवासी ज्ञानका लागि आदिवासी युवाहरुको भूमिका विषयक एक दिने कार्यशालामा प्रेरणा राजवंशीले आफू आफ्नो मातृभाषाबाट बञ्चित हुनुको मुख्य कारण आफ्नै अभिभावक भएको सुनाइन् ।
प्रेरणाले भनिन्, ‘मेरो परिवार शिक्षित परिवार हो । मेरी हजुरआमा सरकारी विद्यालयको शिक्षक हुनुहुन्छ । मेरो बाबा बोर्डिङ स्कुल सञ्चालक तथा प्रिन्सिपल र ममी पनि सहायक प्रिन्सिपल हुनुहुन्छ । सानैदेखि अंग्रेजी पढ्नुपर्छ भन्ने ज्ञान मेरो परिवारले मलाई प्रदान गरेको हुँदा म मेरो मातृभाषाबाट टाढा हुन पुगें ।’
उनले अझ थपिन्, ‘मलाई बाल्यकालमा खेलाउने सामग्री दिँदा पनि अंग्रेजी शब्दबाट बोल्ने खेलाउने सामग्री दिएको कारण आजभोलि म मेरा आफन्त कहाँ जाँदा भाषाकै कारण एक्लो भएको महसुस गर्छु ।’ प्रेरणाले आफ्नो पीडा कार्यशालामा पोख्दा उपस्थित सबै युवाहरु मन्त्रमुक्त भएका थिए । उमेरले १८ पार नगरेकी उनले भाषाको पीरलो भएको महशुस गरिन् ।
उनीसँगै सहभागि हुन आएकी खुशी सिंह राजवंशीले आफ्नो मातृभाषाको ज्ञान हुँदा हौसला प्राप्त भएको बताइन् । आफ्नो संस्कार, संस्कृति वा विभिन्न कार्यक्रममा सहभागि भई राजवंशी भाषा बोल्दा गर्व महशुस गरेको सुनाइन् ।
प्रेरणाको बुबा अरुण कुमार राजवंशी राजवंशी समुदायका शिक्षित युवा हुन् । राजवंशी भाषा, लिपी अध्ययन गर्नु गराउनु भनेर नेपाल आदिवासी जनजाति महासंघ झापाका सदस्य भएर आफ्नो मातृभाषालाई प्राथमिकता दिन शिक्षा कार्यालय झापाका खुब लडे तर राजवंशी शिक्षक दरबन्दि नभएकोभन्दै शिक्षा शाखाले आलटाल गरेर अपहेलाना गरेपछि राजवंशी जातिको मातृभाषा पछि पर्यो ।
अरुण भन्छन्, ‘प्रेरणा मेरो छोरी हो । उनी जस्ता धेरै राजवंशी परिवारका सन्ततीहरुमा प्रेरणाकै जस्तो पीडा छ ।’ उनले कोच सम्प्रदायको राजवंशी भाषा पढाउनका लागि गौरादहमा विद्यालय खोलेको तर सरकारले बजेट विनियोजन नगर्दा हाल बन्द भएको सुनाए ।
यता खुशी सिंह राजवंशीले भने राजवंशी भाषा लिपी पढ्न नपाए पनि घरैमा अभिभावकबाट मातृभाषा सिक्दा धेरै ज्ञान भएको तर्क राखिन् । कार्यशालामा उपस्थित अधिकांश युवा युवतीहरूको पीडा यस्तै थियो ।
मातृभाषा पढ्ने मन भए पनि सरकारले आदिवासी जनजातिका लागि उचित व्यवस्था नगरिदिँदा यस्ता खालका कार्यक्रममा गुनासो राख्न बाहेक अरू केही हुँदैन, सुनुवार विद्यार्थी समाजका पूर्व अध्यक्ष राज मुखियाले बताए ।
गोष्ठीमा राजले खुलेरै भने, सुनुवार सेवा समाजको एक कार्यक्रममा उपस्थित हुँदा सबै सहभागिहरुले सुनुवार भाषामा आफ्नो परिचय दिनुभयो । मलाई भाषा नआएपछि बोल्न सकिन र परिचय दिन कठिन भयो । त्यो भन्दा ठूलो पीडा मेरो जीवनमा अर्को केही हुन सकेन ।
राजले आफ्नो पूर्खौली किपट रामेछाप, ओखलढुंगा भएको बताउँदै भने, ‘हाम्रो किपट क्षेत्रमा क्षेत्री, बाहुन, राई सबैले सुनुवार भाषा बोल्छन तर आफू सुनुवार विद्यार्थी नेता भएर पनि बोल्न नसक्नु राज्य सत्ताले सहयोग नगरेको हो भन्छु ।’
२०७२ को संविधानले सबै भाषा, लिपी बोल्न र पढ्न पाइने भनिरहेको बेला स्थानीय सरकारले भाषा लिपीमा सहयोग नगर्दा हामी आफै किताब किनेर एक ठाउँ जम्मा भएर पढ्न बाध्य छौं । यो दोष मेरो देशका स्थानीय शासक र सत्तामा रमाउने ठूला जातिलाई दिनुपर्छ ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका लेखा प्रमुख तेजेन्द्र तामाङले आफ्नो विचार राख्दै भाषा र लिपीको धनी भनेर हाम्रो देशलाई विश्वले चिनेको छ । तर हाम्रै देशका शासकहरु आदिवासीप्रति उदासिन छन् । यदी बहुसंख्यक आदिवासी बसेको ठाउँमा भाषा लिपीको शिक्षा प्रदान गरिदिएको भए म पनि तामाङ भाषा बोल्न सक्ने थिएँ । लेख्न र पढ्न सक्ने थिएँ । मेरो धार्मिक ग्रन्थमा के छ अहिले म पढ्न र बुझ्न सक्दिन ।
कोलम्बो युनिभरसिटी (यूएसए) का प्रोफ्रेसर डा. प्रेम फियाक लिम्बूले सहजीकरण गरेको कार्यक्रममा सहभागिहरुको भाषा प्रेम, बोल्न र पढ्न नपाउँदाको पीडाप्रति दुःख व्यक्त गरेका थिए ।
उनले राज्यले यसरी नै छेक्ने हो भने कुनै दिन ठूलै विस्फोट हुन सक्ने बताउँदै २०७२ को संविधानले सबै मातृभाषा, लिपीमा पढ्न पाउनुपर्ने अधिकार उल्लेख हुँदाहुँदै पनि स्थानीय सरकारले सहयोग नगरिदिँदा संविधानको खिल्ली उडाएको आभाष भएको सुनाए ।
उनका अनुसार जातिय संघ, संस्थामार्फत स्थानीय सरकारलाई भाषा, लिपी पढ्न लेख्न र सिक्ने अवसर जुराउन अनुरोध गर्नुपर्छ । अनुरोध गर्दा पनि सहयोग प्राप्त नभए नियम अनुसार कानुनको ढोका ढकढक्याउनु पर्ने हुन्छ ।
आदिवासी जनजाति पत्रकार महासंघ झापाद्वारा आयोजित कार्यक्रममा सहभागि चौधरी, तामाङ, राई, लिम्बू, नेवार, मगर, राजवंशी आदिले आफ्नो जातिभित्र पर्ने मौलिक परम्परा टोटोला, सिलाम साक्मा, मर्चा, साकेला नृत्य, छेगु, याङवेन, महपूजा, घुगीं, सिरुवा, छटु नृत्य, यालङ नृत्यका विषयमा चर्चा गरेका थिए ।
फोनिज झापाका अध्यक्ष भूमिका फियाक लिम्बूको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि संघीय उपाध्यक्ष कमन देवान, झापाका संस्थापक अध्यक्ष दिपीन राई, आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी लगायतले अधिकारबाट बञ्चित हुनुको पछाडि आदिवासी जनजातिमा पूर्ण एकता र अधिकार खोज्ने ठाउँमा नपुग्नु मुख्य कारण भएको बताउँदै यसरी बञ्चित गर्दै जाने हो भने एउटा पाटो सधैं अध्यारोमा रहने बताए ।
सचिव तिलक योञ्जनले सञ्चालन गरेको छलफलमा पूर्व अध्यक्ष गणेशमान मुखिया, विशाल नेम्वाङ, इन्द्रजीत मुखिया लगायतको आतिथ्य रहेको थियो ।