पाकेको धानबालीमा क्षति « Yalambar Times
६ कार्तिक २०८१, मंगलवार

पाकेको धानबालीमा क्षति


यलम्वर टाइम्स
३ कार्तिक २०८१, शनिबार ०७:३४

अर्जुनधारा । यो वर्ष अत्याधिक पानी बर्सेको कारण अगुवा धानबालीमा क्षति पु¥याएको छ । केही काटेका धान भिजेका छन् भने केही काट्नलाई तयार पारिएको धान काट्न नपाउँदा खुरीएको छ । विशेष गरी रामधान, हर्दिनाथ–१, चैते–५, जिरामसिना लगायतका धानहरुमा क्षति पुगेको देखिन्छ । निरन्तर भएको वर्षाका कारण अर्जुनधारा क्षेत्रमा नगर विकास सहकारीले बीउ उत्पादनका लागि तयार पारिएको हर्दिनाथ–१, चैते–५ र रामधानमा ४० प्रतिशत क्षति पुगेको जनाएका छन् । कति ठाउँमा धानको फूल फूल्ने बेला अत्याधिक गर्मीसँगै पानी पर्दा भुसमात्र भएको अवस्था छ ।

वर्षा निकै लामो समयसम्म रहने मौसम विद्हरुको अनुमान छ । कोशी प्रदेशमा लगभग ६४ करोड बराबरको अगुवा धानबालीमा असर भएको तथ्याङ्क छ । बढ्दो महंगीसँगै धान उत्पादनमा भएको क्षतिले किसानहरु पीडित हुन पुगेका छन् । महंगो धान रोपाई, वर्षाका कारण उत्पादनमा ह्रास आउनाले यो वर्ष अन्नको भाउ बढ्ने देखिन्छ । अत्याधिक उत्पादन हुँदा पनि कोशी प्रदेशका जनता भारतको चामलमा भरपर्नु परेको छ । गाउँघर बाहेक होटलमा भारतमा उत्पादन गरिएको चामल खपत हुने गरेको पाइन्छ ।

नेपालमा ठूल्ठूला राइस् मिल हराएकै कारण पनि भारतमा उत्पादन गरिएका चामल किन्न बाध्य छौं । भएका मिलहरुले नेपालमा धान किनेर भण्डारण गर्न र केही सहज मुल्य आएपछि भारतलाई बिक्री गर्ने चलन पनि छ । त्यही धानको अन्न होटल तथा शहरी जीवनशैलीमा चल्नेहरुले सेवन गरेको पाउँछौं । त्यसको अन्त्यका लागि कृषिमा आन्तरिक रणनीति बनाउन जरुरी देखिन्छ । यसका साथै धानबालीमा क्षति पुगेर पीडित बनेका किसानहरुको अवस्था हेरेर सहयोग गर्न जरुरी छ ।