[सुजता लिम्बू]
‘लिम्बूनी मलाई पनि ल्याइदेउ है सिलाम–साक्मा’ प्रेमका साथ आर्य समुदायका एकजना दाईले मलाई भनिरहनुहुन्छ । म फिस्स हाँस्दै तपाईको जन्मदिन कहिले ? हो । त्यो दिन लगाइदिन्छु ल ? भन्दै टार्दै आइरहन्छु । त्यसो त पछिल्लो समय कुनै कार्यक्रममा होस् या कसैलाई स्वागत, सम्मान वा बिदाई गर्ने कार्यक्रममा सिलाम–साक्मा लगाउने चलन बढ्दै गएको छ ।
यो प्रसंग जोड्नुको कारण लिम्बू समुदायसँग जोडिएको सिलाम–साक्मा पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । बाँसको दुईवटा कप्टेरोमा धागो बेरेर बनाइएको सिलाम–साक्मा लिम्बू समुदायको मुन्दुमसँग जोडिएको छ ।
विशेष धार्मिक महत्वसँग जोडिएको सिलाम–साक्माको लिम्बू भाषामा ‘सि’ को अर्थ मृत्यु, ‘लाम’ को अर्थ बाटो र साक्माको अर्थ छेक्नु हो । समर्गमा भनौ सिलाम–साक्मा भनेको मृत्युको बाटो छुक्नु रहेको मुन्दुमविद् यासेली योङहाङ बताउँछन् ।
सिलाम–साक्मामा तुनिएको प्रत्येक धागोको अर्थ रहेको बताउदै उनले प्रत्येक धागो र तलाहरुमा १८ लोकको परिकल्पना गरिएको बताउँछन् । ‘छड्के राखेर तलदेखि माथि हेर्दा त्यसको १८ वटा तला देखिन्छ । सिलाम–साक्माको हरेक तलाको आ–आफ्नो अर्थ छ ।’ उनले भने, ‘तर पछिल्लो समयमा सिलाम–साक्माको लिम्बूहरुबीच अर्थ प्रयोगको एकता देखिदैन । कसैले सात वटा धागो भन्छ, कसैले ८ वटा भन्छ कसैले ९ वटा भन्छ ।’ तर, मुन्दुम अनुसार ९ वटा धागो हुनुपर्ने उनको भनाई छ ।
मृत्युको अनेकौँ गौणाहरु, सातो (आत्मा) हरु पुग्ने विश्वासका अनेकौ गौणहरु भएकाले त्यो गौणहरुको बयान त्यहाँ जोडिएको धागोमा रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘सिलाम–साक्माको हरेक तलाको आ–आफ्नो नाम छ ।’ मुन्दुम अनुसार सृष्टिको सृजनासँगै वर्णनमा श्रृष्टि कुन–कुन तत्व अवस्थामा बन्यो तिनीहरुको परिकल्पनाबाट सिलाम–साक्मा पूर्खाहरुले निर्माण गरेको हो ।
मुन्दुमविद् योङहाङका अनुसार सिलाम–साक्मा पहिले केबल ‘धामी फेदाङमा’, साम्बाले मात्रै प्रचलनमा ल्याउने गरेको रहेछ । लिम्बू समुदायको विशेष अनुष्ठानमा विशेषगरी तङसिङ गरेर मात्रै चलाउने गरेको सिलाम–साक्मा सेतो धागोको मात्रै हुनेरहेछ । तर, पछिल्लो समय प्रचलित सिलाम–साक्मा विकसितको रुपमा रंगिन बनाएर ल्याएको उनी बताउँछन् । ‘रगिंन बनेको सिलाम–साक्मा आकर्षक देख्नको लागि हो । यो अहिले बनाइएको वास्तविक सिलाम–सक्मा इतर हो ।’ उनी भन्छन्, ‘सिलाम–साक्मा भनेको सेतो धागो मात्रै हो ।’
कति भयो प्रचलनमा आएको ?
सन् १९२४ अर्थात आजभन्दा एक सय वर्षदेखि प्रचलनमा आएको सिलाम–साक्मा लिम्बू समुदायको संस्थाको लोगोबाट प्रचलनमा आएको हो । योङहाङका अनुसार याक्थुङहाङ चुम्लुङमा दशहाङ मादेन, इमानसिंह चेम्जोङहरुले भारतमा लोगोको रुपमा सिलाम–साक्माको प्रयोग गरिएको र त्यहाँदेखि बढी प्रचलन भएर आएको हो ।
‘किरात याक्थुङ चुम्लुङ जब २०१० मा दर्ता भयो त्यति बेला आफ्नो लोगो नै सिलाम साक्मा राखेर बनायो । तेर्सो राखेर बनाएको थियो । पछि एउटा महाधिवेशनले ठाडो बनाएर राख्यो त्यति बेलादेखि प्रचलनमा आयो ।’ उनी भन्छन्, ‘यसरी सिलाम–साक्मालाई प्रचलनमा ल्याइएको छ । सिलाम–साक्माको ओर्जिनल रंग भनेको सेतो हो ।’
त्यसो त सिलाम–साक्मामा हरियो रंग पनि हुन्छ । घुग्रिङ (बाँसको एउटा प्रजातिबाट खिपेर बनाइएको) हुन्छ र यसलाई खिपेको फुक्राको रंग सेतो हो । सेतो धागो नै किन ? भन्ने प्रश्नमा उनले युमा (लिम्बूहरुको भगवान)ले कपास रोप्नु भन्ने भनाई लिम्बू मुन्दुममा उल्लेख रहेको र कपसा सेतो हुने भएकाले सेतो धागोबाट सिलाम–साक्मा बनाइएको बताए ।
लिम्बू समुदायको अनुष्ठानमा प्रयोग गर्ने सिलाम–साक्मा बाँसको दुई कप्टेरोमा काँचो धागो (जुन सेतो हुन्छ) ले बनाउने गरेको सञ्चारकर्मी सन्देश लिम्बू बताउँछन् । उनी रेडियो नेपालमा कार्यरत छन् । ‘तङसिमा गर्दा वा अन्य अनुष्ठानमा प्रेत आत्मा र जिँउदा आत्मा छुटाएर सिलाम–साक्मा बीचमा गाढ्ने चलन छ ।’ उनी भन्छन्, ‘मृत आत्मा यता नआउ भन्नलाई यसो गरिएको हो ।’
त्यसो त लिम्बू समुदायको मुन्दुमसँग जोडिएको सिलाम–साक्मा व्यवसायिकरण पनि हुन थालेको छ ।
एउटा समुदायमा केन्द्रिकृत यो सिलाम–साक्मा पछिल्लो समय सबै समुदायको रोजाइमा समेत पर्न थालेको छ । सांस्कृति र धार्मिक आस्थासँग जोडिएको यो विधि पूर्वक बनाउँदा राम्रो हुने सरोकारवालाहरु बताउँछन् ।
सावा येहाङ मुन्दुम अनुसार येत्कुदिङ साङफे अर्थात पृथ्विलोकदेखि माथि र मुनि रहेका दिव्य लोकहरुको वर्णनः
पृथ्वीलोकदेखि माथिका दिव्य लोकहरुः
१ इक्सादिङ खाम्बेकदेन = पृथ्विलोक ।
२ साम युक्नादे = आत्मालोक ।
३ ताङसाङदेन = आकाशलोक ।
४ मुधाङखारादेन = न्यायलोक ।
५ सुनाइङदङदेन = सत्यलोक ।
६ सेसेदेन = उज्वललोक ।
७ माङखोमादेन = तपलोक ।
८ साङसाङदेन = पवित्रलोक ।
९ साङग्राम पेदाङदेन = बैकुण्ठलोक ।
पृथ्विलोकदेखि मुनिका दिव्य लोकहरुः
१ इक्सादिङ खाम्बेकदेन = पथ्विलोक ।
२ मुरोप्लुङ खेरोप्लुङदेन = अतललोक ।
३ मुगुप्लुङ थेगुप्लुङदेन = सुतललोक ।
४ मुरुप्लि खेरुप्लिदेन = वितललोक ।
५ मुजिङना खियङनादेन = तलातललोक ।
६ मुसेखा सेखानादेन = रसातललोक ।
७ सुमवादो लेकवादोदेन = महातललोक ।
८ खेमादिङ यङसङदेन = पाताललोक । पाताललोकलाइ नेपालीमा नर्क कुण्डलोक ।
नोटः पृथ्विलोक बिचमा रहेकोले गर्दा दुइ पल्ट गणना हुन्छ ।