जिउदोमा लखेट्छन् तर मूर्ति बनाएर खुब पूच्छन् « Yalambar Times
३१ भाद्र २०८१, सोमबार

जिउदोमा लखेट्छन् तर मूर्ति बनाएर खुब पूच्छन्


यलम्वर टाइम्स
३ भाद्र २०८१, सोमबार ०७:५८

[दिपीन राई]

हिजोआज अलिक फुर्सदिलो छु हजुर । राजनीतिक यहाँका नेताहरुलाई छाडी दिए । जताततै गुटबन्दी छ । कसलाई भन्नु, कसलाई समाउनु । इमान्दारी हराएको छ हाम्रो देशका नेताहरुमा । लिलक सिटौलाले गजाधरलाई आफ्नो पीडा सुनाए । तपाई आफै भन्नुहोस् न ? हिजोको जस्तो समय आज झापा आउँदा पाउनु भयो त ? हिजो जताततै हरियाली थियो । घरैपिछे कोलाको बोट, आँप, लिची, कटहर खुब हुन्थ्ये । भुईकटहर कति हो कति ? क्यानिङ कम्पनी नाम गरेको संस्था थियो । तपाईहरु हिड्ने बाटो पनि त्यतै थियो होला ।

मलाई थाहा भए अनुसार तपाईहरु भारतको नक्सलबाडी हुँदै बाहुनडाँगी, शान्तिनगर, जयपुर, होक्से हुँदै जुकेखाडीको जंगल पस्नुहुन्थ्यो । तपाईहरु हिंड्न ती ठाउँहरुमा त झन कति हो कति तुलफुल । त्यसैले हजुरहरु हिंड्ने बाटो पनि त्यतैतिर बनाउनु भएको होला ।

गजाधरले लिलकको धेरै पुराना कुरा सुनेर । यस क्षेत्रमा पुराना व्यक्तिहरुको याद आएको बताउँछन् । अनि गजाधर भन्छन्, ‘हैन भाई ! पदमबहादुर काफ्ले, डा. शंकरप्रसाद उप्रेती, पूर्णबहादुर सिटौला, पूर्ण ढकाल, शिवप्रसाद दाहाल, मोहन जोशी, इथुङ्गे, दंगाली दाई र बनजाचे कान्छा त्यसबेला नाम चलेका व्यक्ति हुन् । उनीहरु त हुनुहुन्न होला ? उनका सन्तानहरु त यतै छन् नि ! हुनुहुन्छ कोही जागिरबाट अवकाश भएका छन् । कोही डाक्टर नामले साहित्यमा रमाएका छन् । केही टेक्कापट्टा गर्छन् ।

‘उहाँहरु ०३५–०३६ सालमा हामीलाई लखेट्नेभन्दा पनि दुःख नदेउ भनेर सम्झाउने व्यक्ति भएकाले याद आएको हो भाई ।’

‘केशव दाई त तपाईहरुलाई खेदाउने प्रमुख नायिकेमा पर्नु हुन्छ होला नि ?’

‘ए ! उहाँको त कुरै नगरौं । त्यसबेला जल्दोबल्दो नै थिए । सुरुमा मान्छे उचालेर राँको, भाला र भरुवा बन्दुक प्रयोग गर्दै खेदाउने नायिके नै केशव हुन् । अर्का हर्कलाल गिरी नाम गरेका व्यक्ति पनि हुनुहुन्थ्यो । उहाँले बिर्तामोडबाट मान्छे बटुलेर हामीलाई धपाउन आउनुहुन्थ्यो । उहाँहरु जस्ता थुप्रै मानिसहरु थिए । हामीलाई झापा, मोरङ हुँदै कोशी कटाए । त्यसबेला हाम्रा पीडालाई बेवास्ता गरी सुजबुझै नगरी जिल्ला सरकार, प्रहरी र वनपाले कर्मचारीहरु गुर्गुरर्ती लागे कतिले छोराछोरी (छावा) गुमाए कतिले श्रीमान (मत्ता) त कतिले श्रीमती (ढोई ) गुमाए ।

ब्रम्हपुत्रको पानीले हामी बस्ने बस्ती छाएपछि हामी छेउछाउको गाउँमा गुहार माग्न पुगेका थियौं । हामी भित्रबाटै जन्मेका नानीहरुले गाउँमा उपद्रो मच्याएपछि हामीलाई त्यहाँबाट लखेटिने काम भयो । भारत सरकारका वन कर्मचारी र सेनाहरुले पनि हामीलाई खेदो गरे । हामी हाम्रो ज्यान सुरक्षाका लागि स्थान खोज्दै जाँदा शान्ति छाएको देश, गौतम बुद्ध जन्मेको देश भनेर सम्झदै सम्झदै हामी नेपाल छिरेका थियौं । मलिन स्वरमा गजाधरले भन्दै थिए, ‘लिलक बाबु तर नेपालमा त झन सातोपुत्लो उड्ने गरी हाम्रो वंश नाश हुने गरी आक्रमण भयो । यी कुराहरु मैले सबै भन्दै आएको छु । बुढेसकाल पनि लाग्यो कति कुराहरु त बिर्सी पनि सके । मेचीनगरका एक पत्रकार काजीलाई सबैथोक भनेको छु ।’

त्यसबेला हामी नेपाल प्रवेश गर्दा झापामा घना जंगल थियो । चारआली चोकबाट बुधबारे क्षेत्रसम्म जंगल थियो । बुधबारे चोकबाट बर्ने शान्तिनगर क्षेत्रमा ठूल्ठूला रुखहरुका जंगल थिए । पाँच पोखरी नाम गरेको ठूलो पोखरी थियो । अहिले साँघुरिएर सानो आहाल जस्तो भएछ । हिजोआज सबै क्षेत्रहरु मासिदै गएछन् । हामी त्यही पोखरीको आसपासमा एक हप्ता बसेका थियौं । जंगलमा खानेकुराहरु प्रशस्त थिए । वन केराले हाम्रो शरीर अघाउथ्यो । इलाम र झापाको संगम जंगल भएकाले तुलफूल प्रशस्त हुने गरेको थियो । तर, यसपाली आउँदा सामुदायिक वन कार्यालयहरु जंगल नजिक–नजिक बनाएको देखे तर हामीले खाने आहारा भने मासिएछ । यसरी मासिएपछि मानवले लगाएको बोट विरुवा, तुलमुल खानै पर्यो । मैले पनि रातिराति २, ४ घोगा मकै चाहिँ बजाए है ! लिलक बाबु ।

‘आ… गजाधर बा ! धेरै हुनेको बजाउँदा केही फरक पर्दैन । थोरै हुनेको खादा पो रिसाउँछन् त !’ लिलकले गजाधरलाई पुनः सोधे, ‘तपाईहरुको प्यारो ठाउँ हो शान्तिनगरको वन ?’

‘हो त भाई ! त्यसबेला शान्तिनगर क्षेत्रको वन निकै ठूलो थियो । पहाडले छोएको र त्यस क्षेत्रमा खानेकुराहरु पनि प्रशस्त पाइने भएकाले हामीलाई उक्त क्षेत्र लोकप्रिय स्थल लाग्छ । हामी शान्तिनगरबाट पश्चिम आउँदै थियौं, बुधबारे र चारआलीका मान्छेले त्यसबेला घेरा हालेर झण्डै मारे । हामीसँगै आएको एउटा बच्चालाई त घेरा हालेर मारी छाडे नि ! के गर्नु मूर्खहरुसँग त केही लाग्दैन भनेको हो रहेछ । त्यति गर्दा पनि त्यस समयमा सम्यमता अपनाएर पश्चिमतर्फ लाग्यौं भाई !’

शनिश्चरे बीचको दुर्गा मन्दिर अगाडि गजाधर र लिलक दाईको गफ हुँदा गजाधरलाई हेर्नेहरुको संख्या निकै बाक्लो थियो । कसैले गणेशजी भन्दै गजाधरलाई नमस्ते गरिरहेका थिए । कसैले फलफूल दिन पुगे । कसैले पैसा नजिक फ्याल्दै थिए । गजाधर पनि तीन छक्क परे । दुर्गा मन्दिर नजिक कृष्णले अर्जुनलाई वाण हान्न हौसाएको मूर्ति देखे । ‘भाई ! यो मूर्ति कसले बनाएको हो ?’

लिलकले जवाफ दिए, ‘अर्जुनधारा नगर धार्मिक नगर भएकोले प्रथम नगर प्रमुख हरिकुमार रानाको पालामा बनाएको हो ।’

‘त्यसो भए बाह्रदशी पुल काठको थियो, अहिले पक्की भयो होला नि हैन !’

‘हो, हो पक्की नै छ । भर्खरै पक्की बनाएका छन् । पूर्वको पशुपतिनाथले प्रचलित ठूला जलेश्वरधामको मन्दिर यही छ । त्यस मन्दिरको दर्शन गर्न सयौं भक्तजन आउने गरेका छन् । गाडी, घोडा प्रशस्तै आउँछ । गतिलो र राम्रो पुल नभए त आवतजावतमा समस्या आउने भयो । त्यसैले यसपाली नगरले बनाएको हो बा ।’

‘त्यसो भए त्यस मन्दिरमा पनि गणेशजी महाराज भन्दै मूर्ति राखेका होलान् ।’ लिलकले हतार–हतार उत्तर दिन्छन्, ‘छ.. छ… गजाधर बा छ ।’

यो संसारमा सनातनी धर्मका अनुयायीहरुले जुनसुकै शुभ कार्य गर्दा हाम्रो वर्गलाई पूजा नगरी राम्रो काम हुँदैन भनेर पुज्छन् तर जीउँदो हुँदा चाहिँ त्यही मानिसले किन खेदो गरेका होलान् ? हामीलाई मार्ने प्रयास हुन्छ । मारिहाले भने हाम्रा पुच्छर, ठूल्ठूला दाँत, दाह्रा झारेर लैजान्छन् । व्यापार गर्छन् । पैसा कमाउँछन् । अनि हाम्रो मृत शरीरलाई खाल्डो खनेर यही धर्तीमा पुरिदिन्छन् । त्यतिमात्र कहाँ हो र ! दबाउनुअघि धुप बात्ती जलाएर मृत मानिसलाई जस्तै छातीमा चामल पैसा र फुल चढाउँछन्, अनि भन्छन्, हे भगवान स्वर्गमा बास होस् । गजाधरको यो कुरा सुनेर लिलकले मनमनै भन्छन्, ‘हुन पनि हो, हामी कस्ता मानव हौं जीउँदो हुँदा खेदाउँछौं । त्यही जनावरलाई मूर्ति बनाएर पूजापाठ पनि गर्छौं ।’

त्यतिकैमा लिलकले ल है हजुर ! तपाईको भावना र पीडालाई म मेरो समाजमा बहस चलाउँछु भन्दै गजाधरसँग बिदा माग्छन् ।