भ्रष्टाचारको खोजी कार्य गरौं « Yalambar Times
१८ पुष २०८१, बिहीबार

भ्रष्टाचारको खोजी कार्य गरौं


यलम्वर टाइम्स
१४ पुष २०८१, आईतवार ०७:४३

सामान्यतया भ्रष्टाचार भन्ने बितिकै जनताहरु नेतातिर फर्कने गरेको पाइन्छ । किनभने भ्रष्टाचार बढ्नु र संरक्षण गर्ने कार्य नेताहरुले नै गरेपछि जनताले सम्झनु स्वभाविक नै हो । हाम्रो सामु विकासको नाममा गरिने भ्रष्टाचार अत्यन्तै धेरै देखिएको कारण सामान्य काममा पनि भ्रष्टाचार भयो कि भन्ने आशंका हुनु स्वभाविक हो । अर्जुनधारा नगरका एक वडाध्यक्षले विकासको नाममा कार्यकर्ता पाल्ने नीति विगतदेखि भएको कारण यसको अन्त्य नभइकन भ्रष्टाचार न्यूनिकरण नहोला भन्ने तर्क राखेका थिए ।

भ्रष्टाचारको अन्त्य कसरी हुन्छ ? भन्ने चर्चा चलिरहेको बेला युवा पुस्ताले छुट्टै विचार दिन थालेका छन् । विकासको काम र बजेट बाँडफाँडको पारदर्शीता, समूहमा छलफल र स्टीमेट जनतामा देखाउन जरुरी छ । जुन ठाउँमा विकासको काम हुने गर्छ त्यस ठाउँका निष्पक्ष मानिसलाई उभ्याएर गरिने कामको विवरण उल्लेख गर्नुपर्छ र जनसहभागिताको सन्देश दिन पनि सक्नुपर्छ । त्यसो नहुँदा कम गुणस्तर, काम छिटो तरिकाले गरिदा त्यहाँ भ्रष्टाचारको संकेत देखापर्छ र चर्चा परिचर्चा चल्न थाल्छ । विशेषत वडास्तरमा आफ्ना कार्यकर्तालाई पेटी ठेक्का दिने चलन छ । ती ठेक्केदार कार्यकर्ताले गरेको कामको मापन नभइ हरहिसाब मिलाउने र फरफारामा वडाबाट टेलिफोन गर्ने परिपाटीले पनि भ्रष्टाचारको संकेत देखिन जान्छ ।

पालिकाको लेखा प्रमुखको गुनासो छुट्टैछ । दबाबले लेखा मिलाउनु पर्ने र अभाव भएका ठाउँको सम्मान गर्न नसकिने स्थितिले विकासमा पछि परेका धेरै ठाउँ अझै ओझेलमा नै छन् । त्यसैले अब गरिने विकासका कामहरु निर्वाचित जनप्रतिनिधिहरुले गोजीबाट दिएको जस्तो नभइ सूचना सम्प्रेषण तथा वडाको फेसबुक पेजबाट पारदर्शीता देखाउन जरुरी छ । आइपरेका समस्याहरुमा छलफल गर्न जरुरी छ । व्यक्तिलाई नजिक बनाउने कि, जनतालाई । समाज मिलाउने कि, आफ्नो बनाउने भन्ने बहानामा दौडिने ? प्रश्न बलशाली भएर आएको छ । त्यसैले पारदर्शीताको नीति नै भ्रष्टाचार न्यूनिकरणको बाटो हो । त्यसतर्फ सबै जुटौं ।