कनकाई । मंसिर १६ गते हुन गइरहेको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट झापाको कनकाई–६ मा उम्मेदवार बनेका गणेशबहादुर थापालाई समाजवादी मोर्चाले साथ दिने भएको छ ।
मनोनयन दर्ता पश्चात आयोजित एक कार्यक्रमका बिच समाजवादी मोर्चाले थापालाई साथ दिने घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी झापा इञ्चार्ज सञ्जय सीले नेपाली भूगोल सुहाउँदो समाजवादका लागि थापाको उम्मेदवारी भएकाले नेकपाले उनको विजयको लागि सहयोग गर्ने बताउँदै अग्रिम शुभकामना दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका प्रदेश सल्लाहकार सदस्य भरत श्रेष्ठले जसपा पहिचान पक्षधर भएको र माओवादी केन्द्रसँग एजेण्डा मिलेकाले माओवादी केन्द्रका उम्मेदवार थापालाई समर्थन गर्दै जिताउनका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै नेकपा समाजवादीका केन्द्रिय सल्लाहकार सदस्य नारायणसिंह राजवंशीले युवा, कर्मठ र जनपक्षीय उम्मेदवार थापा नै भएकाले पार्टीको पूर्ण साथ समर्थन रहेको बताउँदै जिताउनका लागि आफूहरुको सहयोग रहने प्रतिबद्धतासहित विजयको अग्रिम शुभकामना दिए ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हरिकुमार रानाले नेकपा माओवादी केन्द्रनै मुलुक अग्रगमनको एक मात्र पार्टी भएकाले पार्टीको तर्फबाट उम्मेदवार बनेका थापालाई जिताउन सम्पूर्ण वडाबासीलाई आग्रह गरे ।
वडाध्यक्ष पदका उम्मेदवार गणेशबहादुर थापाले अन्य दलका उम्मेदवार जस्तो आयातित नभई आफू कनकाई–६ कै माटोमा हुर्किएर जनताको समस्यासँग जुधिरहेको र उनीहरुको पीडासँग जानकार रहेको बताए ।
उनले विगतदेखि नै पीडित, शोषित जनता, मजदुर, महिला, आदिवासी जनजातिको पक्षमा काम गर्दै आएको र वडाध्यक्षमा विजयी भए उनीहरुकै हितमा काम गर्ने प्रतिबद्धता जनाए । उनले यदि आफु वडाध्यक्षमा विजयी भए मजदुर हितकोष स्थापना गर्नेसमेत प्रतिबद्धता जनाएकाछन् ।
कार्यक्रमका अध्यक्ष नेकपा माओवादी केन्द्र कनकाई–६ का वडाध्यक्ष रेवत रेग्मीले वडाध्यक्ष पदका उम्मेदवार थापा लोकप्रिय, जनपक्षीय, लगनशिल भएकाले विजयी गराउन वडाबासीलाई आग्रह गरे ।