अर्जुनधारा । अर्जुनधारा जेसीजले विविध कार्यक्रमको आयोजना गर्दै मंगलबारबाट जेसीज सप्ताह २०२४ सुरु गरेको छ ।
अर्जुनधारा–४ दहिझोडा स्थित लक्ष्मी प्राविको प्राङ्गणमा खेलकुदका सामग्री वितरण, विद्यार्थीका लागि जुत्ता सहयोग कार्यक्रम र निःशुल्क आधारभूत कम्प्युटर तालिमको उद्घाटन गर्दै अर्जुनधारा जेसीजले सप्ताह सुरु गरेको हो ।
साप्ताह कार्यक्रम अन्तर्गत अर्जुनधारा जेसीजले लक्ष्मी प्राविमा अध्ययनरत विद्यार्थीहरुलाई ३२ जोर जुत्ता हस्तान्तरण गरेको थियो ।
सोही दिन रातेखाल फुटबल क्लब, दहिझोडा फुटबल क्लब, रातेखाल क्रिकेट क्लबका खेलाडीहरुलाई खेलकुदका सामग्री हस्तान्तरण गरिएको जेसीज अध्यक्ष बसन्त बुढाथोकीले बताए ।
उनका अनुसार खेलकुद सामग्रीहरुमा फुटबल, किपर ग्लोब्स, कोर्न, मार्कर, क्रिकेट बल, ग्लोब्स, भलिबल, नेट वितरण गरिएको हो ।
यस्तै जेसीजकै आयोजनामा सञ्चालन हुने निःशुल्क आधारभूत कम्प्युटर तालिममा २० जनाको सहभागिता रहने जनाइएको छ ।
जेसीज अध्यक्ष बुढाथोकीको अध्यक्षतामा भएको सप्ताह कार्यक्रममा प्रमुख अतिथि वडा नं. ४ का वडाध्यक्ष डम्बरबहादुर कटुवालले गरेका थिए ।
कार्यक्रममा नेपाल जेसीजका पूर्व उपाध्यक्ष विशाल थापा, विद्यालयका प्रअ देवीनाथ विष्ट लगायतले बोलेका थिए ।
सचिव गौरव भण्डारीले सञ्चालन गरेको कार्यक्रममा सप्ताह कार्यक्रमका मूल संयोजक तथा कार्यकारी उपाध्यक्ष भवानी बरालले स्वागत गरेका थिए ।