बुवासँगको त्यो भेट « Yalambar Times
२१ आश्विन २०८१, सोमबार

बुवासँगको त्यो भेट


यलम्वर टाइम्स
२ आश्विन २०८१, बुधबार ०८:१५

एकनासे गृहकार्यको व्यस्ततामा तल्लिन रहँदा घरको आँगनमा कोही परिचित या अपरिचित व्यक्तिहरुको आगमन हुँदा पनि हेरेर साक्षात्कार गर्न निकै गाह्रो हुनेरहेछ । एक दुई आगन्तुकले सम्बोधन गर्दा मात्र पसीनाले पोलेको आँखा हातको औंलाले सफा गर्दै शीर उठाएर नमस्कारको जवाफ फकाउन बाध्य भइनेरहेछ । त्यहि क्रममा परिचित आवाज सुन्दा भने सत्कारको निम्ति आफै उठेर स्वागत गर्न तरखर भइन्छ । यस्तै दिनचर्याको निरन्तरतामा एक दिन चिरपरिचित आवाजले म झस्किएँ । ‘के गर्दै छस् कान्छा ? एक गिलास रक्सीले ।’

मेरो नजर वहाँ माथी प¥यो । म आश्चर्य चकित मुद्रामा एक तमासले हेरीरहें । मेरो आँगनमा मेरै सामुन्ने मेरो मृत बुवा उभिएको देखें । हर्षले आफूले आफूलाई सम्हाल्न सकिन र भावावश खुट्टामा छोग्न पुगें, अनि सरासर भान्सामा गएर एक गिलास रक्सी ल्याएर दिएँ । बुवाले एकै सासमा स्वाट्ट पारे । कुर्सी ल्याएर छेवैमा राखे । बुवा त्यहाँ बस्नु भो, म पनि त्यहि कुर्सीको छेवैमा भुईमा बसे ।

‘बुवा आज कसरी हामीलाई सम्झेर आउनु भो ? तपाईले त ६४ सालमा नै हामीलाई टुहुरो पारेर जानुभएको थियो ।’

‘हेर कान्छा त्यो त संसारको रीत नै हो । मानिस जन्मे पश्चात एक दिन मर्नैपर्छ । त्यो दिन मेरो धेरै सपना हुँदाहुँदै पनि मृत्युवरण गर्नु पर्यो । समयसँगै वृद्ध अवस्थामा मलाई पनि मेरा छोराछोरी नाती नातीनीको साथमा बाँच्न मन थियो । आफ्नो दौरा सुरुवालको फेरोमा नाती नातीनीहरुलाई मुताउन म थियो । यो मेरो फुलिसकेको जुँगा दा¥ही उखेलोस भन्ने इच्छा तर दैवको अगाडी कसको के लाग्दो रहेछ र ।’

‘बुवा रहर त हामीहरुलाई पनि थियो । घरका ज्येष्ठ बुवा आमाको छत्रछायाँमा रहेर सुख–दुःख बिसाउन पाएको भए घरको अवस्था र जीवनस्तर उकास्न सहज हुने थियो । सम्पत्ती कमाएर सुख साथ बुवा आमाको सेवा गर्न पाइने थियो ।’

‘हेर कान्छा सम्पत्ती भन्ने केहि होइन । मैले मेरो जीवनमा कति सम्पत्ती कमाएँ होला । तिमीहरुको लालन पोषणमा कति खर्च भयो होला त्यो एक प्रकारको जीवन बाँच्ने बहाना मात्र हो । सम्पत्ती त त्यो हो जुन म जिउँदो रहँदासम्म इज्जतका साथ नाम कमाएर बाँचे र परीवारलाई पनि इज्जत साथ बाँच्न सिकाएँ ।

सम्पत्ती मात्र भएर के गर्नु समाजले प्रत्येक दिन औला उठाएर दोष दिइरहे सम्पत्ती कमाउनुको कुनै अर्थ नै रहदैन । उदाहरण हेर, आज म तिमीहरुको दुनियाँबाट अलग्गैछु । तर पनि आजको दिनसम्म कसैले मेरो इज्जत माथि कलंकको दुई शब्द बोलेको सुनेको छौं ? त्यसैले कान्छा यो सम्पत्तीभन्दा इज्जत बचाउने प्रयासमा ध्यान राख्नु । अनि यो नानी को हो ?’ मेरो छेऊमा खेलीरहेकी मेरी नातीनीलाई देखाउँदै
सोध्नुभयो, ‘उ तपाईको पनातिनी । तपाईको नातीनीको छोरी ।’ बुवा मुसुक्क मुस्कुराए । नातीनीको छेवैमा आएर उसको गाला सुमसुम्याउन थाले । ‘त सानो छँदा मेरा साथीहरु घर आउँदा यो मेरो छोरा भनेर चिनाउँदा साथीहरुले ल लाठ्ठे भएछ अब बिहे गर्ने बेला भएछ भन्दा तँ लजाएको देख्थे । त्यो समयमा बिहेको कुरा सुन्दा लजाउने मेरो छोरा आज नातिनीको हजुर बा भएको देख्दा समय कति धेरै बितेछ भन्ने थाहा भयो ।’

‘बुवा अनि आमासँग भेट भयो ? भन्छन् नि मृत्यु पश्चात स्वर्गमा सबै स्वर्गबासी आत्मासँग भेट हुन्छ अरे । सानो छदै हामीलाई टुहुरो पारेर जानु भएकी आमालाई हाम्रो चिन्ता त लाग्छ होला नि ।’

‘कान्छा, मृत्यु पश्चातको संसार यहाँ तिमीहरुले सोचे जस्तो छैन । मृत्यु पश्चात मानव शरीर यहि धर्तीमा नाश भएर जान्छ । स्वर्गमा त केवल आत्मा मात्र पुग्छ । आत्माको कुनै आकार र अनुहार हुँदैन । त्यस्तोमा को आफ्नोको पराई केहि थाहा हुँदैन । अनि कसरी भेट्नु तेरो आमालाई । यदि भेट भएको भए म पनि सोध्ने थिएँ कि सानासाना छोराछोरीको पालनपोषणको सबै भार मेरो काँधमा हालेर किन छाडेर आएकी ? गुनासो मलाई पनि थियो तर अब त्यो सबै चिन्ता लिएर के फाइदा । यस धर्तीमा जिउँदो रहनेहरु मेरो उ थियो, मेरो त्यो थियो भनेर स्वर्ग हुनेहरूलाई सम्लेर किन मन जलाउनु । मैले तेरो आमाको मृत्युमा शोक मनाएँ, तैले मेरो मृत्युमा शोक मनाइस् । संसारको रीत नै यस्तै हो । कसैको मृत्युमा दुइ दिन शोक मनाउने हो त्यस पश्चात आफ्नो दैनिकीमा व्यस्त रहनुपर्छ । हामी जस्तो मृत आत्माको सम्झनामा पितृ सम्झी एक अञ्जुली तर्पण दिए हामी जस्तो मृत आत्माले शान्ति पाउँथ्यो ।’

बुवा उठेर मेरो शीरमा हात राख्नुभो । म आँखा चिम्म पारेर घोप्टो परेर केहिबेर बसीरहे । केहि समयपछि टाँउको उठाएर हेरें, बुवा बसेको कुर्सी खाली थियो । यताउता नजर दौडाएँ, कतै देखिन । सायद बुबा अन्र्तध्यान हुनुभएछ । धेरै वर्षपछि बुवालाई भेटेर केहिबेर गफ गर्दा मन केहि गह्रुगो भयो । अचानक याद आयो कुशें औशीको चाडमा मैले गर्नुपर्ने कर्मको स्मरण गराउन आउनुभएको जस्तो लाग्यो । मलाई लाग्यो हाम्रा पितृहरु आफ्ना सन्तानबाट यस्तै कर्मको अपेक्षा राख्नु भएको होला । त्यही समयमा नै एक लोटा पानी ल्याएर मेरा दिवंगत आत्माप्रति पानी दिइ तर्पण चढाए ।