यायोक्खाको ३७ औं स्थापना दिवसमा पत्रकार खम्बू सम्मानित « Yalambar Times
३१ भाद्र २०८१, सोमबार

यायोक्खाको ३७ औं स्थापना दिवसमा पत्रकार खम्बू सम्मानित


यलम्वर टाइम्स
२३ श्रावण २०८१, बुधबार १४:११

दमक । किरात राई यायोक्खा झापाद्वारा स्थापित स्व. इन्द्रबहादुर–देउमाया स्मृति पत्रकारिता पुरस्कार २०८० बाट युवा सक्रिय पत्रकार अमित खम्बू सम्मानित भएका छन् ।

कलमको माध्यमबाट समाज, राष्ट्र र राई जातिको उत्थानमा उल्लेखीय भूमिका निर्वाह गरेको भन्दै यायोक्खाको ३७ औं स्थापना दिवसको अवसरमा उनलाई नगदसहित सम्मान गरिएको हो ।

किरात राई पत्रकार संघ झापाका अध्यक्ष, अर्जुनधारा प्रेस क्लबका कोषाध्यक्ष, नेपाल पत्रकार महासंघका कार्यकारी सदस्य, फोनिज लगायत विभिन्न संघसंस्थामा जिम्मेवारी सम्हालिसकेका सम्मानित खम्बूलाई कार्यक्रमका प्रमुख अतिथि तथा किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राईले पगरी गुत्दै प्रमाणपत्र र नगद रु. १० हजार ३७ ले सम्मान गरेका थिए ।

विगत डेढ दशकदेखि निरन्तर पत्रकारितामा सक्रिय खम्बू यलम्वर टाइम्सका संस्थापक समाचार प्रमुख भएर काम गरिसकेका छन् भने हाल बिर्तामोडमा प्रकाशित पूर्वाञ्चल दैनिकमा कार्यरत छन् ।

स्व. इन्द्रबहादुर–देउमाया स्मृति पत्रकारिता पुरस्कारबाट यसअघि दिपीन राई, रमेश समदर्शी, अनिदेव राई, भारती राई, धर्मराज राई सम्मानित भइसकेको सचिव सुसन राईले जानकारी दिए ।

सोही दिन यायोक्खा झापाले पत्रकार खम्बूसँगै एसईईमा सामुदायिक विद्यालयतर्फबाट सर्वोत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीका लागि स्थापित स्व. डम्बरसिंह–सिद्धीदास स्मृति छात्रवृद्धि पुरस्कारबाट छात्रातर्फ बुद्धआदर्श मावि बुद्धशान्तिकी प्रश्ना राई (३.६६ जीपीए) र छात्रतर्फ आदर्श मावि बद्धशान्तिका रोजन राई (३.१६ जीपीए) लाई पुरस्कृति गरेको छ ।

उनीहरुलाई प्रमाणपत्रसहित नगद रु. ७ हजार ३७ रुपैयाँले पुरस्कृत गरिएको थियो ।

त्यस्तै निजी विद्यालयतर्फ स्थापित स्व. विष्णुध्वज–लिलावती राई स्मृति छात्रवृद्धि पुरस्कारबाट छात्रातर्फ समान ३.६१ जीपीए ल्याएका लालिमा अंग्रेजी विद्यालय कमलकी युनिसा राई र पारागन एकाडेमी कनकाईकी सीतास्मा राईलाई नगद ५ हजार ३७ सहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।

स्व. जीतबहादुर राई स्मृति छात्रवृद्धि पुरस्कारबाट छात्रतर्फ फोनिक्स इङलिस बोर्डिङ स्कुल कमलका जेलट राई (३.४७ जीपीए) लाई नगद ५ हजार ३७ सहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।
यायोक्खाले एसईईमा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने झापा भरीका ५१ विद्यार्थीलाई सम्मानपत्रले पुरस्कृत थियो ।

उनीहरुलाई प्रमुख अतिथि तिलकप्रसाद राईसँगै, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य प्राज्ञ सुमित्रा वाङ्देल ‘चेली’ लगायतले सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि राईले किरात राई यायोक्खा स्थापना गर्नुको उद्देश्य, विगतदेखि वर्तमानसम्मको अवस्थाका बारेमा अवगत गराएका थिए ।

उनले सम्मानित पत्रकार खम्बू र विद्यार्थीहरुलाई शुभकामना दिँदै अहिलेको अवस्थामा युवाशक्ति विदेश पलायन भइरहेको भन्दै देशमै रहेर कार्य गर्न सुझाव दिए ।

जिल्ला अध्यक्ष गणेश राईको सभापतित्वमा भएको कार्यक्रममा भएको कार्यक्रममा पूर्व माननीय तथा झापा सल्लाहकार अर्जुन राई, सल्लाहकार दिलीप वान्तावा, विद्यार्थी संघ अध्यक्ष मिलन रुम्दाली राई, प्याव्सन झापा अध्यक्ष गौरीमान फागो लगायतले शुभकामना मन्तव्य राखेका थिए भने सम्मानितहरुको तर्फबाट पत्रकार अमित खम्बूले आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा केन्द्रीय सहकोषाध्यक्ष सुशिल राई, उपमहासचिव अर्जुन जम्नेली राई, प्रदेश अध्यक्ष पारसमणि राई, झापा इन्चार्ज इन्द्रमान राई, अक्षयकोषदाता ललितकुमार राई लगायतको आतिथ्य रहेको थियो ।

उपाध्यक्ष लीलाबहादुर राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सुसन राईले गरेका थिए ।