हलुवागढ सामुदायिक वनको २५ औं वार्षिक साधारणसभा सम्पन्न « Yalambar Times
२ कार्तिक २०८१, शुक्रबार

हलुवागढ सामुदायिक वनको २५ औं वार्षिक साधारणसभा सम्पन्न


यलम्वर टाइम्स
२२ आश्विन २०८१, मंगलवार ११:३४

सिस्ने । अर्जुनधारा–१ सिस्ने स्थित हलुवागढ सामुदायिक वन उपभोक्ता समूहको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

वनका अध्यक्ष देउनारायण राईको सभापतित्व तथा अर्जुनधारा वडा नं. १ का वडाध्यक्ष उपेन्द्र बस्नेतको प्रमुख आतिथ्यमा भएको साधारणसभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, मलेप प्रतिवेदन, आर्थिक वर्ष २०८१–०८२ को वार्षिक बजेट लगायतको विषयमा छलफल गरिएको थियो ।

साधारणसभामा अध्यक्ष राईले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वन संरक्षणका लागि आफूहरु निरन्तर लागि परेको बताए ।

उनले आन्तरिक पर्यापर्यटनमा यस सामुदायिक वनले जोडि दिएको बताउँदै वनबाट सञ्चालित कालिखोला सिमसारमा तार जाली घेराबारा, बिग्रिएको अवस्थामा रहेको मनो रेल मर्मत गरी सञ्चालनमा ल्याएको, चिल्ड्रेन पार्कमा रहेका पिङ्ग मर्मत, थप २ सिटे र ३ सिटे पिङ्ग खरीद गरिएको जाननकारी दिए । राईले वनभोज खाने ठाउँलाई व्यवस्थित गर्न चार अलग–अलग स्थानमा टहरा निर्माण गरिएको बताए ।

प्रतिवेदन वाचन गर्दै अध्यक्ष राईले सामाजिक कार्य अन्तर्गत अर्जुनधारा वडा नं. १ र इलामको रोङको वडा नं. २ जोड्ने कल्र्भट मर्मत, आंशिक रुपमा मलेपमा भएका दायित्व फिर्ता गर्दै आएको, विवाह, वर्तबन्ध, मरिमराउ जस्ता कार्यमा दाउराको सहज आपूर्ति, कृषकहरुका लागि हलो, जुवा, हरिस, पटा र खोला मजदुरहरुका लागि गिटी चाल्ने जालीका फ्रेम निर्माणका लागि निःशुल्क काठ उपलब्ध गराउँदै आएको सुनाए ।

प्रतिवेदन अनुसार वि.सं. २०५४ मंसीर ११ गते स्थापना भएको यस सामुदायिक वन २८६.५८ हेक्टर जमिनमा फैलिएको छ । वन उपभोक्ता समूहलाई सहज रुपमा सञ्चालन गर्नका लागि पाँच वटा ब्लकमा विभाजित गरिएको र ५९८ घरधुरी उपभोक्ता रहेका छन् ।

अध्यक्ष राईले आर्थिक वर्ष २०८१–०८२ का लागि ८२ लाख ४७ हजार ६४९.७५ रुपैयाँ बराबरको अनुमानित बजेट पनि प्रस्तुत गरेका थिए । संस्थाको तर्फबाट प्रतिवेदन पेश गर्ने क्रममा अध्यक्ष राईले यसअघिका कार्यकालमा भएका कामहरुको संक्षिप्त जानकारी गराउँदै पूर्व अध्यक्षहरुलाई पनि सम्झिएका थिए ।

समूहको प्रतिवेदन प्रस्तुत गर्ने क्रममा संस्थाको महालेखा परीक्षकको प्रतिवेदन सचिव ओम तोलाङ्गीले वाचन गरेका थिए ।

यसैबीच वन समूहको कर्मचारीको रुपमा रहेर लामो समय सेवा पु¥याएको भन्दै वन कर्मचारी नरबहादुर रम्तेललाई सम्मानसहित बिदाई गरिएको छ ।

उनलाई कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष उपेन्द्र बस्नेतले नगद रु. १० हजारसहित सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरेका थिए ।

कार्यक्रममा कनकाई सबडिभिजनका सुरेश खनाल, वन महासंघ अर्जुनधाराका भानुभक्त श्रेष्ठ, सल्लाहकार लीलाराज आचार्य, हचुमासा समुदायिक वनका अध्यक्ष चन्द्र प्रसाई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

समूहकी उपाध्यक्ष बुद्धकला ढकालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव ओम तोलाङ्गी र सहसचिव राम फागोले गरेका थिए ।