पर्वहरु नजिकिदै गर्दा पाथीभरामा दर्शन गर्नेको संख्यामा वृद्धि « Yalambar Times
१२ आश्विन २०८१, शनिबार

पर्वहरु नजिकिदै गर्दा पाथीभरामा दर्शन गर्नेको संख्यामा वृद्धि


यलम्वर टाइम्स
९ आश्विन २०८१, बुधबार १२:२५

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा मुख्य पर्वहरु नजिकिदै जाँदा दर्शन गर्नेहरुको संख्या बढेर गएको छ ।

दशैं तिहार पर्व नजिकिएसँगै पाथीभरा दर्शन गर्नेको संख्या बढ्दै गएको हो । दर्शन गर्ने मुख्य मौसम सुरु भएको कारण आगामी दिनमा भक्तजनको संख्या अझै बढ्ने जनाइएको छ ।

पाथीभरा मन्दिरमा दशैँ र तिहारको समयमा विशेष पूजा, अनुष्ठान र धार्मिक कार्यक्रमको आयोजना हुने भएकाले यो समयमा तीर्थयात्रीको उल्लेख्य बृद्धि हुने गर्छ ।

पाथीभरा मन्दिर नेपालकै महत्त्वपूर्ण धार्मिक तीर्थस्थलमध्ये एक हो । समुद्री सतहदेखि करिब तीन हजार ७९४ मिटरको उचाइमा अवस्थित छ ।

यो मन्दिर धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिने भएकाले नेपालबाट मात्र होइन, भारतबाट समेत पाथीभरा दर्शन गर्न हजारौँ श्रद्धालु आउने गर्छन् ।

पाथीभरा देवीलाई शक्ति स्वरूपा देवीका रूपमा पुजिन्छ र यो मन्दिरमा विशेषगरी महिलाहरू सन्तान प्राप्तिका लागि, रोगव्याधी निको पार्न तथा इच्छित मन्नत पूरा गर्नका लागि पूजा गर्ने परम्परा छ । यस मन्दिरमा आउने भक्तजनले देवीलाई बलि दिनेसमेत प्रचलन छ ।

समितिका अनुसार यस वर्षको दशैँ र तिहारको समयमा अझ बढी भक्तजन आउने अपेक्षा गरिएको छ, यसका लागि आवश्यक तयारी समेत भइरहेका छन् ।

तीर्थयात्रीहरूको सुविधाका लागि मन्दिर क्षेत्रमा खानेपानी, आवास र अन्य सेवा–सुविधाको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ ।