आज पाँच सयभन्दा बढी माओवादीमा प्रवेश गर्दै « Yalambar Times
३१ भाद्र २०८१, सोमबार

आज पाँच सयभन्दा बढी माओवादीमा प्रवेश गर्दै


यलम्वर टाइम्स
१९ श्रावण २०८१, शनिबार ०४:२०

अर्जुनधारा । विभिन्न क्षेत्रमा काम गरिसकेका समाजसेवी, महिला नेतृ लगायत युवाहरुको ठूलो समूह आज नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन् ।

२०७२को संविधानसँगै लोकतान्त्रिक गणतन्त्रलाई तहसनहस पार्ने उद्देश्यले बनेको कांग्रेस–एमालेको गठबन्धन सरकार भ्रष्ट बचाउ र संविधानलाई कमजोर पार्दै जनताका प्राप्त अधिकारलाई तहसनहस पार्ने गरी सत्ता समिकरण गरेको भन्दै ती नेतृत्वकर्ताहरुको समूह माओवादी केन्द्रमा प्रवेश गर्न लागेको बताइयो ।

नेकपा माओवादी केन्द्र झापाले पत्रकार भेटघाटमा माओवादीमा प्रवेश गर्नेहरु निष्ठावान र पहिचानवादी भएको बताए । करिब पाँच सयभन्दा बढी मानिस पार्टीमा प्रवेश गर्न लागेको पार्टी अध्यक्ष अग्नीले जनाए ।

नवप्रवेशीहरुलाई स्वागत गर्न आज साउन १९ गते बिर्तामोडमा ‘पार्टी प्रवेश तथा स्वागत कार्यक्रम’ गर्न लागिएको छ । उनीहरुलाई पार्टीका प्रदेश १ का संयोजक हरिबोल गजुरेल ‘शितल’ले स्वागत गर्ने कार्यक्रम छ ।

पत्रकार भेटघाटमा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) ले लामो समयपछि पार्टी प्रतिपक्षमा रहेकाले माओवादीको आगामी योजना के रहेको छ भन्ने आमनागरिकमा चासो रहेको बताए ।

‘हामी सरकारमा रहँदा पनि नरहँदा पनि सधैं जनतासँगै छौं’, उनले भने, ‘माओवादी पार्टी सक्किने होइन, सच्चिने कुरामा दृढ संकल्पित छ भन्ने सन्देश दिन पनि कार्यक्रम गर्न लागिएको हो ।’

‘ठूला दलको नाममा जनताको अधिकार खोस्ने षड्यन्त्र भइरहेको छ’, उनले भने, ‘जनताको अधिकार रक्षाका लागि प्रतिकात्मक सन्देश दिन माओवादीले पूर्वबाट यो कार्यक्रमको थालनी गरेको हो ।’ माओवादी सुतेको नभई जागेर जनताको अधिकार रक्षाका लागि उभिएको उनको भनाइ छ ।