छिटो रोजगारको पहिलो आधारः नरबहादुर कर्माचार्य प्रतिष्ठान « Yalambar Times
३१ भाद्र २०८१, सोमबार

छिटो रोजगारको पहिलो आधारः नरबहादुर कर्माचार्य प्रतिष्ठान


यलम्वर टाइम्स
३ भाद्र २०८१, सोमबार ०७:११

चारपाने । प्राविधिक जनशक्तिसँगै रोजगारको पहिलो बाटो सबैको रोजाई भन्ने उद्देश्यका साथ झापाको बिर्तामोड–२ स्थित चारपानेमा बहुप्राविधिक शिक्षालयले चारवटा प्राविधिक बिषयहरुमा अध्ययन अध्यापन गराउँदै आएको छ ।

सुन्दर वातावरण, कोहालहमुक्त रहित क्षेत्रमा विगत ५ वर्षअघिदेखि सीटिइभिटीसँगको साझेदारीमा नरबहादुर कर्माचार्य प्रतिष्ठान बहुप्राविधिक शिक्षालयले बाली विज्ञान, पशु विज्ञान, वन विज्ञान र होटल व्यवस्थापन विषयमा अध्यापन गराउँदै आएको हो ।

२०७७ सालमा स्थापना भएको उक्त प्राविधिक शिक्षालयबाट ७६ जना विद्यार्थी पासआउट भइसकेका शिक्षालयका प्राचार्य प्रेमबहादुर सुब्बा ‘देशु वनेम’ ले जानकारी दिएका छन् ।

प्राचार्य सुब्बाका अनुसार हाल चारवटै बिषयमा जम्मा एक सय ७९ जना विद्यार्थी अध्ययनरत छन् ।

होटल व्यवस्थापन अन्तर्गत स्वीस सरकारसँगको साझेदारीमा सञ्चालित २ बर्षे ‘एप्रिन्टिसीप कार्यक्रम’ मा २३ जना विद्यार्थी अध्ययनरत छन् ।

यो कार्यक्रम अन्तर्गत शिक्षार्थीले होटलमा १८ महिने तालिम लिनुपर्नेछ । झापाकै स्टार होलटमा केहीले प्राविधिक ज्ञान लिइरहेको पनि छन् ।

ती शिक्षार्थीलाई होटलले नेपाल सरकारले एउटा लेबरलाई तोकेको ज्यालाको चारभागको एक भाग सेवा सुबिधासहितको रकम दिनुपर्नेछ ।

उनीहरुलाई यातायात भाडा र पोशाक वापत स्वीस सरकारको सहयोगमा शिक्षालयले मासिक ५ हजार ५ सय रुपैयाँ दिदै आएको शिक्षालयका सह–प्राचार्य बिष्णुप्रसाद चुडालले जानकारी दिए ।

२ बर्षे ‘एप्रिन्टिसीप कार्यक्रम’ सहितका प्राविधिक अन्य शिक्षणमा उत्पीडित, सीमान्तकृत, गरिब, जेहेन्दार, पिछडिएका बर्गलाई बिशेष प्राथमिकता दिइदै आएको उनले बताए ।

२ बिगाहाको क्षेत्रफलमा फैलिएको शिक्षालयमा तीन वटा भवन रहेका छन् भने सम्पूर्ण सेवा सुबिधासहित शान्त वातारणमा न्यूनतम शुल्कमा विद्यार्थीहरुलाई अध्यापन गराईदै आएको प्राचार्य सुब्बाले बताए ।

शिक्षालयमा नियमित प्रशिक्षक ६ जना छन् भने तालिम प्राप्त ४० जना प्रशिक्षकले अध्यापन गराउँदै आएका प्राचार्य सुब्बाको भनाई छ ।

त्यस्तै ५ जना कर्मचारीहरु रहेका छन् । शिक्षालयमा अध्ययन हुने बिषयहरुका प्रयोगशालाहरुसहित प्रयाप्त क्षेत्रफल रहेको छ । शिक्षालयले २० प्रतिशत छात्रबृत्ति समेत दिदै आएको बताइएको छ ।

शिक्षालय सञ्चालनका लागि करिव एक करोड २० लाख रुपैयाँ बार्षिक खर्च हुँदै आएको प्राचार्य सुब्बाले जानकारी दिए ।

उनका अनुसार विद्यार्थीको सेवा शुल्क वापत करिब ९० लाख जति संकलन हुने र अन्य नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा सामाजिक संघसंस्थाको सहयोगमा सञ्चालन हुँदै आएको छ ।

स्थानीय सरकारले शिक्षालय सञ्चालनका लागि उपलब्ध गराउँदै आएको रकम समयमा प्राप्त नहुँदा र प्रयाप्त रुपमा आर्थिक जुटाउन नसक्दा समस्या हुने देखिन्छ ।

सामुदायिक रुपमा सञ्चालन हुँदै आएको प्राबिधिक शिक्षालयलाई स्थानीय सरकारले आर्थिक र भौतिकमा पूर्ण रुपले सहयोग गरे ‘सिपमुलक शिक्षा आजको आवश्यकता’ भन्ने नारा साकार हुने देखिन्छ ।