झापामा नरबहादुरको ११ औं स्मृति दिवस भव्य « Yalambar Times
३१ भाद्र २०८१, सोमबार

झापामा नरबहादुरको ११ औं स्मृति दिवस भव्य


यलम्वर टाइम्स
१७ श्रावण २०८१, बिहीबार ११:१०

बिर्तामोड । नेकपाका संस्थापकहरु मध्ये नरबहादुर कर्माचार्यको ११ औं स्मृति दिवस झापामा मनाइएको छ ।

झापाको गौरीशंकर स्मृति सभाहलमा स्व. नरबहादुरको योगदान र कम्युनिष्ट संगठनमा खेल्नुभएको भूमिकाप्रति उपस्थित सबैले स्व. कर्माचार्यलाई सम्झेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व राज्यमन्त्री धर्मशिला चापागाईंले स्व. नरबहादुर कर्माचार्य संस्थापक मध्येका एक अग्रज भएको हुँदा उनको सम्झना कम्युनिष्ट पार्टीभित्र उच्च रहने बताए ।

प्रमुख अतिथि चापागाईंले अगाडि भनिन्, ‘परिवर्तनको युद्धमा राणा र राजालाई फ्याँक्ने यस्ता महान योद्धाप्रति कम्युनिष्टभित्र सधै सम्मान रहनेछ ।’

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान बहुभाषिक शिक्षालय बिर्तामोडले आयोजना गरेको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष ज्योतिसिंह दर्लामीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै उनको नामबाट सञ्चालित बहुप्राविधिक शिक्षालयबाट दक्ष र अनुभवि नागरिक निर्माणमा योगदान पुर्याएको बताएका छन् ।

उनले यस प्रतिष्ठानबाट बाली विज्ञान, पशु विज्ञान, वन विज्ञान र होटल म्यानेजमेन्ट जस्ता कक्षा सञ्चालन हुँदै आएको जानकारी दिए । अध्यक्ष दर्लामीले निकट भविष्यमा फार्मेसी कक्षा सञ्चालन गरिने पनि जानकारी गराए । उक्त प्रतिष्ठान बिर्तामोड नगरपालिका–२ चारपानेमा रहेको छ ।

कार्यक्रममा पूर्व प्रदेशमन्त्री झलकसिंह दर्लामीले यस स्मृति प्रतिष्ठान स्थापना गरेर कम्युनिष्ट योद्धा नरबहादुरको उच्च कदर गरेको बताउँदै गरिब नागरिकका जेहेन्दार छोराछोरीहरुलाई सरल रुपमा दक्ष निर्माण गर्न यसको भूमिका अहम् रहेको बताए ।

कार्यक्रममा पूर्व प्रदेशमन्त्री दुर्गाप्रसाद चापागाईं, गौरीशंकर स्मृति प्रतिष्ठानका अध्यक्ष राजु चुडाल लगायतले प्रतिष्ठानबाट सञ्चालित बहुप्राविधिक शिक्षालाई अझ जनमुखि बनाई उत्कृष्ट निर्माणमा सबैको अहम् भूमिका रहनुपर्नेमा जोड दिए ।

प्रतिष्ठानका सहसचिव शिवराम भण्डारीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष मोहन टुडुले स्वागत गरेका थिए ।