संविधान फेरबदल गर्छु भन्नेलाई लखेट्छन् « Yalambar Times
५ आश्विन २०८१, शनिबार

संविधान फेरबदल गर्छु भन्नेलाई लखेट्छन्


यलम्वर टाइम्स
५ आश्विन २०८१, शनिबार ०२:१६

बिर्तामोड । जनआन्दोलन र जनयुद्धको तागतले तयार गरिएको २०७२ को संविधान आफू खुशी फेरबदल गर्छु भन्नेलाई जनताले लखेट्ने कुरा बामपन्थी नेता लोकबन्धु कन्दङ्वाले बताएका छन् ।

नेकपा माओवादी केन्द्रले झापाको मुक्ति चोकमा आयोजना गरेको कोणसभालाई सम्बोधन गर्दै नेता कन्दङ्वाले यो नेपालको संविधान विश्वकै कान्छो संविधान भएको बताउँदै धेरै विविधता र अधिकार बोकेर आएको बताए । उनले यसको रक्षा गर्नुको साटो आफू खुशी फेरबदल गर्छुभन्दै देउवा र ओली सरकार तम्सेको हुँदा खबरदार ! जनताले लखेट्लान भनी सजग गराएका थिए ।

हालै माओवादी केन्द्रमा प्रवेश गरेका कन्दङ्वाले सम्बोधनका क्रममा भ्रष्ट चरित्रका अनुहार सत्तामा बढी देखिएको हुँदा ती दुई दलप्रति टिप्पणी गर्दै सच्चा कार्यकर्ताहरुले तपाईहरुलाई मरेको पशुलाई उपियाँले छाडे जस्तै छाड्दै गएको हुँदा अब वैकल्पिक शक्ति निर्माणमा माओवादी केन्द्र उभिएको बताए ।

कोणसभा गर्नुअघि नेपालको चित्र बनाइ दीप प्रज्वलन गर्दै माओवादी केन्द्रका नेता हरिकुमार रानाले २०७२ को संविधानमा पहिचान, अधिकार र स्वायत्त क्षेत्र निर्माणमा अधिकार पर्याप्त भएको हुँदा यसको रक्षाका लागि सबै वर्ग, जाति, समुदाय जुट्नुपर्ने बताए ।

बिर्तामोड, बुद्धशान्ति, अर्जुनधारा, कनकाईको संयुक्त आयोजनामा भएको कार्यक्रममा जिल्ला इन्चार्ज झलकसिंह दर्लामी, जिल्ला संयोजक राजु आचार्य ‘अग्नी’, ज्योतिसिंह दर्लामी लगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यार्थी नेता रञ्जन धमलाले गरेका थिए ।