शनिश्चरे नगर अस्पतालबाट उपचार सेवामा कञ्जुस्याईं नगर्न नगर प्रमुख गोम्देनको आग्रह « Yalambar Times
२ कार्तिक २०८१, शुक्रबार

शनिश्चरे नगर अस्पतालबाट उपचार सेवामा कञ्जुस्याईं नगर्न नगर प्रमुख गोम्देनको आग्रह


यलम्वर टाइम्स
२२ आश्विन २०८१, मंगलवार १२:१२

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देनले शनिश्चरे अस्पतालमा आशा र भरोसा बोकेर आएका बिरामीहरुलाई कञ्जुस्याईं नगरिकन उपचार गर्न अस्पतालका स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेका छन् ।

नगरपालिका मार्फत शनिश्चरे नगर अस्पताललाई ७६ लाख बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण गर्दै नगर प्रमुख गोम्देनले शनिश्चरे अस्पताल नगर गौरव अन्तर्गत सञ्चालित अस्पताल भएको बताए ।

‘अपुग आवश्यक सामग्री भन्नुहोस् हामी दिन तयार छौं तर, उपचारमा आएका बिरामीहरुलाई भरपूर सेवा दिनुहोस्’ गोन्देनले अगाडि भने, ‘यस नगरमा नगरभित्रका मात्र उपचार गर्न आउँदैनन् । माई, बुद्धशान्ति, मेचीनगर र बिर्तामोडका समेत बिरामीहरुको उपस्थिति हुने हुँदा नगरको परिचय दिन तपाईहरुको ठूलो हात हुनेछ । तपाई स्वास्थ्यकर्मीहरु मिहेनत गर्नुहोस् । तपाईको सेवा सुविधामा नगरले हेर्नेछ ।’

नगर प्रमुख गोम्देनले अस्पतालका डा. योगेश चेम्जोङलाई स्वास्थ्य उपकरण एवम् सामग्री हस्तान्तरण गरेका थिए । नगरले डेलिभरी बेड, इसीजी मेशिन, फोटो थेरापी मेशिन, प्यासेन्ट बेड, एक्सरे मेशिन लगायतका सामाग्री अस्पताललाई प्रदान गरेको थियो ।

नगर प्रमुख बलदेवको पहलमा संघीय सरकारले उपलब्ध गराएको सामग्री अस्पताललाई हस्तान्तरण गरिएको बताइएको छ । कार्यक्रममा अस्पताल समितिका सदस्य कृष्ण बरालले यस शनिश्चरे अस्पतालबाट राम्रा काम हुँदै गरेको हुँदा यसलाई व्यापाकता दिन सञ्चारकर्मीहरुलाई आग्रह गरेका थिए ।

सदस्य बरालले राम्रा कामको प्रशंसा, बिग्रन पुगे सुझाव समेत दिन अनुरोध गरे । यसैबीच, नेपालमै पहिलो पटक यस अस्पतालमा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम सञ्चालन भइरहेको बताइएको छ ।

गत असार २० गतेदेखि सुरु भएको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रममा २६ गते शल्यक्रियाबाट पहिलो प्रसुति सेवा लिने अर्जुनधारा–८ की शिवानी पूर्वेलाई सम्मान गरियो । शिशु प्रथम पूर्वेलाई समेत कार्यक्रममा स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।

राजविक्रम खड्काले सञ्चालन गरेको कार्यक्रममा डा. योगेश चेम्जोङले स्वागत गर्दै नागरिकको स्वास्थ्य उपचारमा भरपुर सहयोग पुर्याउने आश्वासन दिएका थिए ।

कार्यक्रममा सदस्य राजु कार्की, गौरीमाया चिमरिया, कौशिलाल परियार, खगेन्द्र इङ्नाम, डा. अनिशा राई, डा. सत्यनारायण शाह, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. दिप्ती कुँवर, सन्तोष चिमरिया, केशव अधिकारी लगायतको आतिथ्य रहेको थियो ।

अस्पतालमा के कस्ता सामग्रीहरु छन् भन्ने विषयमा शाखा प्रमुख सन्तोष चिमरियाले जानकारी गराएका थिए ।