खड्काको अर्धशतकमा यूएई ६ विकेटले पराजित « Yalambar Times
३१ भाद्र २०८१, सोमबार

खड्काको अर्धशतकमा यूएई ६ विकेटले पराजित


यलम्वर टाइम्स
५ श्रावण २०८१, शनिबार ०३:०६

झापा । श्रीलंकामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’ को उद्घाटन खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको छ ।

टस हारी ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १६.१ ओभरमा चार विकेट गुमाउँदै उक्त लक्ष्य भेटायो । जितका लागि २ रन चाहिएको अवस्थामा सम्झना खड्काले चौका प्रहार गरेकी थिइन् ।

नेपालको जितमा बलिङतर्फ कप्तान इन्दू बर्मा र ब्याटिङतर्फ सम्झना खड्काले महत्वपूर्ण योगदान गरे । बलिङतर्फ इन्दूले तीन विकेट लिइन् भने सम्झनाले उत्कृष्ट अर्धशतकीय पाली खेलिन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो अर्धशतक प्रहार गर्ने क्रममा ओपनरको रुपमा आएकी २४ वर्षीया सम्झनाले ४५ बलमा अविजित ७२ रन बनाइन् । उनले आठ चौका प्रहार गरेकी थिइन् । पूजा महतो ७ रनमा अविजित रहिन् । यूएईकी बलर कविसा एगोडेगले तीन र लावन्या केनीले एक विकेट लिए ।

नेपालका लागि कप्तान इन्दूले तीन विकेट लिएकी थिइन् । उनले चार ओभरमा १९ रन खर्चिइन् । सबनम राई, कृतिका मरासिनी र कविता जोशीले पनि एक–एक विकेट हात पारे ।

यस्तै सोही दिन बेलुका भएको प्रतियोगितामा भारतले पाकिस्तानलाई ७ विकेटल पराजित गरेको छ ।

टस जितेर पहिला व्याटिङ रोजेको पाकिस्तानले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०८ रनमा समेटिएको थियो ।

जवाफि व्याटिङमा उत्रिएको भारतले १४.१ ओभरमा ३ विकेट गुमाउँदै उक्त लक्ष्य पुरा गरेको थियो ।