नयाँ जनशक्ति उत्पादनमा नरबहादुर प्रतिष्ठान एक कदम अगाडि « Yalambar Times
२ कार्तिक २०८१, शुक्रबार

नयाँ जनशक्ति उत्पादनमा नरबहादुर प्रतिष्ठान एक कदम अगाडि


यलम्वर टाइम्स
२३ आश्विन २०८१, बुधबार ११:२०

बिर्तामोड । नेकपा माओवादी केन्द्रकी नेतृ तथा माननीय धर्मशिला चापागाईले सरकारको शिक्षा नीतिबाट नेपाली युवा शक्तिलाई गरिखाने र योग्न बनाउन नसक्ने टिप्पणी गरेकी छिन् ।

बुधबार नरबहादुर कर्माचार्य प्रतिष्ठान बहुप्राविधिक शिक्षालयको अन्तरक्रिया तथा शुभकामना आदनप्रदान कार्यक्रममा प्रमुख अतिथि समेत रहेकी नेतृ चापागाईंले नेपाल सरकारले यो दशक आईटीको दशक भनेर प्राविधिक शिक्षालाई जोड दिइरहेको बेला हाम्रा नानीबाबुहरुलाई पुरानै शैलीमा पढाइरहँदा देशले सक्षम युवा शक्ति उत्पादन गर्न नसकेको बताइन् ।

उनले देशलाई जनशक्ति र आत्मानिर्भर बनाउने शिक्षा नीति आवश्यक भएको औल्याइन् । नेतृ चापागाईले नरबहादुर प्रतिष्ठानबाट सैद्धान्तिक शिक्षा नीतिलाई चुनौति दिँदै नयाँ जनशक्ति उत्पादनमा योगदान दिएको बताइन् ।

उनले कम्युनिष्ट सरकार भएको देशका जनता मागी खाने होइन दक्ष र गरिखाने हुनुपर्नेमा हामी कम्युनिष्ट पार्टीहरु कहाँ चुक्दैछौं भनी प्रश्न गर्दै समिक्षा गर्ने दिन आएको बताइन् ।

उनले निकै मिहेनत र कडा परिश्रमबाट गणतन्त्र स्थापना भएको बताउँदै त्यसलाई लत्याउन केही ठूला दल लागेको आरोप लगाउँदै सजक र सचेत हुनुपर्ने बताइन् ।

प्रतिष्ठानका अध्यक्ष ज्योतीसिंह दर्लामीले नेतृत्वले उत्तरदायित्व बहन गर्दै सामाजिक योगदान, व्यवहारिक विकास, नविन प्रविधि र समुदायको सहभागिता भए देशले नयाँ शक्ति उत्पादन गर्ने बताए । उनले स्थापना समयदेखिनै नरबहादुर कर्माचार्य प्रतिष्ठान त्यस कार्यमा जुटेको पनि सुनाए ।

प्रतिष्ठानका प्राचार्य देशु वनेमले सञ्चालन गरेको कार्यक्रममा माननीय सुशिला कन्दङ्वा, प्रदेश पूर्व राज्यमन्त्री झलकसिंह दर्लामी, पूर्व मन्त्री दुर्गाप्रसाद चापागाई, पार्टी प्रदेश उपाध्यक्ष विजय सम्पाङ, जिल्ला सचिव मोहन टुडु, पुरुषोत्तम चुडाल, हिकमत घिमिरे, गगन पुरी, श्यामबीर लिम्बू, सरु न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।