अर्जुनधारा । भ्रष्ट गतिविधिले नेपाली जनता आक्रान्त बनिरहेको बेला नेकपा माओवादी अर्जुनधाराले दलमा आवद्ध कार्यकर्तालाई रचनात्मक कामसँगै भ्रष्ट चरित्रहरुको भण्डाफोर गर्नुपर्ने दिन आएको बताएका छन् ।
पार्टी नगर कमिटीको महत्वपूर्ण बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सदस्य हरिकुमार रानाले केन्द्रदेखि वडासम्म भ्रष्ट चरित्रहरुको जालो फैलिदै गएको छ । त्यसको अन्त्यको लागि पार्टी कार्यकर्ता तथा नेपाली जनता सचेत हुने दिन आएको बताएका छन् ।
कतिपय स्थानीय तहलाई ठूला दलले खुलेर काम गर्न नदिइरहेको अवस्थामा जनताको इच्छा भावनामा काम गर्ने प्रतिनिधिहरुलाई सम्मान गर्दै भ्रष्ट तथा नातावाद भएका ठाउँमा खबरदारी आवश्यक रहेको बताए ।
पार्टी नगर अध्यक्ष नरबहादुर तामाङ ‘दुखी’ को अध्यक्षतामा भएको बैठकले बाँकी रहेको वडामा पुष १५ देखि २५ सम्म वडा सम्मेलन सकेर नगर सम्मेलनको तयारीमा जुट्ने निर्णय गरेको छ ।
बैठकमा जिल्ला संयोजक राजु आचार्य ‘अग्नी’, सहइन्चार्ज रोशन कन्दङ्वा, युवा नेता खड्क तिम्सिना, जितेश योञ्जन लगायत अन्य नेताहरुको समेत उपस्थिति रहेको थियो ।