अर्जुनधारा । सामाजिक गतिविधिमा सक्रिय अर्जुनधारा जेसीजले विविध कार्यक्रम गर्दै जेसीज सप्ताह मनाउने भएको छ ।
अर्जुनधारा जेसीजका अध्यक्ष बसन्त बुढाथोकीको अध्यक्षतामा जेसीज सचिवालयमा सम्पन्न बैठकले यही मंसीर ४ गतेबाट सप्ताह कार्यक्रम गर्ने निर्णय गरेको हो ।
मंसीर ४ गते अर्जुनधारा–४ स्थित लक्ष्मी प्रावि परिषरमा सप्ताह कार्यक्रमको उद्घाटनसँगै कम्प्युटर तालिमको उद्घाटन, खेलकुद सामग्री वितरण कार्यक्रम र सोही विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जुत्ता सहयोग कार्यक्रम गरिने भएको अध्यक्ष बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार मंसीर ५ गते अर्जुनधारा–४ स्थित अर्जुनधारा मावि प्राङ्गणमा आँखा शिविर, ६ गते अर्जुनधारा–७ मा जेसीज मार्ग उद्घाटनको कार्यक्रम रहेको छ ।
त्यस्तै २ नम्बर वडा कार्यालयमा स्वास्थ्य शिविर र मंसीर ११ गते विभिन्न सांगीतिक कार्यक्रमसँगै सप्ताह समापन गरिने सचिव गौरव भण्डारीले बताए ।
सप्ताहलाई उत्कृष्ट बनाउनका कार्यकारी उपाध्यक्ष भवानी बरालको मूल संयोजकत्वमा रमेश विष्ट, टंक दाहाल, भिम बराल, बिमला भट्टराई, अर्जुन बस्नेत, सागर घिमिरे र अमित कटुवाल रहने गरी उपसमिति गठन गरिएको अध्यक्ष बुढाथोकीले बताए ।