अर्जुनधारा । कठिन अवस्थामा चल्दै गएको नेपाली समाजलाई कसरी उकास्न सकिन्छ भन्ने गम्भीर चिन्तनमा रहेको नेकपा माओवादी केन्द्रले यो बेला समाजवादी अभ्यासलाई टेकेर जनताको भावनालाई सम्बोधन गर्न लागेको कुरा प्रदेश नं. १ का इन्चार्ज तथा पार्टी उपमहासचिव हरिबोल गजुरेल ‘सितल’ले बताएका छन् ।
अर्जुनधारा–११ स्थित पार्टी केन्द्रीय सदस्य हरिकुमार रानाको निवासमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि गजुरेलले पार्टी जनताको घरआँगनमा सुझाव संकलन गर्दै आएको बताउँदै अगाडि भने, ‘जनताको सुझाव नै ०८४ को लागि गतिलो मार्ग निर्देशन रहनेछ ।’
कार्यक्रममा विगतमा पूर्वलाई सम्बोधन गर्न नसक्दा पार्टीले ठूलो क्षति व्यहोरेको स्वीकार्दै अब त्यस्तो गल्ती गर्न नहुने र पूर्वलाई सम्मान गरेर पार्टी अगाडि बढ्ने बताए । विशिष्ट अतिथि पार्टी नेता अजम्बर काङवाङले अब श्रमिक, जनताको भावनामा पार्टी पुग्नुपर्ने बताए ।
अर्का अतिथि माननीय इन्द्र आङ्बो ‘मौसम’ले जनताको पीडालाई शीरमा राखेर काम गर्न सकिएन भने समाजवादतर्फ जान नसकिने बताए ।
प्रदेश अध्यक्ष हर्क नेम्बाङले नयाँ साथीहरुलाई जिम्मेवारी दिएर अगाडि बढ्ने बताए । अतिथि लोकबन्धु कन्दङ्वाले भ्रष्ट चरित्रवान मान्छेले हाकेको हाम्रापे मुलुक अगाडि बढ्न नसक्ने बताए ।
नेता हरिकुमार रानाले राज्य सत्ता सञ्चालन एक पक्षीय रुपमा हिंडेको हुँदा जनताले दुःख पाएको बताए ।
शुभकामना आदनप्रदान कार्यक्रममा प्रेस सेन्टरका नेता दिपीन राई, भीम लकान्द्री, मिघुङ योङया, जया सुब्बा, देवकुमार नेम्वाङ, मनी राई, धर्म शिवाकोटी, मोहन लगायतले पुराना पार्टीका कार्यकर्ताहरुले नयाँलाई हात मिलाएर अगाडि बढ्न सके पार्टीको भविश्य उज्वल रहने सुझाव दिए ।
पार्टी झापा जिल्ला इन्चार्ज झलकसिंह दर्लामीको सभापतित्वमा भएको सभामा राष्ट्रिय सभाका सचेतक गोपी अछामी, रञ्जीत तामाङ, सरु न्यौपाने, ज्योतिसिंह दर्लामी, मोहन टुडु, रोशन कन्दङ्वा, माननीय बन्दना झागड, तारा श्रेष्ठ, सुशिला कन्दङ्वा, मणी साम्पाङ, जीतेस योञ्जन, देवकला प्रसाई, भानु दंगाल, खगेन्द्र सुवेदी लगायतको उपस्थिति रहेको थियो ।