अवैद्य तरिकाबाट नदीजन्य सामग्री निकासी, ठेक्का नलाग्ने सम्भावना बढ्दै « Yalambar Times
३१ भाद्र २०८१, सोमबार

अवैद्य तरिकाबाट नदीजन्य सामग्री निकासी, ठेक्का नलाग्ने सम्भावना बढ्दै


यलम्वर टाइम्स
३ भाद्र २०८१, सोमबार ०९:४५

अर्जुनधारा । स्थानीय सरकारको मुख्य आयस्रोतको रुपमा रहेको नदीजन्य सामग्री रातारात चोरी निकासी हुँदा स्थानीय सरकारलाई यो वर्ष पनि नदी ठेक्का लगाउने कार्य असफल बनाउने खेल सुरु भएको देखिन्छ ।

अर्जुनधारा नगरपालिका अन्तर्गत विरिङ, टाङटिङ लगायतका क्षेत्रमा राति नदीजन्य सामग्री चोरी निकासी हुन थालेको छ । यसरी नै चोरी निकासीलाई प्रोत्साहन दिइरह्यौं भने ठेक्का नलाग्ने देखिन्छ । स्थानीय सरकारले आफ्नो नीति तथा योजना कार्यक्रममा जनताका लागि काम गरौंला भन्ने उद्देश्य लिएतापनि जथाभावी उत्खनन् गरिदिँदा ठेक्का लगायत अन्य काममा दरार पैदा भई भने जस्तो काम गर्न सक्ने अवस्था आउँदैन ।

प्राकृतिकजन्य सामग्री खोला किनारमा बस्नेहरुका लागि मात्र नभई नगरवासी सबैको हो । खोला किनारमा समस्या आइपरे सिङ्गो नगरले सहयोग गर्नुपर्छ । बाहिरकाले सद्भाव जुटाउनुपर्छ । त्यसैले संघीय सरकार वा प्रदेश सरकारले नदी नियन्त्रणमा बजेट तर्जुमा गर्दा खोला तटबाहिर रहेका नागरिकहरुले त्यहाँमात्र बजेट किन लगाइयो भनेर विरोध गरेका छैनन् । तर नदी किनारमा बसेका प्रयाः ट्याक्टर व्यवसायीहरुले नगरको समृद्धिलाई नहेरी रातारात नदीजन्य सामग्री उत्खनन् गर्ने कार्यमै व्यस्त देखिन्छन् ।

त्यतिमात्र होइन, केही टाठाबाठा ठेकेदार हौ भन्ने र केही पार्टी निकटका युवाहरुले नदी किनारमा जग्गा भाडामा लिएर नदीजन्य सामग्री रातारात थुपार्न थालेको पनि पाइन्छ । यो कार्य अर्जुनधारा नगरमा २ दर्जनभन्दा बढीले गरेको नगरपालिकाको अनुमान छ ।

यस्तो अवैद्यानिक कार्य रोक्न पटक–पटक सूचना, छलफल गर्दा पनि नदीजन्य सामग्रीको चोरी निकासी त्यतिकै बढ्दै गएको छ । अर्जुनधारा नगरपालिकाले आफ्नो क्षेत्रमा चोरी निकासी कार्यलाई रोकेर त्यस ठाउँमा ठेक्का लगाउन सके नगरपालिकाको आयस्रोत बढ्ने थियो । त्यो रकम नदी आसपासका क्षेत्रमा खर्च हुने नगर प्रमुख बलदेवसिंह गोम्देनले भन्दै आएका छन् । सार्वजनिक सुनुवाईमा नगर प्रमुखको शब्दलाई प्रशंसा गर्ने तर, रातारात बगरमा ढुंगा, बालुवा र मिसगिट्टी संकलनमा कुद्ने द्वेद्य चरित्रले नगरपालिका पीडित हुन पुगेको छ ।

गत हप्ता भू–गर्भविद् यदुनाथ तिम्सिनाले खोला ठेक्का लगाउन सक्ने स्थानका विषयमा छलफल चलाएका थिए भने खतरा हुने स्थानलाई सुरक्षा गर्न सुझाव पनि दिएका थिए । जतासुकै उत्खनन् गर्न थालेको हुँदा त्यसो नगर्न ट्याक्टर व्यवासयीहरुलाई समेत सुझाव दिएका थिए ।

कति छन् अर्जुनधारामा ट्याक्टर ?

कृषि पेशामा प्रयोग गर्ने उद्देश्यले अधिकांश मानिसले ट्याक्टर खरिद गरेको पाइन्छ । तर ती ट्याक्टरहरु कृषिमा नभई अन्य ठाउँमा प्रयोग गरेको देखिन्छ ।

अर्जुनधारा क्षेत्रको हकमा भन्ने हो भने ७० वटाभन्दा बढी ट्याक्टर छन् । ती मध्ये १० प्रतिशत कृषि प्रयोगमा आएका छन् भने ९० प्रतिशत सामान ओसारपोसार गर्ने कार्यमा प्रयोग भएको पाइन्छ ।

अधिकांश गाडीहरु कर नतिरी बसेको ट्राफिक प्रहरीले बताएको छ भने चालक अनुमति पत्र बिनाका २० वर्ष मुनिका युवाहरु ड्राइभर भएर कुदाएको पाइन्छ । त्यस्ता ट्याक्टर र ड्राइभरबाट यस क्षेत्रका सुरक्षाकर्मीहरु पोसिएको एक इमान्दार ट्याक्टर व्यवसायी ठोकुवा गर्छन् ।

पैसा नदिँदा खेदाइ खेदाइ टेलिफोन गर्दै पैसा असुल्लने गरेको गुनासो पनि त्यतिकै छ । ती ट्याक्टरवालाहरुको नाम संकलन गरेर खोला उत्खनन् गर्ने समयपछि उचित स्थानमा रोजगार दिए चोरी निकासी हुँदैन थियो होला, खोला किनारका एक कृषकले आफ्नो राय राखे ।

रातारात नदी उत्खनन् गरी ठेक्का नलागे नगरले नै भू–गर्भविद्ले देखाएको मापदण्ड अनुसार उत्खनन् गरी एक ठाउँमा नदीजन्य सामग्री स्टोर गरेर ठेक्का लगाउन सकिने थियो ।

को–को हुन् खोला मजदुर ?

नगरपालिकाले समयमा ठेक्का लगाउन नसक्नुको प्रमुख कारण खोला मजदुर पनि हो । हातमुख जोड्न धौ–धौ भएर नै खोला मजदुर भएका हुन् । तर ती मजदुर मध्ये ५० प्रतिशत बिघाह र पक्की घरका मालिक पनि छन् ।

नगर बाहिरका केही मानिसहरु वैवाहिक सम्बन्ध गाँसेर अर्जुनधारामा आई खोला मजदुर भएर जीविका गुजारीरहेका पनि छन् । त्यतिकै बस्नुभन्दा काम गर्नु निको भनेर खोला मजदुर भएर काम गरेको पूर्व वडाध्यक्षहरु बताउँछन् । ती खोला मजदुरले आफू खुशी जताततै उत्खनन् गरेको कारण भने जस्तो ठाउँमा ठेक्का नलागेको भनाइ छ ।

सरकारले नदी ठेक्का लाग्ने खोलाहरुमा कति खोला मजदुरहरु छन् ? मजदुर हौ भन्नेहरुका अवस्था कस्तो छ ? नाम संकलन गरी पीडित मजदुरहरुलाई उपस्थित गराएर सेवा सुविधाको व्यवस्था गरे समयमा नै खोला ठेक्का लाग्ने थियो, पूर्व वडाध्यक्षले बताए ।

नदीजन्य चोरी निकासी हेर्ने प्रहरीको काम होइन

नदीजन्य सामग्री चोरी निकासी हेर्ने काम प्रहरीको नभएको बताएका छन् । जिल्ला प्रहरी प्रमुखसँग सम्पर्क राख्दा यो कार्य स्थानीय सरकारको जिम्मा भएको बताए ।

यता नगर प्रमुख बलदेवसिंह गोम्देनले वडा नं. १, २, ३, ४ र ५ मा सार्वजनिक सुनुवाई गर्दै चोरी निकासी गर्ने कार्य रोक्न अनुरोध गरेका छन् । छलफलमा जनताको गुनासो सुन्दै नगर प्रमुख गोम्देनले अर्जुनधारा क्षेत्रको नदीजन्य सामग्री ठेक्का लाग्न सके त्यो रकम नदी किनारकै जनताका लागि हुने दोहोर्याए ।

नगरको सम्पत्ति रातारात चोरी निकासी गर्नु कानुनी विपरीत हो । अवज्ञा गरे कानुन सम्वत् अगाडि बढ्छौं । त्यस बेला पीडा पर्यो नभन्नुहोला, प्रमुख गोम्देनले भने ।