[पुण्य खरेल]
“ए मिनिसा ! अलिक छिटो गर् न ! अलिक छिटो जाउँ ! भरे फेरि राधाकृष्णको बिहे भैसकेको हुन्छ !” आमाले हतार लाइन् छोरी मिनिसालाई ।
“अबदेखि म कहिल्यै जान्न त्यस्ता पुरान सुरानमा ! तपाईं पनि छोडिदिनुहोस् ती गतिछाडाका पुरान् ! तपाईंलाई अप्ठेरो लागेन अलिकति पनि ? थपडी मारेको त देखिन त तपाईंले पनि हिजो !” छोरीले जर्खरिएको स्वरमा जवाफ लगाई आमालाई ।
“किन ? के भो’र हिजो ?” आमालाई अलिअलि मनमा शंकाको लेघ्रो त पस्यो, तैपनि कुरा छिचोल्न चाहिन् ।
“अझै पो के भो र ! हिजो, त्यो के अरे ? त्यो शंकरे ? त्यही अपराधीलाई होइन राम्रै माला लगाइदिएर जय जय गरेका ?”
शंकरेको नाम मिनिसाले उच्चारण गर्ने बित्तिकै खङ्ग्रङ्ङ भइन् आमा, लाजवन्ती झारलाई हल्लाइदिए जस्तै भइन् । एक्कासि उनको अनुहारमा बादल छायो । आमाका मनमा त्यो दिनको दृश्य एकदम त्रासद भएर मनमा गुडुल्कियो ।
मान्छेको मन कस्तो रासायनिक वस्तुले बनेको हुन्छ ? कहिलेकाहीं एउटा शब्द सुन्दैखेरि मन पुरै बिथोलिन्छ, झिमिकमा एउटा विशाल उपन्यासमय घटना सिंहावलोकन गर्न पुग्छ मन !
बार–तेर वर्ष भयो होला, मिनिसाका बुबा खसेको अर्को वर्षको कुरा होला, मिनिसा र उसको दाजु कृष्ण खाना खाइसकेर पल्लो कोठामा पढ्दा पढ्दै किताबै माथि निदाएका थिए । उनी पनि खाना खाएर धन्दापात सकेर आई यस्सो बिछ्यौनामा पल्टेकी थिइन् । रक्सीले मातेको शंकरे एक्कासि उनीमाथि पो गाईमाथि चढेको साँढेको पारामा ! उनले त केही भेउ नै पाइनन् एक झिमिक् त ! त्यो अपराधी पशु त उनलाई अँठ्याएको अँठ्यायै गर्न खोज्छ । मुखबाट “गुहार ! गुहार !!” आवाज गर्दै त्यस राक्षससँग प्रतिवाद गर्न जोरबल गरिन् । उनीमाथि पहलमानले अर्को पहलमानलाई थिचे झैं गरी गरुङ्गो शरीरले थिचेर फुत्किन दिएको थिएन त्यस अपराधीले । त्यसै बेला चुलाको छेउबाट चुलेंसी बोकेर आएको कृष्णले उसका टाउकैमा हानेको थियो । टाउकाबाट रगत चुहाउँदै भागेको थियो त्यो शंकरे । उनी अब शंकरेले केको झमेलामा हाल्छ होला भनेर एक मन त डराएकी पनि थिइन् । उनी पनि बलियै थिइन् र उनको अस्मिता जोगाउन सकेकी थिइन् । ‘छोराले त्यति चुलेंसीसँग प्रहार नगर्दो हो ! छोराछोरी त्यहाँ नहुँदा हुन् ! या ढोका थुनेर एकलो पार्दो हो त !’ यो कल्पना मात्रैले पनि उनी डगडग कामेकी थिइन् त्यो बेला ।
यो घटनालाई छोराछोरीलाई पनि चुपचाप पार्न लगाएर उनले छोपछाप पारिन् । हाम्रै समाज न हो, उनको अस्मिता बचेको कुरामा के विश्वास गथ्र्यो !
त्यस घटनाको महिना दिन भएकै थिएन, शंकरे र एउटी युवतीलाई दमकको होटेलबाटै आपत्तीजनक अवस्थामा प्रहरीले गिरफ्तार गरेको कुरा समाचार पत्रमा छापिएको थियो नक्सासहित । अर्थात् शंकरे जुवातासमा, रक्सीमा र वेश्यावृत्तिमा लिप्त भएको थियो । उता उसका बाबुले जोगाएर राखेको जमिन भने अहिले धुरकै लाखौंलाख भएको थियो ।
शंकरेलाई सारा मान्छेले थुथु गरेका थिए त्यो बेला । “घरमा त्यस्ती राम्री श्रीमती छे, त्यस्ता राम्रा छोराछोरी छन् ! सम्पत्तिले मात्तिएपछि त्यस्सै अहमत्याइँ, त्यस्सै फट्याइँ आउँदो रहेछ” भनेथे मान्छेले ।
उनी यस्तै पुरानो कुरा सम्झिँदै थिइन्, मिनिसाले फेरि भनी– “त्यो शंकरेलाई मालाले छोप्ने ? पण्डित पनि त्यसैको गुण गाउने ? पुरानको कृष्ण भनेको पनि त्यस्तै शंकरेहरूकै नाइके त होइन ? राधा भनेका चाहिँ तपाईं हामी जस्ता सुधा केटीमान्छेहरू ? यस्तै ‘जहाँ फुल फुल्छ त्यहीं चरी नाच्छ’ गर्दै हिड्ने कृष्णहरूको पुरान सुन्न जाने हो भने तपाईं जानू ! मैले हिजोदेखि कान समाएँ ! म अब कुनै पुरान सुन्न जान्न ! मैले भन्दिएकी छु, मेरा त हिजोबाट आँखा खुले आमा !”
आमा अक्क–न–बक्क भइन् । उनका मनमा झस्को नपसेको होइन पैलापैला पनि । जस्ले धेरै पैसा दिन्छ, पण्डित पनि पुरान भन्न छाडेर त्यसको बखान गर्न लाग्छन्, माला लगाइ दिन्छन्, सबैलाई थपडी बजाइदिनू भन्छन्, प्रमाण पत्र दिन्छन्, माथि आसनमा राख्छन् ! कति भलाद्मी मान्छेहरू, समाजका राम्राराम्रा मान्छेहरू त शिर झुकाएर तल बसेका छन् । यस्तो दृश्य आँखा अगाडि देख्थिन्, तैपनि उनको हृदयको आँखा चाहिँ खुलेको थिएन । अलिअलि मनमा तीतो तीतो लागे पनि सप्पै “पुरान ! पुरान !! पुरान !!!” भनेका छन्, कुदेका छन्, त्यहाँ यस्सो भजन बजे झैं हुने बित्तिकै उठेर नाचेका छन् ! यस्तो भएपछि उनी पनि त्यतै लतारिएकी हुन् । तर आज छोरीका झरिला कुराले भने उनको मनलाई बिथोल्नसम्म बिथोल्यो ।
आमा–छोरीका कुरा हुँदैथे । पसलबाट खाना खान कृष्ण पनि आइपुग्यो । कृष्ण आइपुग्नु के थियो, मिनिसाले पोल लाउन सुरु गरीहाली– “हेर्नू दाजु ! हिजो त्यो पुरानमा त्यो शंकरे छैन ? पोरपरार तपाईंले त्यसलाई चुलेंसीले हान्नु भएको थिएन ? हो ! त्यसलाई त पण्डितले माला लगाइ दिए ! ती छैनन् ती नेता हौ ? के अरे तिनको नाम ? हरिभक्त ! हो ती हरिभक्तले माइकबाट के भने थाहा छ ? “दानवीर, मान्यवर व्यक्ति, हाम्रो यस गाउँकै आदरणीय शंकरजङले यस पुराणका लागि रु. एक लाख सहयोग गरे ! एक पल्ट सबैले थपडी बजाएर सम्मान गरिदिनू होला !” अझै “आदरणीय शंकरजङज्यू ! मञ्चमा आई अतिथिको आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु र उहाँलाई मालाद्वारा सम्मान गरिदिनका लागि हाम्रा यस पुराणका पुराणवाचक गुरु श्री १०८ महाराज स्वामी गजानन्द महाराजलाई सादर अनुरोध गर्दछु” । यसो पो भने । ती हरिभक्ते पनि त्यस्तैका नेता रहेछन् है दाजु ! यो पुरान पनि यस्तै पातकी, भ्रष्टाचारीहरूलाई चोख्याउने, इमान्दार र स्वाभिमानलाई इख्याउने र’छ ! अनि आज भन्देको मैले– “आइन्दा यस्ता पुरानमा म बर्चोट जान्न !”
“मिनिसा !” कृष्णले भन्न थाले– “अहिले त कि घडेरी दलाली गरेर, कि म्यानपावरबाट मान्छे बेचेर, कि यस्तै नेतागिरी गरेर, कि केमा घपला गरेर कमाउने हो । त्यो पनि एक–दुई वर्षमा अलवल्य कमाउने हो । छक्कापञ्जा, राष्ट्रिय सम्पत्ति हिनामिना, भ्रष्टाचारी जे गरेर हुन्छ, क्यै भएन भने आफ्नै निर्धा मान्छेलाई बासउठ्ठा पारेर भए पनि कमाउने हो । सम्पत्ति कमाएपछि इज्जत त भैहाल्छ । जोसँग पैसा छ उही इमान्दार ! जोसँग पैसा छैन ऊ त क्यै–न–क्यै ! अब ज्ञानका कुरा, परोपकारका कुरा, इमान्दारीका कुरा, सामाजिक सेवा भावका कुराले त हावा खायो । जँड्याहाहरू, बारमासे जुवाडेहरू, अर्काका छोरीचेली बिगार्नेहरू अहिले त यस्सो यस्ता पुराणमा यति हजार र यति लाख रुपियाँ दियो अनि भलाद्मी पल्टियो गर्ने भएका छन्, दानवीर भएका छन् । अहिले पुरान भनेको के हो ? दुई–चार त्यस्तै त्यस्ता मान्छे मिल्यो, पुरान लाउने कुरा ग¥यो, पण्डित पनि तयार छ, अनि उसका यस्सो भजन गाउने भजन मण्डली पनि तयार छन्, तिनलाई बोलायो । मन्दिर बनाउन भन्यो, स्कुल बनाउन भन्यो, हेल्थपोष्ट बनाउन भन्यो दर्जन थाप्यो ! अनि गाउँमा यस्तै मान्छे खोज्न हिड्यो कसकसलाई पैसा दिएर इज्जत किन्नु छ ? अनि बोलाएर “लु थपडी बजाएर सम्मान गरिदिनुस् ! उहाँ फलानाले यति हजार–लाख दान गर्नुभयो ! भनेर हल्ला गरि दियो । यस्तो पनि हुन्छ पुरान ?”
कृष्णलाई त के सारो मन दुखेको रहेछ ! उ त बोल्दाबोल्दै एकोहोरिए जस्तो पो छ– “मलाई त कस्तो लाग्छ भने मिनिसा ! अहिलेसम्म हाम्रो बुबा बाँचिरहनु भएको थियो भने कि त बौलाउनु हुन्थ्यो, कि त आत्महत्या गर्नुहुन्थ्यो । छि छि !! शंकरेलाई माला लाइदिने ? माइकबाट उसको गुनगान गाउने ? आमा !” कृष्णले आवेशमा आमालाई सोध्यो– “आमा ! त्यो हरिभक्तेले थपडी बजाउनोस् भन्दा तपाईंले पनि बजाउनु भयो ?”
“म एउटीले बजाउनु न नबजाउनु नि !” आमा बोलिन् ।
“तपाईंलाई उठेर गएर त्यसलाई चिथोरुँ जस्तो लागेन ? तपाईंलाई त्यो पण्डित भनाउँदालाई, त्यो हरिभक्ते नेता भनाउँदालाई मुखैमा थु थु थुकिदिनु जस्तो लागेन ? छ्या ! छ्या !! पैसाका लागि पुरानको हविगत ! पैसाका आसक्तहरूको त्यो पुरान ! भयो है अब उप्रान्त त्यस्ता पुरानसुरान पर्दैन !” कृष्ण जङ्गियो ।
आमाको मन त कुहिराको काग भयो । त्यस्सै मनमा कुराका पिङ खेलिन थाले । ‘सबै एकुहार लागेर गएका ठाउँमा जानु कि नजानू ? के हो पुरान ? किन लाउने हो पुरान ? आजसम्म केही बुझेको पनि होइन । कति दिनभर दिनभर सुन्दा पनि केही ज्ञानको कुरा प्राप्त भएको पनि होइन । त्यस्सै त्यस्सै ‘कान पवित्र हुन्छन्’ भनेको छ अनि सुनेको छ । के हो कान पवित्र भनेको ? त्यहाँ त राजा रजौटाको कुरा छ, त्यहाँ त राजाले धेरैवटी रानी बिहे गरेको कुरा छ, रानीहरूका छिनेका कम्मरको, पिपलपाते ओठको, धनु जस्ता आँखीभौंको कुरा छ, राजाले राजकुमारीहरूलाई हरण गरेको, जबर्जस्ती स्वास्नी पारेको कुरा छ, जातपातको कुरा छ, ब्राह्मणको कुरा छ, शूद्रको कुरा छ । शूद्रले ब्राह्मणको सेवा गर्नु पर्छ भन्ने कुरा छ । पतिपत्नीको कुरा भैकन पनि त्यहाँ पतिपत्नी वरावर भन्ने कुरा त छैन । बरु पत्नीले पतिलाई खुसी राख्नु पर्छ, पतिको सेवा गर्नु पर्छ, पतिका पाउ मालिस गर्नु पर्छ, प्रणाम गर्नु पर्छ भन्ने नै कुरा छ । पतिको राम्रो सेवा गरेमा अर्कोजन्ममा राम्रो पति पाइने कुरा छ, अघिल्लो जन्ममा राम्रो गर्नेहरू ब्राह्मण भएर, पति भएर, राजा भएर जन्मेको कुरा छ । राम्रो काम भनेको राजालाई खुसी पार्ने, धनीलाई खुसी पार्ने, ब्राह्मणलाई खुसी पार्ने, पतिलाई खुसी पार्ने कुरा देखाइएको छ । तर राजाले जनता खुसी पार्ने कुरा त छैन, पतिले पत्नीलाई खुसी पार्ने कुरा त छैन, ब्राह्मणले शूद्रलाई खुसी पार्ने कुरा त छैन । सबै मान्छे समान हुन् भन्ने त कतै छैन ! त्यसकारण यो पुरानले के सिकाउँछ ? आमाका मनमा अनेक कुराहरू खेलेको खेल्यै गरे । छोरीले ‘अब उप्रान्त बर्चोट पुरान नसुन्ने’ भन्दा क्यै बिग्रिएला कि नबिग्रिएला ? अहँ उनका मनले क्यै निक्र्योल गरेन ।
पहिला पहिला उनका माइतीगाउँकाले पनि पुरान लाएको कुरा उनले सुनेकी हुन् । आमाका मुखबाट मावलका ती मुखियाले अनेकथरी उपद्रो गरेको, गाउँका विधवा तरुनी बरुनीलाई डाँडा कटाएको, गरिब गुर्बाका छोरीचेलीलाई समाएको पनि सुनेकी हुन्, “यो मुखियाले पुरान लाएर त्यै पाप काटेको नि !” भनेको आमाकै मुखबाट सुनेकै हुन् । यस्तै रहेछ यो पुरान ! ठिकै भनेकी हो मिनिसाले । अबदेखि मलाई पनि चाहिएन यो पुरानसुरान !