झापाबाट प्रचण्डलाई चार रणनीतिक सन्देश « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

झापाबाट प्रचण्डलाई चार रणनीतिक सन्देश


यलम्वर टाइम्स
२ आश्विन २०८१, बुधबार ०९:२७

बिर्तामोड । यो हप्ता झापामा राजनैतिक छलफल तथा टिकाटिप्पणी निकै भयो । त्यसै पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आएको, उता पूर्व राजा ज्ञानेन्द्र झापामा बसेर राजनैतिक छलफल गर्दै बसेको खुलासा भएको कारण टिकाटिप्पणी हुनु स्वाभाविकै थियो ।

एक हप्ता अगाडि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गृह जिल्ला झापाको बिर्तामोड स्थित सिटी सेन्टरमा ठूला दलबाट भएका गतिविधि र व्यवहार साथै भ्रष्टाचार, नाता र कृपावादको मन्त्री मण्डलबाट हैरान हुन पुगेका कार्यकर्ताहरु करिब ४ सय बढी आफ्नो दलमा भित्र्याएका थिए । त्यो कार्यक्रम सम्पन्न गर्न पूर्व राजा ज्ञानेन्द्रको ठूलो भूमिका रहेको देखिन्छ ।

त्यस लगतै झापाको राजनैतिक भ्रमणमा आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यसरी नै सिटी सेन्टरमा छ सयभन्दा बढी एमाले, नेपाली कांग्रेस, स्वतन्त्र र जसपाका कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गराए ।

प्रवेश गर्ने क्रममा पूर्व कम्युनिष्ट नेता लोकबन्धु कन्दङ्वा लगायत रहेका थिए । लोकबन्धुले आफ्नो पक्षबाट चार सय बढी प्रवेश गराए ।

त्यसरी नै जसपा प्रदेश सदस्य मनी राई लगायत जसपाकै विद्यार्थी नेताहरु पनि प्रवेश गरे । उनीहरु प्रवेश गर्नुको शब्द एउटै थियो, ‘भ्रष्टाचारीहरुलाई माओवादी केन्द्रले कठघरामा ल्याउन खोज्दा एमाले र कांग्रेस बाधक हुनु ।’

उनीहरुले अध्यक्ष प्रचण्डलाई यो पनि भन्न भ्याए, ‘प्रचण्ड ज्यू सत्तामा नजानुहोस् । यसरी गाउँबस्ती हुँदै मेची महाकाली गरिब जनताको भनाई सुन्नुहोस् । त्यहाँ माओवादीलाई भलो छ ।’

भाद्र २९ गते राति झापा प्रवेश गरेका प्रचण्डले ३० गते बिहान मर्निङ वर्कमा बसपार्क हुँदै आफ्नो कोठामा आइपुग्दा झापाको पूर्व, पश्चिम, उत्तर, दक्षिणका कार्यकर्ताहरुले ढपक्कै छोपेका थिए ।
अध्यक्ष प्रचण्डलाई बेपत्ता, शहीद र अङ्गभङ्ग भएका जनसमुदायले भेटेर आफ्नो मनका पीडा पोखेका थिए ।

कुराकानीका क्रममा धेरै शहीदका आमाबुबा र अभिभावकले जनताको भावनालाई मल्हमपट्टी लगाइदिनु भयो भने त्यसैमा शहीदको सपना पुरा हुने बताएपछि भावुक बनेका थिए । ५० वर्ष माथि ९० वर्षका समेत शहीद परिवारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

टाइम स्क्वार होटलमा अध्यक्ष प्रचण्डले महिला, पत्रकार, कोचिला लगायत संगठनहरुसँग छलफल चलाएका थिए । भेटघाटमा प्रचण्डले थुप्रै सुझावहरु ग्रहण गरेका थिए ।

मर्निङ वार्कमा अर्जुनधारा–११ को बसपार्क पुग्दा सो क्षेत्रको ५०१ घर परिवारका सदस्यहले यस क्षेत्रमा भएभरको सम्पत्ति बेचबिखन गरेर बस्ने घरसम्म बनायौं तर बैंक कारोबार गर्न मालपोत कार्यालयले रोक्का गरिदिएपछि विचलनमा पुगेको पीडा सुनाए ।

प्रचण्डले पीडितहरुको ज्ञापनपत्र बुझ्दै निकासको ढोका खोल्न पहल गरिदिने वचन दिएपछि बसपार्कबासीहरुले खुशीको सास फेरेका थिए ।

विकल्पमा उभिए प्रचण्ड

राजनैतिक वृतमा पुष्पकमल दाहाल प्रचण्ड यतिबेला ठूला दलका विकल्पमा उभिएका छन् । सत्तमा बस्दा भ्रष्टाचारी, कमिसन खोरी, नक्कली भुटानी शरणार्थी र राज्यका जग्गा हडप्न खोज्नेलाई भकाभक पक्रदै जनताको कठघरामा उभ्याउदै गर्दा भ्रष्ट दलको दबदबामा फसेका दुइ ठूला दलहरुले रातारात सत्ताबाट हटाएपछि जनताले त्यो कुरा बुझेरै होला पूर्व भ्रमणमा रहँदा अध्यक्ष प्रचण्डको हातबाट अन्य दलका थुप्रै कार्यकर्ताहरु प्रवेश गर्न हौसिए ।

मोरङमा त एउटा गाउँपालिकाको मुसहरबस्ती सिङ्गै पार्टी प्रवेश गरे । एमाले र कांग्रेसका पनि त्यतिकै कार्यकर्ताहरु नेकपा माओवादीमा प्रवेश गरेका थिए ।

ठूला दलका नेता मध्ये प्रचण्ड नै भरिलो नेता हुन भने ठूला दुइ दलको राजनैतिक दस्तावेजभन्दा माओवादीको दस्तावेज जनमुखि र बहुमुखी भएको सन्देश नवप्रवेशीहरुले राखे ।

ट्राफिकले ३० माओवादीको १७

परिवर्तनको संघारमा उभिदा १० वर्षे जनयुद्धमा १७ हजार मानिसले जीवन कुर्वान गरे । त्यसको फलस्वरुप देशमा आमूल परिवर्तन भयो । संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, प्रतिनिधित्वको आधारमा सत्ता सञ्चालन र सहभागिता जस्ता जनताले खोजेको माग अनुसार काम भएको छ ।

तर, राज्यमा ट्राफिक, सडक र यातायातमा व्यवस्थापन हुन नसक्दा सालमा ३ हजार मानिस यातायात क्षेत्रबाट अकालमा नै मृत्यु हुँदा १० वर्षमा ३० हजार हुन पुग्छ । त्यसलाई फितलो ढंगबाट हेर्दा आज अनावश्यक मानिस मरिरहेका छन् । त्यसको रोकथामको जिम्मा सत्ता पक्षले गर्न नसक्दा देश कसलाई दिने ? के ट्राफिक, यातायात र सडक हत्याराको सूचिमा राख्न सकिन्छ त ?

परिवर्तनको युद्धमा मान्छे मर्नु र अनाहकमा त्यतिकै मान्छे मर्नुमा फरक हुन जान्छ । त्यसलाई समुचित व्यवस्थापन गरेर अगाडि बढाउन सके देश चाँडै विकसित बाटोमा लम्कन सक्छ ।

सिंह भेडा जस्तो हुँदा जनताले दुःख पाए

पूर्व राजनैतिक भ्रमणमा आएका अध्यक्ष प्रचण्डले बिर्तामोडको सिटी सेन्टरमा नवप्रवेशीहरुलाई स्वागत गर्दै सिंह भेडा जस्तो हुँदा जनताले दुःख पाएको सन्देश सुनाए ।

एउटा जंगलमा आमासँग छुट्टिएको सिंहको बच्चा भेडाको बथानमा हिंड्दै भ्या.. भ्या… गर्दै घाँस खान थालेछ । भेडा भ्या.. भ्या… गर्छ, त्यो सिंहको बच्चा पनि त्यसरी नै कराउँदै हिंड्छ । भेडाको बथानमा बडेमानको सिंह भ्या.. भ्या… गर्दै हिंडेको देख्दा त्यही बाल्यकालमा छुटेको सिंहको आमा अचम्मित हुन्छिन् । हतार हतार त्यो सिंहलाई समातेर इनारमा आफ्नो अनुहार हेर्न लगाउँछ । यसरी आफ्नो अनुहार हेरेपछि भ्या.. भ्या… गर्ने सिंहले आफू भेडा नभइ सिंह भएको महसुश गर्छ र आफ्नो शक्ति अपार भएको सम्झन्छ ।

मन्तव्यमा अध्यक्ष प्रचण्ड भन्छन्, ‘नेपाली कांग्रेस र नेकपा एमाले जस्तो भ्या.. भ्या… गर्नेहरुसँग लागेर आफूलाई कमजोरी ठान्ने हो भने अहिलेसम्मको परिवर्तन गुम्न सक्छ । सिंह भएर पार्टीले बोकेको विचारलाई अगाडि बढाउन लाग्नु आवश्यक छ ।’

प्रचण्ड र पूर्व राजाको जम्का भेट

३० गतेको कार्यक्रम सिध्याएर राजधानी हिंड्न लागेका अध्यक्ष पुष्पकमल दाहाल र पूर्व राजा ज्ञानेन्द्र शाह भद्रपुर एयरपोटमा आमने–सामने भएका छन् ।

साँझ ४: ४५ को बुद्ध एयरको टिकट भए पनि मौसमका कारण ७ बजे उड्ने योजना रहेको थियो । त्यही समयमा नै पूर्वराजा ज्ञानेन्द्र र उनका डफेदारहरु पनि थिए । राजाका एक डफेदारले अध्यक्ष प्रचण्डको विषयमा अन्टसन्ट भाषण ठोक्न थालेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएका थिए ।

तर, मौसमका कारण बुद्ध एयर उडान रद्ध भएपछि राजा ज्ञानेन्द्र दमक फर्के भने अध्यक्ष प्रचण्ड धुलाबारीतर्फ लागे । त्यस दिन नेकपा एसका नेता प्रेम आले प्रचण्डसँग खुब गफिदै थिए ।