ढुंगामा मूर्ति बनाएर पर्यटकलाई लोभ्याउँदै फिदिमको जेभाले (फोटो सहित) « Yalambar Times
३१ भाद्र २०८१, सोमबार

ढुंगामा मूर्ति बनाएर पर्यटकलाई लोभ्याउँदै फिदिमको जेभाले (फोटो सहित)


यलम्वर टाइम्स
१९ श्रावण २०८१, शनिबार ०३:२१

[सुवास राई ‘समिप’]

फिदिम । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पाँचथरको फिदिम नगरपालिका–१३ जेभालेमा ढुङ्गामा खोपेर विभिन्न ऐतिहासिक व्यक्तिहरुको मूर्ति निर्माण गरेका छन् ।

चटान नै चटानले भरिएको जेभालेमा सबैभन्दा ठूलो सुम्निमा–पारुहाङको मूर्ति निर्माण गरिएको छ । १२.५ फुट लम्बाई र १७.५ फुट चौडाइको प्रतिमा निर्माण गरिएको जनाइएको छ ।

सो क्षेत्रमा सुम्निमा–पारुहाङको साथै १६ औं राष्ट्रिय विभुती महागुरु फाल्गुनन्द, गौतम बुद्ध, नेपालको राष्ट्रिय झण्डा र शिव भगवानको मूर्ति बिना धातु ढुङ्गामा खोपेर निर्माण गरिएको छ ।

गुप्तेश्वर महादेव, थान मुन्धुम पार्क, हुक्मा डाँडा पर्यटन प्रवद्र्धन विकास संस्था फिदिम–१३ जेभाले समिति निर्माण गरि गजेन्द्र राइको अध्यक्षमा २०८१ साल असार ९ गतेदेखि निर्माण कार्यको काम सुरु गरेको थियो ।

दुई महिना नबित्दौ निर्माण कार्यको काम अन्तिम चरणमा पुगेको अध्यक्ष राईले बताए । सदरमुकाम फिदिमदेखि फालोटको सडक भएर डेरी बजार पुगेपछि कच्ची सडकको प्रयोग गरी त्यस ठाउँमा पुग्न सकिन्छ । धार्मिक स्थल गुप्तेश्वर महादेवको मन्दिरसँगै विभिन्न रमणीय दृश्यावोलकन गर्न सकिन्छ ।

त्यहाँ जाने जो कोहीलाई सुरुमा गुप्तेश्वर महादेवको प्रवेशद्वार गेटले स्वागत गर्छन् । सुनसान बस्ती पञ्चमी भञ्ज्याङ् आन्तरिक र बाह्य पर्यटनको लागि अत्यन्तै उपयुक्त ठाउँ हो ।

पञ्चमी भञ्ज्याङदेखि हुक्मा डाँडासम्म पुग्न करिब १ किलोमिटरको दूरी पार गर्नुपर्ने हुन्छ । त्यसभित्र ढुङ्गा नै ढुङ्गा मिलेर बसेकोले त्यस ठाउँलाई रक गार्डन भनेर नाम दिइएको छ ।

फाल्गुन अन्तिमदेखि बैशाख अन्तिमसम्म लालीगुराँस ढकमक फुलेको हुन्छ । हुक्मा डाँडा त्यस ठाउँको भ्यू प्वाइन्ट हो । फिदिम नगरपालिकाको सबै वडा, छिमेकी जिल्ला र सगरमाथा हिमाल र पाथीभरा मन्दिरको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ भने वनभोज खान आउनेहरुका लागि पकाउने सबै सामाग्री स्थानीयले निःशुल्क उपलब्ध गराइदिएका छन् ।

पर्यटन प्रवद्र्धनको लागि त्यहाँ पात्ले भञ्ज्याङदेखि हुक्मा डाँडासम्म गत वर्ष नै ढुङ्गाको सोलिङ लगाएर पैदलमार्ग निर्माण गरिएको छ ।

पर्यटन प्रवद्र्धन र गाउँ विकासको लागि दिन रात खटिएका देखिन्छ अध्यक्ष गजेन्द्र राई । उनकै अथक मेहनत र कदमले गर्दा जेभालेको मुहार फेरिएको स्थानीयहरु बताउँछन् ।

अध्यक्ष राईका अनुसार सरकारको एक रुपैयाँ लगानी बिना मूर्ति निर्माण गरेको हो । फेसबुकको भरमा देश तथा विदेशबाट साथीहरुले पठाएको रकमको भरमा निर्माण गरेको छ ।

करिब ११ लाख रुपैयाँमा सोही ठाउँका मूर्तिकार बिमल राईले काम जिम्मा लिएका थिए । राईले पहिलो पटक आफू यस्तो मूर्ति बनाउने कामको जिम्मा लिएको बताए ।

‘ढुङ्गाको भिरमा चाङ थापेर काम गर्न धेरै चुनौती थिए’ उनले भने, ‘त्यसमा जेनेरेटरमा ग्रेन्डर, छिनो र टोकटोकेको भरमा काम गर्नु पर्छ ।’

मूर्तिकार राई ग्रेन्डरले ढुङ्गा खोप्दा ढुङ्गाको धुलो आँखामा पस्ने भएकोले स्वास्थ्यमा समस्या आउने गरेको पनि बताउँछन् । अध्यक्ष राईले आर्थिक सहयोग जुट्दै गए सुम्निमा–पारुहाङको अगाडी माङ्खिम बनाउने सोच रहेको सुनाए ।

त्यसलाई सम्भव भए ‘बहुसांस्कृतिक बहुधार्मिक’ महोत्सव गरेर उद्घाटन गर्ने राईले बताए ।