[सन्तोष नेम्वाङ]
जीवन समयसँगै निरन्तर बगिरहने एक नियमित प्रक्रिया हो । कसैले चाहेर होस् या नचाहेर पनि यो पक्रियाबाट पृथक रहन सक्दैन । तर, समयको बगाई र यथार्थमा बगिरहेको त्यवहारिक नदीको बहावमा धेरै अन्तर हुन्छ । कोही राजनीतिको नदीमा हामफालेर त्यसैमा डुब्दै बग्न चाहन्छन् । कोही आफ्नो पसिना र पाखुरीको बलमा नाम र दाम कमाउन चाहन्छन् । एवम् प्रकारको धेरै नदीहरु हुन्छ । मानिसको चाहना अनुसार आफ्नो बेग रोज्दै जीवन सागरमा रमाउन चाहन्छन् ।
यस्तै प्रकारले देश अनि प्रत्येक निकायलाई चलायमान गर्ने एउटा सागर राजनीति पनि हो । यसलाई सागरको संज्ञा दिने शब्द सानो हुन्छ । यसलाई महासागरभन्दा केही अन्यथा हुँदैन । संसारको प्रत्येक देशलाई अपरीहार्य चाहिने राजनीतिका हाँगाहरु समाएर टोल–टोल र जिल्ला अनि केन्द्रमा हरेक पार्टीका संगठन चलाएर बस्ने प्रत्येक राजनीतिक कार्यकर्ताहरु आफ्नो पार्टीका कर्मठ कार्यकर्ता भएर अठोटका साथ राजनीति गरिरहेका हुन्छन् । सानो तहका कार्यकर्तादेखि माथिल्लो तहका कार्यकर्ताहरुसम्म आफ्नै प्रकारको स्वार्थमा लिनरही प्रत्येक चुनावमा आफ्नो पक्षमा मत पेटिका भर्ने ध्याउन्नमा रहेका हुन्छन् । चाहे आफू जमिनमा सुकुल ओछ्याएर किन नसुतोस् तर जनतालाई मखमलको बिछ्यौनामा सुताउने सपना देखाउँछन् । आफू पेटमा पटुका कसेर भोकै सुत्न परे पनि जनतालाई चौरासी व्यञ्जनको आश देखाएर ‘खाना खान मात्रै हो भने उत्तानो पारेर सुते हुन्छ, तर मलाई भोट देउ’ भन्दै हुँक्कार गरिरहेका हुन्छन् । हुन त सपना देखाउन नराम्रो होइन । देशको अवस्था देखेर निराश भएका जनताका सामु मीठा–मीठा र ठूलठूला सपनाले आत्मविश्वास जगाउँछ । मनमा आशाको किरणहरु भुल्किन्छ । यदि जनतामा यस्तै प्रकारको आशा जागे पार्टीका कार्यकर्ताहरुमा पनि उत्साह जाग्छ, हौसला जाग्छ । यस्तो हौसलाले प्रत्येक चुनावमा हरेक जनताको आँगनमा बिना हिचकिचाहट जान सक्छन् । आफूभन्दा माथिका नेताहरुलाई यस्तै हौसलाका साथ आफ्नो रणकौशलता देखाउन पाए भोलि आफ्नो प्रतिष्ठा उच्च हुने आशा पलाउँछ । यदि आफूभन्दा माथिका नेताले ‘तथास्तु’ भनिदिए आउने दिनहरुमा मान, प्रतिष्ठा, इज्जत र पैसा सबै प्राप्त हुने भइहाल्यो । एवम् प्रकारले जीवनमा सानो प्रयासले भोलि उकालो चढ्ने सिंडीहरु आफू अगाडि नै तेर्सिए अब्बल कार्यकर्ता हुनेको सार्थकता हुने थियो ।
युवा जोशहरु प्रयोग बिहिन यत्रतत्र छरिएर रहेका हुन्छन् । बेरोजगारीको गर्मीमा पिल्सिएर झिनो शितलताको आशले भौतारिरहेका युवा शक्तिहरु सानो राजनीतिको हावाको बेगमा पनि कुनै पार्टीमा समाहित हुन्छन् । त्यसलाई तिखार्न सक्नु प¥यो । अन्ततः एक कर्मठ कार्यकर्ता भएर उदाउन सक्छन् । निस्वार्थ भावनाले एउटा अमुक पार्टीका होनहार सिपाही भएर उदाउने छन् । यसरी घरको भात खाएर एउटा पार्टीको सिपाही मात्र भएर कति दिन चल्न सक्छ र ? समयसँगै उनीहरुमा पनि निस्वार्थको ‘नि’ गौण भएर ‘स्वार्थ’को बीऊ नउम्रेला भन्न सकिन्न ।
हुन पनि उपल्लो तहका शीर्ष नेताहरुको अवस्था देखेर कार्यकर्तामा स्वार्थको राँको सल्कनु ठूलो कुरा भएन । आफूले दिनरात नभनी मिहेनत गरेर आफू सानै तहका भए पनि साम, दाम, दण्ड, भेद प्रयोग गरेर आफ्नो पक्षमा मतपेटिका भ¥यो अनि आफ्नै आँगनका शीर्ष नेतालाई गाडी चढाएर संसद भवन पु¥यायो । केही समय पश्चात सीमित तलब सुविधा वापत पाएको रकमले आलिशान महल ठडिदा तल्लो तहको कार्यकर्तामा त्यो ‘नि’ शब्द त्यसै बिलाएर जाने नै भयो । आफूले गरेको मिहेनतको प्रतिफल ‘धन्यवाद’ पाउनु मात्र उद्देश्य थिएन । यतिका मिहेनतको प्रतिफल आफू पनि कुनै दिन सिंहदरबारको सिंडी टेक्न पाउनु पनि हो । त्यहाँसम्मको अर्जुन दृष्टि नभए पनि पार्टीको एक विशिष्ट पदको अपेक्षा राख्नु कुनै गल्ती हुँदैन भन्नु मेरो ठम्याई हो ।
तर, यति लेख्दै गर्दा प्रत्येक कार्यकर्ताहरुको अपेक्षा यो होइन । आज पनि धेरै जसो कार्यकर्ताहरु शीर्ष नेताहरुको खराब चरित्रमाथि औंला उठाउन तत्पर छन् । उनीहरुमा न स्वार्थ छ, न केही अपेक्षा छ । उनीहरु त केवल मेरो पार्टी सबल र स्वच्छ बनोस् र देशको उन्नति गरोस् भन्दै हरपल देश र पार्टीको सेवक भएर रहन तत्पर छन् । तर, आजको दिनसम्मको राजनीतिको परम्परा देख्दा पार्टीमा इमान्दारीताको ह्रास आउनुको मुख्य कारक शीर्ष नेता नै जिम्मेवार हुन जस्तो लाग्छ ।
राजनीति मेरो नजरमा चेस खेल जस्तो लाग्छ । जो एउटै बाकसबाट गोटी निस्कन्छन् अनि कालो–सेतो कोठाको रणभूमि सजाइन्छ र केही बेरअघिसम्म एउटै बाकसमा रहेको गोटीहरु आफ्नो–आफ्नो पक्षमा बिसात बिछ्याइदिन्छ । एक अर्कालाई लडाउँदै मन्त्रीलाई बचाउने खेलमा सिपाही हात्ती, घोडा, उँटलाई शहीद बनाउँदै चेस खेल हार–जीतमा टुङ्गीन्छ । अन्त्यमा त्यही गोटीहरु उठाएर एउटै बाकसमा हालेर थन्क्याइन्छ । वास्तवमा यही हो नेपालको शुद्ध राजनीति ।