नाङ्गै हुँदा पनि खुशी « Yalambar Times
६ मंसिर २०८१, बिहीबार

नाङ्गै हुँदा पनि खुशी


यलम्वर टाइम्स
३ कार्तिक २०८१, शनिबार १०:५०

[दिपीन राई]

कलिलो उमेर, ओठमाथि भर्खरै जुगाको रेखी बस्न थालेको छ । उमेरले १७, १८ वर्षको गाउँले केटो धन कमाउने आशमा आसाम भासिन्छ । त्यस क्षेत्रको आदिवासी र गाउँ शहर बुझ्दाबुझ्दै उमेर २७, २८ वर्ष पुगेको छ । गाउँको केटो सबैले नेपाली कान्छा भनेर बोलाउन थाले आसामतिर । त्यतैको एक क्षेत्री थरकी छोरीसँग माया पिरती बस्यो । विवाह पनि गरे । भने जस्तो पु¥याउन नसक्दा श्रीमती अर्केसँग हिंडी ।

करिब ३० वर्षपछि ४८ वर्षको उमेर छदा आफ्नो घर फर्केका तोयानाथ गाउँको बस्ती उजाड भएको देखेपछि छक्क पर्दै आफन्तलाई पोख्छन् । तोयानाथको घर इलाम जिल्लाको सोयाकमा पर्छ । उस्बेला सोयाक तिर गाडीघोडा कुद्दैन थियो । गोरेटो बाटोहरुमात्र थिए । इलाम बजारबाट ६ घण्टामा आफ्नो घर पुगेको याद छ तर बिर्तामोडबाट ३ घण्टामा नै सोयाक पुग्दा तोयानाथ चकित हुन्छन् ।
तीन दिदीबहिनीको एक्लो माइती तोयानाथका सबै चेलीहरु विवाह गरेर गइसकेका थिए । आमाबुबा मात्र घरमा भएकाले हराएको छोरा एक्कासी देख्न पुग्दा अचम्म हुन्छन् । सपनामै छौं कि क्या हो ? जेठी भन्दै गफिन्छिन् । पोहोर साल टाँकीको रुखमा घाँस काट्दा रुखबाट लडेर खुट्टा भाँच्चिएका बुबा पनि गहभरी आँसु झार्दै तोए… तोए… भनेर नजिक पुग्छन् । आमाले त तोए आयो भनेर डाको छाड्दै गाउँनै उचालेर चिच्याइन् । हैन भण्डारी बुढाबुढीलाई के भए छ भनेर गाउँका मानिसहरु आउँदा त तोया घर फर्केकाले अचम्म मान्दै हेर्न थुप्रिएका रहेछन् ।

हराएको मानिस भेटियो भनेर उसका दौतरीहरुले फेसबुकमा पोष्ट गर्छन् । गाउँ नै उज्यालो हुन्छ । अझ चाडवाडको समय हुन्छ । तोएलाई हेर्ने र भेट्नले प्रश्न गर्छन्, ‘यत्रो वर्ष कता हराईस् केटा ?’ त्यो बेलाको सोयाक अहिलेको जस्तो थिएन । धानको भात खान गरिब दुखीलाई हम्मेहम्मे हुने गथ्र्यो । त्यसो त सोयाक तिर इलाम बजारका धनी मानिसहरुको धान फल्ने जग्गा जमिन भए पनि सोयाककीहरुको भने त्यति धेरै थिएन । फलेका अन्नहरु इलाम बजारमा बेचेर नुन, तेल टार्नु पर्ने हुन्थ्यो ।

पढ्नु पर्ने समय त थियो तर पढाउने वातावरण नभएपछि कक्षा ८ पढ्दै गर्दा मुगलान जाने जोशसँगै आसाम भासिएको कथा भेट्न आउने आफन्तलाई सुनाउथे तोयाले । छोरा हराएपछि भण्डारी परिवारमा कहिल्यै खसीबाख्रा काटेर भतेर लगाएका थिएनन् । छोरीहरुको विवाह पनि दुःखले नै गरिदिएका थिए । तोया टीकाको अघिल्लो दिन टुप्लुक्क घर आइपुगेको खुशीमा बुढीआमाले घरमा पालेको गतिलै खशी काट्न पुगिन् । टीकाको भोलिपल्ट दिदी बहिनीहरु भान्जाभान्जीहरुलाई लिएर आइपुगे । कहिल्यै नदेखेको सालो देख्दा भिनाजुलाई पनि गर्व लागेछ । कतै ससुरालीहरु मासिएछ भनेर पीर गरेका ज्वाई, भेनासँग गफिदा कान्छा ज्वाई पनि मख्ख हुन पुग्छन् ।

पारिवारिक भेटमा आसामका कुराहरु सबै पोखे । गफिदै जाँदा रातको १ बजेको हुन्छ । उस्बेला उल्लु चरा कराउथ्ये । धनेश चराहरु गीत गाउँथ्ये, रुखमा गोहोरोहरु टोके टोक भनेर कराउँथ्ये । तर हिजोआज सोयाक क्षेत्रका वनजंगलहरु सुनसान भएकोले तोयालाई अचम्म लाग्न थाल्यो । हुन त बिर्तामोडबाट उकालो लाग्दा जताततै बाटोहरु खनिएकाले उजाड जस्तो छ होला हाम्रा गाउँ भन्ने मनमा लागेको थियो तोयालाई । अझ डाँडापाखाका बोटबिरुवाहरु नदेख्दा मनमनै हरियो रुखहरु अब पहाडमा पाइदैन होला भन्ने चिन्ता छाएको थियो । घर छेवैमा भएका पानीधारा र कुवाहरु सुकेर गएकाले इलामको पहाड मरुभूमि जस्तो हुन थालेछ भन्दै कल्पना गर्दागर्दै बिहानको ३ बज्नै लाग्दा तोया निन्द्रामा मस्त हुन्छन् ।

बिहानपख पारिलो घाम लाग्छ । तोया आफन्त पहिल्याउन लाग्छन् । बाटोमा पुराना शिक्षक देवीदाससँग वनजंगलका विषयमा खुब छलफल हुन्छ । छलफलकै क्रममा तोया भन्छन्, ‘३० वर्ष अगाडि हाम्रा पहाडहरु हरियाली थियो । विदेशीहरु हाम्रा पहाड भनेपछि मरिहत्ते गर्थे आजभोलि त पहाडहरुलाई शोभा दिने वनजंगलहरु मासिएर नाङ्गै बनाएछन् सर !’

तोयाको कुरा सुनेर सरले भन्नुभयो, ‘भाई ! नयाँ मान्छे हो ?’

‘होइन, होइन म पुरानै हुँ तर केही हेर्न र ढुल्न भारतको आसामतर्फ लागेको थिएँ ।’

देविदास सरले प्रश्न गरे, ‘आसामतिर रुख बिरुवाहरुलाई कसरी हेरिन्छ ?’

‘सबैभन्दा ठूलो सजाय रुख काट्ने, बिरुवा मास्नेलाई छ । भारतीय नागरिकले त्यहाँको कानुनलाई सबैले पालना गरेको पाइन्छ सर ।’

‘खै ! भाई म सोयाकमा आएर पढाउन थालेको पनि २९, ३० वर्ष नै भइसक्यो । पहिलो पटक आउँदा सोयाक मात्र होइन सबै ठाउँ हरियाली वनपाखाहरु थिए । तर हिजोआज जिल्लाका अन्य ठाउँहरु यसरी नै उजाड हुँदै जाँदैछ । कसलाई के भन्नु ?’

तोयाले प्रश्न गरे, ‘सर पाठ्यक्रममा लेखिएको छैन भने बाटेबिरुवा, रुखका विषयमा नानीहरुलाई जानकारी दिनु । भारतको आसाम ठूलो क्षेत्र भएको ठाउँ हो । त्यहाँका नानीबाबुहरुलाई वनजंगलका विषयमा अध्ययन गराउने गरेका छन् । यहाँ पनि त्यसो गरे हुन्न ?’

‘खै ! भाई लोकतन्त्र आएको हाम्रो देशमा गाउँबस्ती गाउँले नेताहरुले सिध्याए । शहर शहरका नेताले, प्रदेश प्रदेशका नेता र संघ (राजधानी) संघमा प्रतिनिधित्व हुनेले सिध्याइसके । वनजंगल काटेर गाउँ उजाड पार्नेहरुले गाउँलाई प्रगतितर्फ लान्छन जस्तो लाग्दैन ।’

तोया सरको यो कुरा सुनेर चिन्तित हुँदै उकालो तर्फ लाग्छन् ।

जताततै पानी पधेँराहरु थियो । सबै सुकेर गएको हुनाले आउने पुस्ता स्वदेशमा कसरी गरी खालान् भन्ने चिन्ता छाएको हुँदा तोयाले गाउँलाई अध्ययन गर्दै धेरै दिनपछि हरियाली कसरी बनाउन सकिन्छ भन्ने विषयमा एक कचहरी राख्दै प्रत्येक चाडवाडमा मौसम अनुसार सर्ने विरुवा रोपौं भन्ने अभियान चलाए ।

उजाड बन्दै गएको सोयाकबासीले तोयाको अभियानलाई साथ दिन थाले । तर, वन मासेर खान पल्केकाहरु तोयाप्रति नकरात्मक दृष्टिकोण राख्न पनि पछि हटेनन् । नकरात्मक कुरा उठाउन थाले । काम विषेशले गाउँमा पुगेर साँझ फर्किदै गर्दा उनीमाथि आक्रमण हुन्छ । बुढा भएका बुबाआमा तोयामाथि गरेको दुव्र्यवहारप्रति छाती ठोकी ठोकी रुन्छन् । सोझासिधा गाउँलेहरु पनि तोयामाथि आक्रमण गर्नेहरुको खोजी गर्छन् । कुरा प्रहरी समक्ष पुग्छ तर पहुँच नभएपछि खोजी कार्य जारी छ भन्दै फर्काएका हुन्छन् । गरिब सन्तानको छोरा तोया लामो अस्पताल बसाईपछि भने जस्तो उपचार अभावले धर्ती छाड्नु बाहेक अर्को उपाय हुँदैन ।

उनले औषधीको खोलमा दुइ शब्द लेखेको भेटिन्छ, ‘गाउँ नाङ्गै हुँदा पनि खुशी हुने हाम्रो समाज……………….. ।’

हो, स्वदेशमा नै केही गरौं भन्नेहरुमाथि यसरी आक्रमण हुन्छ भन्दै देवीदास सर तोयाको समाधिमाथि भक्कानिन्छन् ।