‘अब शहीदको घरमै गएर सम्मान गरौं’ « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

‘अब शहीदको घरमै गएर सम्मान गरौं’


यलम्वर टाइम्स
१९ श्रावण २०८१, शनिबार ०३:०६

बुद्धशान्ति । संविधानसभाका सदस्य तथा महिला नेतृ धर्मशिला चापागाईंले राष्ट्रका नाममा ज्यान कुर्बान गर्ने शहीदहरुलाई अब उनीहरुको घर आँगनमा पुगेर शहीद दिवस मनाउनुपर्ने बताएकी छिन् ।

महान शहीद छविलाल आचार्य ‘अणु’ को २२ औं स्मृति दिवसमा माओवादी केन्द्रकी नेतृ समेत रहेकी चापागाईंले शहीदको नाममा एक ठाउँमा उभिएर सभा गर्नुभन्दा उनीहरुकै घरआँगनमा पुगेर शहीद हुने व्यक्तिको व्यक्तित्वमाथि चर्चा गर्दै समवेदना प्रकट गरेको खण्डमा घर गाउँलेले सुन्ने, शहीद परिवारले मनन् गर्ने हुन्छ त्यसैले शहीद सप्ताहको नाममा सबै शहीदहरुलाई एकै ठाउँ राखेर अन्तरक्रिया गर्नु उचित नहुने बताइन् ।

पार्टीका झापा जिल्ला इन्चार्ज झलकसिंह दर्लामीले जनयुद्धका बेलामा कम्रेंड अणुले दिएको बलिदान पार्टी संगठनलाई टेवा पुगेको बताए । झापा अध्यक्ष राजु आचार्य ‘अग्नी’ले शहीदको बलिदानले पार्टी एकता र सुदृढिकरणमा टेवा पुग्ने बताए ।

पार्टी अध्यक्ष प्रेम नेम्वाङको सभापतित्वमा भएको कार्यक्रममा छत्र तिम्सिना, बोधराज दाहाल, पुरुषोत्तम चुडाल, तारा सुवेदी, धनबहादुर मगर लगायत शहीदका परिवारको समेत उपस्थिति रहेको थियो ।