अरु जिल्लामा के कस्तो छ यकिन छैन तर, झापा जिल्लाको दक्षिणी क्षेत्र अर्थात् आदिवासी जनजाति र दलित बस्तीमा प्राय रोगीहरुको संख्या डर लाग्दो हुँदै आएको देखिन्छ । हुन त रोगले जात, धर्म भन्दैन तर, प्राय जसो आदिवासी क्षेत्रमा ढाकेको देखिन्छ । सरकारसँग पहुँच नभएको हो या भन्न नसकेर हो ५० पार गरेका प्राय आदिवासी महिलाहरु र ५५ पार गरेका पुरुषहरु रोगले थलिएर बसेको देख्न सकिन्छ । सत्ता पक्षले सबैका लागि समान व्यवहार गरे पनि अशिक्षा र पहुँचको अभावले आफ्ना पीडा पोख्न सक्दैनन् । भन्न र गर्न नसक्दा ती जातिहरुमा दम, हात्तीपाइले, आङखस्ने रोगबाट ग्रसित हुने गरेको देखिन्छ ।
हालैमात्र एक संस्थाले उपेक्षित तथा उष्ण प्रदेशीय रोग, मातृ तथा नवजात शिशु स्वास्थ्य सुधारमा सञ्चार क्षेत्रको भूमिका विषय अनुगमन गर्दा अधिकांश आदिवासी बस्तीहरुमा उष्ण प्रदेशीय रोग उच्च देखा परेको पाइन्छ । उक्त रोगबाट बालबालिका पनि शिकार हुन पुगेका छन् । नवजात शिशु नै यसरी बाल्यकालमा नै रोगी भएपछि उसले भविश्यमा के कस्तो गरी बाँच्छ ? कस्तो शिक्षा हाँसिल गर्छ ? प्रश्न छ ।
विशेष गरी आदिवासी क्षेत्रलाई निर्धारण गरी राज्य पक्षबाटै उनीहरुको स्वास्थ्य, शिक्षा र सभ्य समाजका लागि विशेष पहल गर्न सके ती जातिहरु रोग पालेर बस्दैन थिए । मतदान सबैको अधिकार भएको कारण आदिवासीका मत चाहने र प्राप्त गरेर विजय भएको जो कोही व्यक्तिले त्यस्ता मानिसहरुलाई पहिचान गरी सेवा गरेको खण्डमा साँच्चै स्थानीय क्षेत्रमा सिंहदरबार आएको महशुस हुनसक्छ ।
त्यसैले वडा सरकार पहिलो सुविधा दिने, न्याय, अन्याय छुट्याउने, पीडामा रहेकाहरुलाई मनोबल प्रदान गर्नेदेखि थुप्रै बाटो देखाउने सरकार हो । वडाले आफ्नो क्षेत्रलाई पहिचान गर्दै अगाडि बढेको खण्डमा जनताले सुविधा पाउने थिए । तर कुनै वडाका सरकारहरु अतिवादी कुण्ठामा फसेका कारण आफ्नो वडाका जनताप्रति उत्तरदायी नभएको देखिन्छ र रोग व्यादले जनता शिकार हुन्छन् ।