टेक–मान रंगशालामा असोज १४ बाट फुटबल प्रतियोगिता हुने « Yalambar Times
१२ आश्विन २०८१, शनिबार

टेक–मान रंगशालामा असोज १४ बाट फुटबल प्रतियोगिता हुने


यलम्वर टाइम्स
९ आश्विन २०८१, बुधबार १२:४४

अर्जुनधारा । अर्जुनधारा–१ स्थित टेकमान रंगशालामा असोज १४ गतेबाट डा.सा.ब युवा क्लबको आयोजनामा दोस्रो प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।

रंगशालामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता आयोजना गर्न लागिएको जनाइएको हो । प्रतियोगितामा १० टोलीले सहभागीता जनाउने संयोजक बेनुकुमार राईले बताए ।

असोज २३ गते हुने फाइनल खेलको विजेताले नगद ५० हजार र ट्रफी पाउने छ भने उपविजेताले नगद ३० हजार ट्रफी पाउने संयोजक राईले बताए ।

यसैगरी, प्लेयर अफ दी म्याचसँगै अन्य विधागत पुरस्कार प्रदान गरिने जनाइएको छ । संयोजक राईका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

वडा कार्यालय, वैदेशिक रोजगारीमा रहेका युवाहरु, सामाजिक संघसंस्था, फुटबलप्रेमी, सामुदायिक वन कार्यालयको सहयोगमा प्रतियोगिता सम्पन्न हुने भएको छ । राईले बिर्तामोडको इन्द्रेणी क्याम्पसले दोस्रो पुरस्कार प्रायोजन गर्ने प्रतिबद्धता जनाएको समेत जानकारी दिए ।

प्रतियोगितामा आयोजकसँगै शनिश्चरे एफसी, न्यू स्टार क्लब खोपबाडी, जामुनखाडी एफसी, बाहुनडाँगी एफसी, न्यू भिजन युथ क्लब, झापा एफसी, त्रिवेणी एफसी, सैनिक ११ र मुजुरभिट्टा केरखाको सहभागिता रहने भएको छ ।

पत्रकार सम्मेलनमा वडाध्यक्ष उपेन्द्र बस्नेत, वडा सदस्य मदन लिमेल, टेक–मान रंगशाला व्यवस्थापन समितिका अध्यक्ष कृष्ण लोहार, प्रतियोगिताको आर्थीक संयोजक तथा नमुना बजार व्यवस्थापन समितिका अध्यक्ष पदम निरौला, हचुमासा सामुदायिक वनका अध्यक्ष चन्द्र प्रसाईलगायतले आफ्ना धारणा राखेका थिए ।

उनीहरु प्रतियोगिता सफल बनाउन आफ्नो स्थानबाट प्रतिबद्ध भएर लाग्ने बताएका छन् भने सबैलाई सहयोगको अपिल गरेका छन् । प्रतियोगिता सम्पन्न गराएर बचेको रकम रंगशालाको मर्मतमा खर्च गर्ने आयोजकको भनाई छ । कार्यक्रमको सञ्चालन प्रचार प्रसार समितिका संयोजक तिवेन्द्र काफ्लेले गरेका थिए ।