‘जनतालाई भ्रष्टचारको कालो बादलले छोप्यो’ « Yalambar Times
२० आश्विन २०८१, आईतवार

‘जनतालाई भ्रष्टचारको कालो बादलले छोप्यो’


यलम्वर टाइम्स
१५ आश्विन २०८१, मंगलवार ०८:४६

अर्जुनधारा । भ्रष्टचार, कमिसनतन्त्र र वैदेशिक हस्तक्षेपले आक्रान्त बन्दै गएको मुलुकलाई सुधार्न अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’को नेतृत्व बाहेक अरु विश्वासिलो पात्र नभएको पूर्वलडाकु संघका प्रदेश अध्यक्ष नरबहादुर तामाङको धारणा रहेको छ  ।

माओवादी केन्द्रका अर्जुनधारा नगर अध्यक्ष समेत रहेका तामाङ जनयुद्धका सफल कमाण्डर हुन् । उसबेला शाही सरकारका सेनासँग भिडन्त हुँदा उनको शरीरमा थुप्रै चोटहरु परेको देखिन्छ ।

जनयुद्ध हुनुको पछाडी जनताले हरेक कुरा मुक्ति पाऊन् भन्ने नै हो । तर, जनतालाई मुक्ति दिनको सट्टा कमिसनतन्त्र, घुसखोरी, भ्रष्टचार र महंगो निर्वाचन पद्धति बनाएर जनतालाई नै महंगो भारी बोकाएर दुःख दिएको हँदा त्यसलाई परास्त गर्न माओवादी केन्द्रकै सरकार आवश्यकता भएको उनी बताउँछन् ।

माओवादी केन्द्रको सरकार हुँदा भ्रष्टहरु पक्राउ पर्दैथिए । कमिसनखोरीहरु आतिदै थिए । गिरीबन्धु टि–स्टेटका नाईकेहरु तितरबितर हुँदै थिए । नक्कली भुटानी शरणार्थी काण्ड चलाउनेहरु सरकारको पाऊ मोल्दै थिए ।

कुन छिमेकी देशको शक्तिले हो, ठूला दल (एमाले, कांग्रेस) रातारात एक भएर ‘प्रचण्ड’ सरकार ढाली आफैं राज गर्न थाले । भ्रष्टचारीलाई संरक्षण गर्ने यस्ता सरकारबाट जनताले कस्तो आशा राख्ने ? अध्यक्ष तामाङले प्रतिप्रश्न राखे ।

‘प्रदेश नं. १ मा पूर्व लडाकु ४ हजारभन्दा बढी संगठीत छौं । कोही पार्टीमा सक्रिय रहनु भएको छ भने कोही व्यापार व्यवसायमा तल्लिन छौं,’ अध्यक्ष तामाङले भने ।

आफू पूर्व लडाकुका अगुवा नेता भएकाले मुलुकलाई फेरि पूर्व लडाकुहरुको आवश्यकता परे अझै तयार रहेको समेत बताए ।

अर्जुनधारा–१० चुथाई स्थायी घर भएका अध्यक्ष तामाङ पछिल्लो पटक नेकपा माओवादी केन्द्रप्रति जनताको आशा, भरोसा भएकै कारण पार्टी प्रवेश गर्नेहरुको संख्या बढ्दै गएकाले उत्साहित देखिन्छन् ।

प्रचण्ड सरकारसँगै रवि लामिछाने पनि केही गरौं भनेर जनताको पक्षमा काम गर्दै थिए, भ्रष्ट चरित्र बोकेकाहरुले हत्याएपछि एक्कासी जनतालाई भ्रष्टचारको बादलले छोपेको हुँदा देश आर्थिक संकटमा फसेको आरोप उनको छ ।