अध्यक्ष प्रचण्डलाई पूर्वको पीडा सुनाए « Yalambar Times
३१ भाद्र २०८१, सोमबार

अध्यक्ष प्रचण्डलाई पूर्वको पीडा सुनाए


यलम्वर टाइम्स
२२ श्रावण २०८१, मंगलवार ०७:५०

बिराटनगर । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रा काम गर्दागर्दै सत्ता छाड्न लगाउने एमाले, कांग्रेसको भविष्य लामो नरहेको प्रदेश नं. १ का अध्यक्षहरुले बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको प्रदेश १ स्तरीय सातौं पूर्ण बैठकमा उपस्थित जिल्ला अध्यक्षहरुले मंगलबार बिराटनगरमा आफ्नो जिल्लाको राजनैतिक प्रतिवेदन पेश गर्दै पूर्वका गाउँका जनताले राम्रो काम गर्दै जाँदा ठूला दल कांग्रेस र एमाले मिलेर माओवादी केन्द्रप्रति गरेको व्यवहार राम्रो नभएको भनी टिप्पणी गरेको सुनाए ।

यति बेला माओवादी केन्द्रमा सहानुभूति छ । भुटानी शरणार्थी काण्ड, भ्रष्टाचारी, सुन काण्ड र गिरीबन्धु काण्डलाई एकपछि अर्को गर्दै जाँदा त्यसको असर नेकपा एमाले र कांग्रेसमा पर्न जान्छ भन्दै बहुमतका आधारमा माओवादी केन्द्रलाई सत्ता च्युत गरेको काम उनीहरुकै इमान्दार कार्यकर्ताहरुलाई राम्रो नलागेको टिप्पणी गरेका थिए ।

सातौं बैंठकमा पार्टी अध्यक्ष प्रचण्डसमेत उपस्थित भएको कारण प्रतिवेदन सुनाउने क्रममा अध्यक्षहरुले पार्टीका कमजोरीहरु खुलेर प्रस्तुत गरेका थिए ।

पार्टीमा पछिल्लो पटक पहिचानवादी युवाहरु प्रवेश मात्र भएका छैनन्, आउने क्रम पनि छ । त्यसप्रति पार्टीले प्रस्ट पारिदिनुपर्ने धारणा राखेका थिए ।

खोटाङका अध्यक्ष मनकुमारी रसाईलीले माझ किराँतमा पहिचानको मुद्दा पेचिलो हुँदै गएको कारण संगठन निर्माणमा केही प्राविधिक समस्या आएको बताए ।

उनले श्रम, संस्कृतिका विषयमा पार्टीले नयाँ धारणा ल्याउनुपर्ने बताउँदै पार्टीभित्र गुठबन्दीले पारेको असर खोटाङलाई नरमाइलो गरी छोएको बताइन् ।

प्रादेशिक बैठकमा इलामका विजय खम्बू, झापाका राजु आचार्य ‘अग्नी’, पाँचथरका विशाल, ताप्लेजुङका बीरु आदिले पार्टी रुपान्तरण हुँदै अगाडि बढ्दा धेरै मानिसहरु हामीमाझ आउने क्रम हुँद्यै गर्दा हाम्रा नेताहरु रुपान्तरण हुन नसक्दा कार्यकर्ताहरु अन्यौलमा रहेको प्रस्टयाए ।

सोलुखुम्बुका नाम्गेल, भोजपुरका नरेश भुजेल, ओखलढुंगाका यदु घिमिरे, संखुवासभाका टेकमान राई, धनकुटाका देशु श्रेष्ठ, तेह्रथुमका प्रकाश आदिले पार्टीले राम्रा गरेका काम जनमानसमा पुर्याउन नसकेको बताए ।

कार्यक्रममा मोरङका अध्यक्ष विजय विश्वासले जातीय मोर्चामा संगठन कमजोर हुँदै गएको बताउँदै प्रदेश नं. १ मा मोर्चालाई सक्रिय बनाउनु पर्ने सुझाव राखे ।

प्रदेश नं. १ हर्क नेम्वाङ मिङ्सोको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश इन्चार्ज हरिबोल गजुरेल, सहइन्चार्ज सावित्री कुमार काफ्ले, सुदन किराँती, धर्मशीला चापागाई, हरिकुमार राना, इन्द्र आङ्वो मौसम लगायतको उपस्थिति रहेको थियो ।