जीवन उपयोगी शिक्षासँगै स्थानीय विषयवस्तु पढ्न पाउने « Yalambar Times
७ आश्विन २०८१, सोमबार

जीवन उपयोगी शिक्षासँगै स्थानीय विषयवस्तु पढ्न पाउने


यलम्वर टाइम्स
७ आश्विन २०८१, सोमबार ०९:२९

अर्जुनधारा नगरपालिका स्थानीय पाठ्यक्रम निर्माणमा जुट्यो

अर्जुनधारा । निकै लामो समयपछि अर्जुनधारा नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाउने अभियान अन्तर्गत एक कार्यदिशा निर्माण गरेको छ ।

हाम्रो अर्जुनधारा स्थानीय पाठ्यक्रम कक्ष १–८ सम्म रहने गरी पुस्तक तयार गरी पठनपाठनमा अगाडि बढाउने उद्देश्यले कार्यदिशा निर्माण गरिएको हो ।

राष्ट्र निर्माणका लागि सामाजिक न्यायमा आधारित सक्षम र प्रतिस्पर्धी नागरिक विकास गर्न विद्यालय शिक्षाको भावि मार्गचित्र राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले तयार गरे अनुसार पाठ्यक्रम तयार गरिएको बताइएको छ ।

परिचयमानै भनिएको छ, ‘पाठ्यक्रम लक्ष्यतर्फ डोहो¥याउने बाटो हो । यसले निश्चित उमेर समूहका नानीबाबुहरुलाई उमेरको बढ्दो क्रमसँगैको स्तरमा विकास गर्न सघाउँछ ।’ पुस्तकमा के–के उल्लेख गरिएको हुन्छ भन्ने कौतुहलता बढीरहेको बेला कार्यदिशा अनुसार समकालिन समाजमा अगुवाई गरिरहेका जनप्रतिनिधि सामाजिक अभियान्ता, शैक्षिक सरोकारका अभ्यासकर्ता, उद्योगी, व्यवसायी, सहकारी अभियान्ता शिक्षक, प्रधानाध्यापक लगायतका विषयमा उल्लेख गरिने योजना रहेको छ ।

आफ्नो पालिकामा बसेर आफ्नो भूगोलभित्र रहेका प्राकृतिक, मठमन्दिर, खोलानाला साथै सरकारको काम, कर्तव्य र अधिकारका विषयमा ज्ञान दिनका लागि यो पाठ्यक्रमले ठूलो भूमिका खेल्ने गर्दछ ।

नानीबाबुहरुको बढ्दो उमेरसँगै रोजगारी र गरिखाने बाटो पनि सिकाइको क्रममा उल्लेख हुने भएको हुँदा नगर शिक्षा अति आवश्यक भएको शिक्षक पुण्य सुवेदीले बताए ।

राष्ट्रिय शिक्षा आयोग २०४९ ले आफ्नो प्रतिवेदनमार्फत नेपाल बहुविविधतायुक्त राष्ट्र भएको र यहाँको भौगोलिक, सामाजिक, सांस्कृतिक र धार्मिक विविधताले गर्दा केन्द्र तहबाट निर्माण गरिएको पाठ्यक्रमले समग्र राष्ट्रको प्रतिनिधित्व गर्न सक्दैन भन्ने यथार्थलाई स्वीकार गर्दै पालिकास्तरीय पाठ्यक्रम तयार पारी स्थानीय रुची आवश्यकतालाई सम्बोधन गर्दै सरोकारवालाको प्रत्यक्ष सहभागितामा पुस्तक तयार गरी अगाडि बढ्नुपर्ने नीतिमा उल्लेख छ ।

अर्जुनधाराका बालबालिकाले महाकाली नदीको कथा पढ्नुभन्दा विरिङ र टाङटिङ नदीको ज्ञान लिनु ठूलो उपयोगी हुन जान्छ । काठमाण्डौको जनसंख्याभन्दा आफ्नै पालिकाको जनसंख्या जान्दा उपयुक्त हुन जान्छ । बाहिर बस्नु भएका लेखक, साहित्यकारभन्दा पालिकाभित्रैका साहित्यकारको कथा पढ्न उपयुक्त हुन्छ । प्रेरणादायी थुप्रै मानव पालिकामा नै भएको हुँदा तिनका विवरण र सफलताका कथा पढियो भने त्यसले उच्च ज्ञान दिन्छ र जिन्दगीलाई सहज रुपमा अगाडि बढाउन मद्दत पुग्ने स्थानीय पाठ्यक्रम नीति निर्माणमा उल्लेख छ ।

अर्जुनधाराका प्रथम जनप्रतिनिधिहरुले उतिखेरै स्थानीय पाठ्यक्रम निर्माणका लागि बजेट छुट्याए पनि प्राविधिक समस्याले अगाडि बढ्न नसकेको स्वीकार्दै हालका नगर प्रमुख बलदेवसिंह गोम्देनको पालामा स्थानीय पाठ्यक्रम २०८१ नियमावली तयार पार्दै आगामी शैक्षिक सत्रबाट लागू गरिने नगरको योजना रहेको छ ।

नगर प्रमुख गोम्देनले आफ्नो पालामा नै स्थानीय पाठ्यक्रम तयार गरी बालबालिकाहरुलाई पढाउने योजना अन्तर्गत कामलाई अगाडि बढाइएको प्रेस संयोजक नन्दलाल खतिवडाले यलम्वर टाइम्सलाई बताए ।

नगर कक्षमा पाठ्यक्रम विकास समितिका संयोजक बद्रीप्रसाद ओलीले ७६ पृष्ठको स्थानीय पाठ्यक्रम नीतिबारे प्रस्ट पार्दै काम अगाडि सारिएको बताए । नगर प्रमुख गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, लगायत अन्य जनप्रतिनिधिहरुको उपस्थितिमा स्थानीय पाठ्यक्रमको विषयमा बुझ्दै नानीबाबुहरुको चौतर्फी विकासमा स्थानीय पाठ्यक्रम निकै गुणकारी हुने हुँदा चाँडै कार्य योजना तयार गरी पठनपाठनमा लैजाने बताए ।