मुक्कुमलुङ संरक्षणका लागि माओवादी केन्द्रको भूमिका आवश्यक « Yalambar Times
१२ आश्विन २०८१, शनिबार

मुक्कुमलुङ संरक्षणका लागि माओवादी केन्द्रको भूमिका आवश्यक


यलम्वर टाइम्स
९ आश्विन २०८१, बुधबार १३:३१

काठमाण्डौ । मुक्कुमलुङ संरक्षणका लागि माओवादी केन्द्रको भूमिका आवश्यक भएको भन्दै आज पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तीन बुँदे ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका छन् ।

ताप्लेजुङ जिल्लामा अवस्थित मुक्कुमलुङ याक्थुङ, लिम्बू समुदायको मुन्दुमी, सांस्कृतिक, आध्यात्मिक पवित्र स्थल हो । उक्त स्थललाई हिन्दूकरण गरेर याक्थुङ्बाहरुको सांस्कृतिक धरोहरमाथि प्रहार गरेको भन्दै अध्यक्ष प्रचण्डलाई संरक्षण समितिका सदस्य सरस्वता सिंघक ‘सरु’ लगायत आन्दोलनमा उत्रिएका पहिचानवादी समूहले ज्ञापनपत्र बुझाएका थिए ।

दुइ वर्षअघिबाट मुक्कुमलुङ संरक्षण समितिले कथित पाथीभरा नामाकरण गरेर एक्लौटी गरेको दुव्र्यवहार किराँत लिम्बूवानी भूभागका जनतालाई बज्र प्रहार गरेको हुँदा त्यसलाई बारम्बार त्यसो नगर्न आग्रह गर्दा सरकारले सशस्त्र प्रहरीलाई परिचालन गरेर आन्दोलनकारीमाथि गरेको दुव्र्यवहारप्रति सरकारलाई अवगत गराउँदा पनि बेवस्ता गरेको हुँदा याक्थुङ्बा माथि गरेको गरेको दुव्र्यवहारलाई रोक्न माओवादी केन्द्रको भूमिका आवश्यक भएको औल्याएका थिए ।

त्यतिमात्र नभई दलाल, व्यापारीहरुले सरकारलाई लोभलाल्चामा फसाएर केवलकार निर्माण गर्ने जस्ता कार्य गर्दै त्यहाँको सुन्दरता मास्ने काम भएको हुँदा हाल संघर्ष समितिले बखरदारी गरेको जानकारी अध्यक्ष प्रचण्डलाई अवगत गराएका थिए ।

लिम्बू समुदायको परम्परागत प्रथाजनित पूर्खौंली भूमि हुनुका साथै मुन्दुमी सांस्कृति, आध्यात्मिक पवित्र स्थल आस्था र विश्वासको केन्द्र भएकोले यसलाई राज्यले अतिक्रमण गरी पाथीभरा नाम राखिएकोलाई अस्वीकार गर्दै ऐतिहासिक नाम मुक्कुमलुङ नै कायम गरिनुपर्ने, यस कुरासँग जोडिएको १८३१ मा गोर्खा नेपाल र लिम्बूवान बीच भएको लालमोहर सन्धी, अन्तर्राष्ट्रिय कानुन र संविधानको धारा ३२ (३) को सम्मान गर्दै कार्यान्वयन गर्नुपर्ने, प्राकृतिक र वातावरणलाई प्रतिकुल प्रभाव पार्ने मुक्कुमलुङको मूल्यमान्यता र अस्तीत्वलाई संरक्षण नगर्ने भएकोले केवलकार बन्द गरिनुपर्ने, मुक्कुमलुङ क्षेत्रमा कुनै कार्य गर्नुपरे अन्तर्राष्ट्रिय कानुन अनुसार आदिवासी समुदायको स्वतन्त्र, अग्रीम जानकारी सहितको स्वतन्त्र मञ्जुरी लिनुपर्ने तीन बुँदे मागसहित पढेर सुनाएका थिए ।

ज्ञापनपत्र दिने काममा मुक्कुमलुङ संरक्षण संघर्ष समितिका संयोजक श्रीप्रसाद लिम्बू, पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बु, किरात याक्थुङ चुम्लुङ संघीय अध्यक्ष प्रेम येक्तेन, लिम्बू थरगत संस्थाका संयोजक नन्द कन्दङ्वा, प्रदेश नं. १ पुनः नामाकरण संघर्ष समितिका संयोजक प्रेम येक्तेन, महासचिव रामभक्त कुरुम्बाङ, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा, मञ्च सम्वद्ध लिम्बूवान पार्टीका अध्यक्ष कुमार लिङ्देन, पहिचानवादी मोर्चाका नेता खगेन्द्र माखिम, वुद्धिजीवि कमल तिगेला अभियान्ता, राम मादेन लगायतको सहभागिता रहेको थियो ।

ज्ञापनपत्र बुझाउने क्रममा अध्यक्ष प्रचण्डसँगै पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेत रहेको सरस्वता सिंघक ‘सरु’ले यलम्वर टाइम्स बताए ।